६ महिनामै ८ करोडको तरकारी आयात

तीनै तहका सरकारबाट किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिए पनि आयात घट्न सकेको छैन
भवानी भट्ट

(कञ्चनपुर) — कृषि क्षेत्रमा सरकारी लगानी बढ्दो छ । किसानलाई लक्षित गरी स्थानीय तहदेखि प्रदेश र संघ सरकारबाट विभिन्न किसिमका अनुदानका कार्यक्रम अघि बढाइएको छ । कृषि औजारदेखि बीउबिजन र प्रविधिमा अनुदान रकम खर्च भएपनि भारतबाट कृषिजन्य उत्पादनको आयात भने निरन्तर बढ्दो छ ।

६ महिनामै ८ करोडको तरकारी आयात

खाद्यान्नदेखि तरकारी र फलफूललगायतको आयात वर्षेनी बढ्दै गएको कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ । गड्डाचौकी नाका भएर वर्षेनी ६ देखि ७ करोड रुपैयाँसम्मको आलु आयात हुने गरेको छ । २ करोड बढीको गोलभेडा तथा ३ करोड रुपैयाँभन्दा बढीको केरा, सुन्तला र स्याउ लगायतका फलफूल नेपाल भित्रिने गरेको छ । कार्यालयका अनुसार चालु आवको पुससम्म आलु ४ करोड, स्याउ २ करोड, टमाटर १ करोड, सुन्तला १ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ ।


वर्षको सुरुमा क्वारेन्टाइन चेकपोस्ट खडा गरी तरकारी तथा फलफूलको विषादी परीक्षण गरिँदा आयातको परिमाण घटेपनि पछिल्लो पटक हृवात्तै बढेको छ । ‘यो नाकाबाट आयात हुने वस्तुमध्ये तरकारी र फलफूलको हिस्सा बढी छ,’ कञ्चनपुर भन्सार प्रमुख भीम प्रसाद अधिकारीले भने, ‘यसबाहेक अन्य खाद्यान्न पनि ठूलै परिमाणमा आउने गरेको छ ।’


आइतबार ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत अधिकारीले ३० प्रतिशतभन्दा बढी राजस्व खाद्यान्न, फलफूल र तरकारीबाट संकलन हुने गरेको बताए । कार्यालयले एक वर्षमा ४० देखि ४५ करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ । यस वर्ष ४८ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य छ । भारतीय सीमावर्ती बजार बनबसाबाट साइकल र मोटरसाइलमा ल्याइने तरकारी, दाल, चिनी र फलफूल लगायतबाट धेरै मात्रामा राजस्व संकलन हुने गरेको उनले बताए ।


‘कृषि क्षेत्रमा लगानी बढ्दो छ, तीनै तहका सरकारबाट अनुदान पनि वितरण भइरहेकै छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘तर हामीहरू अहिले पनि सीमावर्ती बजारबाटै तरकारी ल्याएर खाइरहेका छौं ।’ उनले क्वारेन्टाइन जाँचसँगै भारतबाट आयात हुने खाद्यान्न तथा तरकारीमा भन्सार राजस्वसमेत वृद्धि हुनुपर्ने माग गरे ।


विभिन्न तहका सरकारबाट वितरण भइरहेको कृषि अनुदान वास्तविक किसानले पाउन नसकेको गुनासो यथावत् नै छ । कृषिका नाममा व्यापार–व्यवसाय गर्नेहरूले अनुदान लिने गरेका कारण किसानको पहुँच हुन नसकेको सरोकारवाला बताउँछन् । ‘हाम्रो उत्पादन निरन्तर हुन सकेको छैन, एक सिजन उत्पादन गरेपछि अर्को सिजन छोड्ने संस्कार बढेको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘भारतबाट आयात भएको वस्तुसँग यहाँको उत्पादन प्रतिस्पर्धा गर्न नसक्नु पनि कारण हो ।’ उनले पछिल्लो समय अनुदान कुम्ल्याउन अनेक हतकण्डा अपनाउने र अनुदान पाएपछि कामै नगर्ने प्रवृत्ति मौलाएका कारण कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन नसकेको औंल्याए ।


कैलाली, कञ्चनपुरमा हिउँदे तरकारीमा काउली, टमाटर लगायतको उत्पादन धेरै छ । तर, भारतबाट आयात भएको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार नपाएको उनले गुनासो गरे ।

प्रकाशित : माघ १३, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?