कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैंसी पाल्नेभन्दा बेच्ने धेरै

‘चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरूष अन्य काम खोज्दै भारत जाने गरेकाले ब्याउने र दुहुना भैंसीसमेत मासुका लागि बिक्री गर्ने क्रम बढेको हो’

(बझाङ) र (बैतडी) — प्रायः सबै घरमा भैंसी पालिएका हुन्थे । कुनै घरमा त ४/५ वटासम्म दुहुना भैंसी हुन्थे । बैतडीको दशरथचन्द नगरपालिका–४ को जर्गगाउँ केही वर्ष पहिलेसम्म भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात थियो । यहाँ अहिले तीन सयभन्दा बढी परिवारको बसोबास छ । तर, अवस्था फेरिएको छ ।

भैंसी पाल्नेभन्दा बेच्ने धेरै

यहाँका अधिकांश परिवारले भैंसी पाल्न छोडिसकेका छन् । पहिले दूध, दही, मोही र घिउ बिक्री गर्ने परिवार अहिले आफैं किनेर खान्छन् । ‘एउटा दुहुनो भैंसी नभएको त कुनै घर हुन्थेन,’ स्थानीय जयदेव पाण्डे भन्छन्, ‘जिल्लाभरबाट दुधालु भैंसी खोज्नेहरू यसै गाउँमा आउँथे । घिउ व्यापारीहरू टिनका टिन घिउ किनेर लैजान्थे ।’


मासुका लागि भैंसीको व्यापार गर्नेको आँखा जर्गगाउँमा परेपछि यहाँ भैंसीको किनबेच बढ्यो । पाल्न झन्झट हुने र स्थानीयस्तरमा चलेकोभन्दा धेरै मूल्य पाइन थालेपछि स्थानीयले भैंसी बेचेको उनको भनाइ छ । कतिपय व्यापारीले पाल्न भन्दै किसानलाई झुक्याएर मासुका लागि भैंसी किन्ने गरेको उनले बताए । पाण्डेका अनुसार यहाँबाट किनिएका भैंसी व्यापारीले जिल्ला बाहिर लगेर मासुका लागि बेच्ने वा आफैंले समेत काटेर मासु बेच्ने गर्छन् । ‘सबै भैंसी किनेर मासु बेच्ने ठाउँतिर लगे,’ पाण्डे भन्छन्, ‘गाउँमा चलेको मूल्यभन्दा धेरै मूल्य दिएपछि सबैले धमाधम भैंसी बेच्न थाले । अहिले गाउँमा गोरस नै पाइँदैन ।’


मासुको प्रयोजनका लागि भैंसीको तस्करी गर्नेक्रम बढेसँगै पछिल्लो समय जर्गगाउँमा मात्रै होइन, सुदूर पहाडका सबै जिल्लामा भैंसीको संख्या कम भएको छ । मासुको प्रयोजनका लागि दुधालु भैंसीको किनबेच बढेसँगै स्थानीय जातका भैंसी लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । ‘पाल्न भनेर भैंसी किन्न आए । घरमा पाल्ने मान्छे पनि नभएकाले बेचें,’ फागुनमा ब्याउने भैंसी मंसिर अन्तिम सातातिर ३५ हजार रुपैयाँमा बेचेका बझाङ कैलाशका कशबहादुर सिंहले भने, ‘बेचेको एक सातापछि अरूले भनेर थाहा पाएँ, काट्नका लागि पो लगेको रहेछ ।’


पहाडबाट भैसी संकलन गरेर मासुका लागि धनगढी पुर्‍याउने कैलाली मसुरियाका खगेन्द्र मगरले आफूलाई झुक्याएको उनको आरोप छ । ‘काट्न भनेर किन्न आउनेहरूलाई यत्रो वर्ष दूध खाएको भैंसी काट्नका लागि नदिने भनेर बेचिनँ,’ सिंहले भने, ‘खगेन्द्र मगरले मलाई झुक्यायो ।’ बझाङ थलारा मालुमेलाका पदमबहादुर विष्ट पनि सिंहजस्तै पीडित हुन् । उनको भैंसी पनि मगरले नै पाल्ने भनेर किनेका थिए । मान्छेलाई हान्ने बानी भएकाले तीन वर्षको भैंसी १४ हजार रुपैयाँमा बेचेको विष्टले बताए । ‘मार्नका लागि हो भनेको भए दिने नै थिइनँ,’ उनले भने ।


मगरलगायत केही व्यापारीले लामो समयदेखि मासुका लागि पहाडी जिल्लाबाट भैंसी खरिद गरी कैलाली, कञ्चनपुर र भारतसम्म पुर्‍याएर बेच्ने गरेका छन् । पाल्ने भन्दै झुक्याएर स्थानीयबाट दुहुना र ब्याउने भैंसीसमेत मासुका लागि किन्ने गरेको उनीहरू स्विकार्छन् । ‘काट्ने हो भनेपछि त बेच्नै मान्दैनन्,’ व्यापारी मगरले झुक्याएर भैंसी किन्ने गरेको स्विकार्दै भने, ‘यतै काट्ने हैन क्यारे ? कुन देशमा पुगेर काटिन्छ, यहाँकालाई के थाहा हुन्छ ? त्यही भएर पाल्नका लागि हो भन्छौं ।’


