१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अपहेलित हुने डरले खुल्दैनन् कुष्ठरोगी

मोहन शाही

डोटी — समुदायमा अपहेलना हुने डरले पहाडी जिल्लामा अझै पनि कुष्ठरोगीहरू उपचारका लागि स्वास्थ्य संस्था आउन सकिरहेका छैनन् । दुर्गम क्षेत्रमा देवीदेउताको श्रापका कारण रोग लागेको अन्धविश्वास पनि व्याप्त छ ।

स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीले अपहेलना हुने डरले उपचारका लागि नआउँदा कुष्ठरोगीको पहिचान गर्न कठिनाइ भइरहेको बताए । समुदायमा थुप्रै कुष्ठरोगी भएपनि लुकेर बस्ने, अन्यत्र गएर उपचार गर्ने भएका कारण उनीहरूको संख्याबारे वास्तविक तथ्यांक नभएको जानकारी दिए । उपचारका लागि स्वास्थ्य संस्था आएर पहिचान भएका कुष्ठरोगीको संख्या डोटीमा ७ मात्रै छ । थप २ जनामा कुष्ठरोग रहेको देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । तर, स्वास्थ्य कार्यालयले उनीहरूको लगत राखीनसकेकोले पुस मसान्तसम्म जिल्लामा ७ जना मात्रै कुष्ठरोगी रहेको मलासीले बताए ।


सरकारले सन् २०२० भित्र नेपाललाई कुष्ठरोगमुक्त गर्ने घोषणा गरेको छ । यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रति १० हजारमा १ भन्दा कम प्रकोपदर हुनु पर्नेमा सुदूरपश्चिममा यसभन्दा बढी छ । ‘सुदूरपश्चिममा अहिलेकै अवस्थामा पनि १ दशमलब ०५ छ,’ स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखा प्रमुख उद्धवसिंह ठगुन्नाले भने, ‘बिरामीको संख्या हामीले खोजेको होइन, उहाँहरू आफैं उपचारका लागि आउँदा दर्ता गरिएको तथ्यांक हो । यदि सरकार गाउँ–गाउँमा पहिचान गर्न जाने हो भने संख्या अझ बढ्न सक्छ ।’


अशिक्षा, चेतनाको अभाव र अन्धविश्वासले जकडिएका सुदूरका पहाडी जिल्लाहरूमा कुष्ठरोगीको पहिचान गर्न सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ । तराईभन्दा पहाडमा कुष्ठरोगीको संख्या कम देखिनु बिरामी कम भएर नभई पहिचान गर्न सरकारको प्रभावकारी भूमिका र प्रचारप्रसारको अभावले रहेको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत शिव कुमार राईले बताए ।


कुन जिल्लामा कति प्रकोपदर ?

तराईका जिल्लाहरू कैलालीमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.९१ र कञ्चनपुरमा ०.८९ प्रतिशत कुष्ठरोगको प्रकोपदर थियो । यो दर पहाडी जिल्लाअन्तर्गत डोटीमा ०.२८, दार्चुलामा ०.१४, डडेल्धुरामा ०.३८, बाजुरामा ०.३९, बझाङमा ०.९, बैतडीमा ०.२३ र अछाममा १.८० छ । चालु आवमा कार्यालयले सञ्चालन गरेका केही शिविर र प्रचारप्रसारका कारण नयाँ बिरामीको संख्या थपिँदै गएको छ । यस वर्ष प्रकोपदर प्रति एक लाखमा ९.२८ छ । यसले बिरामीहरू स्वास्थ्य संस्थासम्म नपुगेको प्रमाणित हुने जिल्ला समन्वय समिति उपसंयोजक शशी सोपको दाबी छ । कैलालीमा नयाँ बिरामीको प्रकोपदर प्रति एक लाखमा १८.७८, कञ्चनपुरमा ७.७३ र अछाममा १२.०१ रहेको डोटी स्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग अधिकृत ठगुन्नाले जानकारी दिए ।


‘बिरामीहरू विभिन्न कारणले आफैं उपचारका लागि आउन सक्ने सामाजिक वातावरण बनिसकेको छैन,’ सोपले भनिन्, ‘सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार र तीनै तहका सरकारले गाउँघरमा गएर उनीहरूको पहिचान गर्न आवश्यक छ ।’ ६७ औं कुष्ठरोग दिवसका अवसरमा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले आफ्नै परिवारभित्रका भतिजा नाता पर्नेले नेपालमा उपचार गर्न लजाएर भारतमा गई उपचार गरिरहेको सुनाइन् ।


औषधि प्रयोग नगर्ने कुष्ठरोगीसँग लामो समयदेखि सम्पर्कमा आएको व्यक्तिलाई मुख्यगरी श्वासप्रश्वासको माध्यमबाट रोग सर्ने सम्भावना हुने चिकित्सकहरू बताउँछन् । ‘सुरुकै अवस्थामा नै यसको उपचार र निदान गरेमा अरुलाई सर्दैन,’ ठगुन्नाले भने, ‘यो रोग बहुऔषधिको एक मात्रा मात्र खाइदियो भने पनि ९९ प्रतिशत रोगका जिवाणुलाई सिथिल बनाइदिन्छ । तर पनि उपचार नै गर्न नआउने समस्यालाई समाधान गरी सन् २०२० भित्र कुष्ठरोगमुक्त नेपाल घोषणा गर्न चुनौतीपूर्ण छ ।’


कुष्ठरोग लाग्दा रातो, फुस्रो गिर्खा तथा दाग देखिने, छुँदा थाहा नपाउने, हातखुट्टा झमझम हुने, बाहिरी सतहका स्नायु सुनिने, अनुहार र कानका लोती बाक्लो हुने, छाला चम्किलो र बाक्लो हुने जस्ता लक्षण देखिन्छन् । कुष्ठरोगको उपचार आधारभूत सेवाअर्न्तगत पर्ने भएकाले स्वास्थ्य संस्थाहरूमा यसको औषधि निःशुल्क पाइन्छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?