‘गरिमा’ पीडितले राहत पाएनन्

(कञ्चनपुर) र (टीकापुर) — ‘गरिमा’ धानबाट पीडित पश्चिम तराईको कैलाली र कञ्चनपुरका किसानले हालसम्म राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । गरिमा भनी बेचिएको धानको बीउ रोप्दा उत्पादन नभएपछि किसानले क्षति ब्योहोर्नुपरेको थियो । 

‘गरिमा’ पीडितले राहत पाएनन्

क्षतिपूर्तिबारे सरकारले निर्णय नगर्दा किसानहरू राहत पाइने आश मार्न थालेको बताउँछन् । ‘क्षतिपूर्ति त के पाइन्थ्यो, नक्कली बीउ बेच्नेलाई कारबाहीसम्म भएन,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी मीना भण्डारीले भनिन्, ‘वडादेखि नगरपालिका र कृषि ज्ञान केन्द्र सबै ठाउँमा निवेदन दियौं, कहीँबाट पनि कुनै राहत पाइएन ।’ उनले दुई बिघामा लगाएको गरिमा धान नपसाएपछि मंसिर पहिलो साता काटेकी थिइन् ।


‘धान त पसाएन, ढिलो भएर गहुँबाली पनि बिग्रियो,’ कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका खिलप्रसाद भुसालले भने, ‘हामी खेतीपाती गरेर खानेलाई अहिले धान किन्नुपरेको छ ।’ उनले आधा बिघामा गरिमा धान रोपेका थिए । धान पसाउने आशमा उनले पनि मंसिरसम्मै पर्खेका थिए । तर नपसाएपछि उनले काटेर गाईगोरुलाई खुवाए । ढिलोगरी गहुँ छर्दा वर्षाले असर गरेको उनको भनाइ छ । उम्रेको गहुँ पनि पहेँलै भएको उनले गुनासो गरे ।


‘त्यतिबेला वडादेखि नरगपालिका र कृषिका प्राविधिकहरू खुबै आउँथे । दिनहुँ सोधपुछ गर्थे, अहिले त न कोही प्राविधिक आउँछ, न हामीले राहत पायौं,’ कैलालीकै गौरीगंगा नगरपालिका–४ राजीपुरकै हरि सापकोटाले भने । राजीपुरमा मात्रै १५ भन्दा बढी किसानले गरिमा धान लगाएको उनले जानकारी दिए ।


कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कैलाली र कञ्चनपुरमा १ हजार ७ सय ३० कृषक गरिमा धानबाट पीडित भएका छन् । दुवै जिल्लामा करिब एक हजार हेक्टरमा क्षेत्रफलमा उक्त धान लगाइएको थियो । केन्द्रका अनुसार यहाँ कतै पनि गरिमा धान पसाएको थिएन । केही स्थानमा मंसिरमा पसाउन थाले पनि किसानहरूले बाली नसप्रिने र गहुँ लगाउन ढिलो हुने भन्दै त्यत्तिकै काटेका थिए । केन्द्रले तथ्यांक संकलन गरेपछि राष्ट्रिय बीउबिजन समितिले पनि समिति बनाएरै स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि बीउको खराबीका कारण धान नफलेको निष्कर्ष निकाल्दै बीउ उत्पादक र बिक्रेतालाई कारबाही र पीडित किसानलाई तीनै तहका सरकारबाट उचित क्षतिपूर्ति दिनका लागि सिफारिस गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए ।


दुई महिनाअघि नै समितिले सरकारसमक्ष राहतका लागि सिफरिस गरेको थियो । तर हालसम्म राहतबारे कुनै निर्णय भएको छैन । केन्द्र सरकारले राहत उपलब्ध गराउने सम्बन्धमा समयमै निर्णय नगर्दा किसानले राहत पाउन नसकेको भट्टको भनाइ छ । टीकापुर नगरपालिका–१ वनगाउँकी पार्वती चौधरीले धान नफलेपछि के खाने भन्ने समस्या आइरहेको बताइन् । उनले भनिन्, ‘धान नफले पनि राहत दिने भनेर खेत हेर्न मात्र आए । राहत दिएनन् ।’


‘गाउँपालिकाले वितरण गरेको बीउ नै फलेन,’ अर्का किसान फगुना कठरियाले भने, ‘राम्रो फल्ला भनेर गरिमा धानको बीउ लगाएको थिएँ, झन् दानै लागेन । राहत पनि दिएनन् । अब हामीले अन्न खाने कि माटो ?’ हाइब्रिड भनेर बिक्री गरिएको र उत्पादन नभएपछि अब हाइब्रिड बीउमाथिको विश्वास नै लाग्न छाडेको किसानहरूले बताउन थालेका छन् । सामान्यतया गरिमा धान रोपेको १२० दिनमा तयार भइसक्छ । तर अध्ययनले १५० दिनभन्दा बढी समय लाग्ने देखाएको थियो । गरिमा धानको उत्पादन भारतको हैदरावादस्थित रेनोभा सिड साइन्स इन्डिया प्रालिले गरेको हो । दाङको लमही नगरपालिका–३ स्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले सो बीउ नेपालमा आयात गरेको हो । कैलाली र कञ्चनपुरमा गरिमा धानको बीउ करिब १० टन बिक्री गरेको जनाइएको छ ।


प्रकाशित : माघ ११, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?