सुदूर पहाडमा दूध दिने जनावर (गाई, भैंसीगायत) लाई आमासरह पूजा गर्ने प्रचलन छ । त्यसैकारण मासुका लागि हो भनेर किन्न खोज्दा किसानहरूले उल्टै गाली गर्ने गरेको उनले अनुभव सुनाए । भैंसी संकलन गर्न नेपालगन्ज, कैलाली, कञ्चनपुरलगायत ठाउँबाट व्यापारीहरू बझाङ, बैतडी, बाजुरा, अछामलगायत सुदूरपश्चिमका ग्रामीण बस्तीहरूमा धाउने गर्छन् र गाउँलेसँग पाल्ने भन्दै झुक्याएर खरिद गर्छन् ।


पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो भएको भनेर पशु स्वास्थ्य चिकित्सकले जाँच गरी प्रमाणित गरिसकेपछि मात्र मासुका लागि प्रयोग गर्न पाउने व्यवस्था छ । तर यहाँ उक्त नियमको बेवास्ता गर्दै मासुकै लागि सबै खालका भैंसी जिल्ला बाहिर निकासी गर्नेक्रम निरन्तर चलिरहेको छ । पशु चिकित्सकले परीक्षण नगरी भैंसी निकासी गर्न नमिल्ने भए पनि स्थानीय तह र भेटेरीनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रका अन्य कर्मचारीको सिफारिसमा प्रत्येक महिना सयभन्दा बढी भैंसी जिल्ला बाहिर पठाउने गरेको पाइएको छ । जिल्लामा पशु चिकित्सक उपलब्ध नहुने भएकाले पहिलेदेखि नै पशु प्राविधिकले सिफारिस गर्ने गरेको पशु विज्ञ केन्द्रका कर्मचारीहरू बताउँछन् ।


आधाले घट्यो भैंसीको संख्या

किसानलाई झुक्याएर गाउँबाट धमाधम दूधालु भैंसी मासुका लागि तराई र भारततिर तस्करी हुन थालेपछि पहाडी जिल्लामा रैथाने भैंसीको जात नै लोप हुने जोखिममा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख पशुपति नाथ बताउँछन् । तीन वर्षअघि जिल्लामा ३६ हजारको हाराहारी रहेको भैंसीको संख्या अहिले घटेर १५ हजार पुगेको केन्द्रको तथ्यांक छ । यो वर्ष मंसिरसम्म १ सय १० भन्दा बढी भैंसी र राँगा बझाङबाट जिल्ला बाहिर निकासी भएको केन्द्रले जनाएको छ ।


चरन क्षेत्रको अभाव, युवाहरूको पशुपालनप्रति घट्दो आर्कषण र अधिकांश गाउँका पुरुषहरू भारततिर जाने चलन बढेसँगै ब्याउने र दुहुना भैंसीसमेत सस्तो मूल्यमा मासुका लागि बिक्री गर्ने क्रम बढेको उनले औंल्याए ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका अनुसार जिल्लामा गत साउनदेखि मंसिरसम्म ४१ वटा भैंसी निकासी भए । अहिले पालिकाले पनि निकासीको सिफारिस दिनुपर्ने भएकाले यसरी बेचिएका भैंसीको तथ्यांक कार्यालयमा नरहेको केन्द्रले जनाएको छ । तीन वर्षअघिसम्म ७० हजारको हाराहारीमा जिल्लामा गड्डी, मुर्रा जातका भैंसी रहेको भए पनि हाल त्यो संख्या आधाभन्दा कम रहेको विज्ञ केन्द्र बैतडीका अधिकृत गुमानीदत्त पन्तले बताए । उनले भने, ‘यहाँबाट निकासी हुने भैंसी मासुकै लागि लैजाने गरिएको छ ।’ जिल्लाबाहिर निकासी गर्नेक्रम बढेकाले भैंसीको संख्या घटेको उनको भनाइ छ ।


सुत्केरी भैंसीलाई भत्ता

स्थानीय भैंसी लोप हुन थालेको भन्दै बैतडीको मेलौली नगरपालिकाले सुत्केरी भैंसीका नाममा किसानलाई भत्ता दिने प्रावधान लागू गरेको छ । चालु आर्थिक वर्षबाट लागू हुने गरी सुत्केरी भएका भैंसीबापत जनही २ हजार रुपैयाँका दरले रकम दिने निर्णय गरिएको नगरकी उपप्रमुख राधा ओझाले बताइन् । भैंसी लोप हुन थालेपछि यो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।


किसानलाई भैंसीपालनतर्फ आकर्षित गर्न पनि भत्ता दिने गरिएको ओझाको भनाइ छ । उनका अनुसार हाल सुत्केरी भैंसीको लगत राख्न किसानबाट निवेदन संकलनको काम भइरहेकाले केही समयभित्रै भत्ता वितरण सुरु गरिने छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?