अवैध उत्खनन् गर्ने तीन एक्स्काभेटर नियन्त्रणमा

कञ्‍चनपुर — महाकालीलगायतका नदीबाट अवैध रुपमा बालुवा, गिट्टी र ढुंगा उत्खनन् गरिरहेका एक्स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार र मंगलबार अनुगमनका क्रममा महाकालीको भुजेला, ओदाली र झोलुंगे क्षेत्रमा प्रयोग भइरहेका ३ वटा एक्स्काभेटर नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तह र व्यवसायीलाई बुझाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । जसमध्ये एक एक्स्काभेटर भीमदत्त नगरपालिकाको रहेको उनले जानकारी दिए ।

मरासिनीका अनुसार वेदकोट नगरपालिकाको बगुन क्षेत्रबाट पनि एक एक्स्काभेटर नियन्त्रणमा लिई सम्बन्धित व्यवसायीलाई बुझाइएको छ । ‘नदीमा नियमविपरीत चलाइएका र चलाउन अनुमति नभएका एक्स्काभेटर नियन्त्रणमा लिई सम्बन्धित व्यवसायीलाई नै बुझाएका हौं,’ उनले भने, ‘पहिलोपटक भएकाले सचेत गराई बुझाइएको हो ।’ प्रहरीले गत कात्तिकमा पनि मापदण्डविपरीत प्रयोग गरेको भन्दै ३ वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिई ३ दिनपछि छाडेको थियो ।


आइतबार जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङले नदीमा भइरहेको उत्खनन्को अनुगमन गरेका थिए । एकै ठाउँमा करिब एक दर्जन एक्स्काभेटर प्रयोग भइरहेको भेटिएपछि आवश्यक कारबाही थालिएको उनले बताए । ‘कानुनअनुसार नदीमा एक्स्काभेटर प्रयोग गर्न पाइँदैन, तर पनि व्यावहारिक रुपमा एक/दुई वटासम्म हामीले पनि आँखा चिम्लेका छौं,’ उनले भने, ‘एकै ठाउँमा १०/१२ वटासम्म एक्स्काभेटर चलाएर नदीनाला उत्खनन् भएको देखियो ।’


वेदकोटको बगुन, कृष्णपुरको बण्ड र मछेली तथा लालझाडी गाउँपालिकाको मछेली नदीमा समेत एक्स्काभेटरहरू मापदण्डविपरीत चलाइएका छन् । बस्ती नजिकै र बग्ने पानीमै एक्स्काभेटर प्रयोग गरेर निर्माण सामग्रीको उत्खनन् भइरहेको अनुगमनका क्रममा भेटिएको प्रमुख तामाङले बताए ।


नदीनालाबाट भइरहेको उत्खनन्को अनुगमन तथा कारबाही सम्बन्धमा जिससले कार्यविधि निर्माण गरिरहेको जनाएको छ । कार्यविधि निर्माणपछि आवश्यक कारबाहीका लागि सहज हुने तामाङको भनाइ छ ।

प्रकाशित : माघ १५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?