कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बदलिँदै थारूको विवाह संस्कार

गणेश चौधरी

(टीकापुर) — शुभकार्य र तिनको विधि विभिन्न जाति तथा समुदायअनुसार फरक पर्छ । विवाह गर्ने परम्परा र प्रक्रियामा समेत समानता छैन । थारू समुदायमा पनि विवाह गर्ने छुट्टै परम्परा छ । तर पछिल्ला वर्षमा यो परम्परा बदलिँदै गएको छ ।

बदलिँदै थारूको विवाह संस्कार

थारू समुदायले विवाहको तयारी गरिसकेपछि ‘बरात’ जानुभन्दा एक दिनअघि सगुन पठाउने चलन छ । सगुनमा जन्तीको खानाका लागि चामल, दाल, नुन, तेल, बेसार, तरकारीलगायतका खाद्यपदार्थ दुलहीको घरमा पठाउने गर्छन् । कैलालीको टीकापुरका जितबहादुर चौधरीका अनुसार थारूले यसलाई ‘चाउर पर्छना’ भन्छन् । जन्ती जाने अघिल्लो साँझ जाँतोमा मास पिस्ने गरिन्छ । त्यसलाई थारूले ‘डिउली डर्ना’ भन्छन् । पिसेको मासको ‘बरिया’ पकाइन्छ । विवाहका बेला बरिया अनिवार्य परिकार मानिन्छ । घरको देउतालाई पहिले चढाउने र त्यसपछि दुलाहालगायत जन्तीसहित विवाहमा आमन्त्रित सबैलाई खान दिने चलन रहेको जितबहादुरले बताए ।


जन्ती जाने दिन बिहान दुलाहाका दाजु वा दिदीहरूले दुलाहालाई नुहाएर जीउभरि तेल लगाइदिने गर्छन् । यसले दाजुभाइ तथा दिदीभाइको सम्बन्ध अटुट रहन्छ भन्ने मान्यता छ । नुहाइसकेपछि दुलाहाले गाउँको ‘मरुवा’ मा गएर पूजाआजा गर्नुपर्छ । त्यसपछि मात्र दुलाहालाई घरको मुख्य कोठा ‘दिहुँरार’ मा लगेर विवाहको कपडा लगाइदिने काम सुरु हुन्छ ।


थारू दुलाहाको पहिरनमा टाउकोमा सेतो पगिया, जीउमा सेतो जामा, कम्मरमा सुरुवाल र गरगहना लगाइदिने चलन छ । सिंगारपटारका लागि आँखामा गाजल, गरगहना पनि लगाउने परम्परा थारू समुदायमा थियो । दुलाहाको जस्तै लुगामा एक वा दुई जना अरू व्यक्ति उनको आडमा बस्ने गर्छन् । उनीहरूलाई थारू ‘सइबलुवा’ भन्छन् । तर पछिल्ला वर्षमा थारू समुदायका युवाले यस्ता पोसाक र परम्परागत चालचलन मान्ने गरेको विरलै देख्न पाइन्छ । परम्परागत पोसाकको ठाउँमा कोट, सर्ट, पाइन्टले स्थान लिइसकेको जोशीपुर–३, मनकापुरका वीरबहादुर चौधरीले बताए ।


उनका अनुसार दुलहीको घर जाने बेला पहिले–पहिले दुलाहा र सइबलुवालाई ‘चन्डोल’ मा राखेर बोकेर लगिन्थ्यो । अन्य जन्ती भने गाडामा जान्थे । तर आजभोलि ट्र्याक्टर, बस, जिप आदिमा जान्छन् ।


दुलहीको गाउँको सीमामा पुगेपछि जन्तीलाई स्वागत गर्न दुलहीतर्फका महिलाहरू टाउकोमा डेलुवा (आकर्षक ढकिया) र कलश लिएर आउँछन् । त्यसबेला दुलाहालाई पंखाले हम्की दिने, गाजल लगाइदिने जस्ता चलन पनि हराउन थालेको वीरबहादुरले बताए । ‘दुलाहालाई दुलही घरको पूजाकोठामा लगेर पूजापाठ गरिसकेपछि जन्तीसहितलाई बस्न बनाइएको जिउनासमा दुलाहा पक्षका सबै रात काट्छन्,’ उनले भने, ‘अर्को दिनमात्रै जन्ती फर्किने गर्छन् ।’ दुलाहा बोक्न बनाइएको चन्डोल ४ जनाले बोक्न मिल्छ भने दुलही बस्ने डोली २ जनाले मात्र बोक्न सकिन्छ । डोली बनाउन २२ हात कपडा पनि दुलाहा पक्षले लिएर जानुपर्छ । पहिले–पहिले दुलाहा चन्डोलमा र दुलही डोलीमा आउने भए पनि हिजोआज जन्तीसँगै बस, जिप वा ट्र्याक्टरमा बसेर आउने परम्परा बसेको छ ।


थारूको विवाहमा अहिलेको जस्तो हिन्दी, नेपाली गीत बजाउने चलन थिएन । थारूहरू विवाहमा ‘मागर’ गाएर रमाइलो गर्थे । डिउली डर्ना मागर, दुलाहालाई पोसाक लगाउने बेलाको मागर, जन्ती निस्कने बेलाको मागर, दुलहीको घर पुगेपछि गाउने मागर गीत छुट्टाछुट्टै हुन्छ ।


पछिल्लो पुस्तालाई यी गीत गाउनै नआउने अवस्था रहेको वीरबहादुर बताउँछन् । ‘बरु उनीहरू हिन्दी, अंग्रजी वा नेपाली गीतमा नाच्ने गरेका छन्, डिजे बजाएर,’ उनले भने ।


दुलही लिएर फर्केपछि मूल ढोकामा तेलको दियो बाल्ने, आगो राख्ने र दुलाहा–दुलहीको टाउको ठोक्काएर घरभित्र प्रवेश गराउँछन् । यसबेला दुलाहा र दुलहीले लगाएको लुगा एकैस्थानमा गाँठो पारिदिन्छन् । त्यसपछि देवता रहेको कोठा दिहुँरारमा लगेर पूजापाठ गरिसकेपछि विवाह सम्पन्न भएको मानिन्छ ।


विवाह संस्कारका धेरैजसो परम्परा हराउँदै गए पनि थारूको विवाहमा गाउँका सबै घरबाट एक–एक जना विवाह घरमा काम गर्ने र रमाइलो गर्ने परम्परा भने छँदै छ । विवाहमा दाउराको जोहो गर्नेदेखि विवाह नसकिँदासम्म सम्पूर्ण काम गाउँहरूले मिलेर गर्छन् । यसो गर्दा विवाहमा कामका लागि जनशक्तिको अभाव हुँदैन । टीकापुरका जितबहादुर चौधरीले भने, ‘सबैले सघाउनु थारूको सामुदायिक भावना हो ।’

प्रकाशित : माघ ११, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?