प्रस्तावित औद्योगिक क्षेत्र : बजेट आयो, काम भएन

‘२ सय ५१ उद्योग स्थापना हुनेगरी डुडेझारीमा ६ सय विघा क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र बनाउन डीपीआर तयार’
गणेश चौधरी

टीकापुर — सुदूरपश्चिममा एउटा पनि औद्योगिक क्षेत्र छैन । पटक–पटक विभिन्न स्थानमा औद्योगिक क्षेत्र बनाउने चर्चा हुँदै आए पनि हालसम्म घोषणा हुन सकेको छैन ।सरकारले केही वर्षअघि साविकको गेटा र श्रीपुर गाविस (हाल गोदावरी नगरपालिका) लाई जोडेर विशेष आर्थिक क्षेत्र घोषणा गर्ने नीति लिएको थियो । तर, कार्यान्वयन हुनसकेकोथिएन । विशेष आर्थिक क्षेत्र स्थापनाका लागि उद्योग मन्त्रालयबाट आर्थिक वर्ष ०६५/६६ मा १७ करोड रुपैयाँ बजेट निकासा भए पनि काम अघि बढेन । 

प्रस्तावित औद्योगिक क्षेत्र : बजेट आयो, काम भएन

स्थानीयको जग्गा अधिग्रहण गरी करिब ३ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने बताइएको थियो । औद्योगिक क्षेत्रको नक्सांकन भई ४ किल्ला छुट्याइएको पनि थियो । पछि स्थानीयहरूमा विवाद भएपछि विशेष आर्थिक क्षेत्र घोषणा गर्ने योजना अगाडि बढ्न सकेको थिएन ।


केही महिनाअघि प्रदेशस्तरीय औद्योगिक र पर्यटन सूचनाका बारेमा परामर्श दिन बनाइएको समितिले औद्योगिक क्षेत्र निर्माणका लागि टीकापुरलाई उपयुक्त स्थानका रुपमा सिफारिस गरेको थियो । तर, निर्णय भएको छैन । तत्कालीन टीकापुर विकास समितिले औद्योगिक क्षेत्र बनाउन विभिन्न उद्योगका नाममा स्वामित्व हस्तान्तरण गरेर जग्गा वितरण गरेको थियो । तर, ती जग्गा हाल घरघडेरीमा परिणत भएका छन् । औद्योगिक क्षेत्रका लागि भनेर दिइएका जग्गा घरघडेरीमा परिणत भएपछि फेरि जग्गाको खोजी हुन थालेको छ ।

यसका लागि कम्तीमा एक सय विघा जमिन आवश्यक पर्ने टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष परशुराम चपाईंले बताए । ‘धेरै ठूला उद्योगभन्दा पनि मझौला खालका ४०/५० वटा उद्योग स्थापना गर्न एक सय विघा जग्गा आवश्यक हुने अनुमान छ,’ उनले भने, ‘जग्गा सरकारी स्वामित्वमा रहनेगरी भाडामा दिने व्यवस्था गरिनुपर्छ ।’ उनका अनुसार आवतजावत सहज नभएसम्म लगानीकर्ता उद्योग खोल्न तयार नहुने भएकाले टीकापुरमा विमानस्थल सञ्चालन हुनपर्दछ । खक्रौलालाई मुख्य भन्सार नाका बनाउने सरकारी निर्णयले कच्चा पदार्थ आयातनिर्यात सहज हुने देखिएकोले औद्योगिक क्षेत्र निर्माणको घोषणा गर्नुपर्ने चपाईं बताउँछन् ।


औद्योगिक र पर्यटन सूचनाका बारेमा परामर्श दिन गठित समितिका संयोजक जनकराज शाहले मझौला उद्योग स्थापना गर्न टीकापुर उपयुक्त ठाउँ भएको बताए । ‘वनजंगल मासेर औद्योगिक क्षेत्र स्थापना गर्न सम्भव छैन । अरु नगर तथा गाउँपालिकामा टीकापुरको जस्तो जग्गा छैन,’ शाहले भने । हाल लम्कीचुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र बनाउन पहल भइरहेको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए । उनले स्थानीय स्तरमा गर्नुपर्ने काम भइसकेको र फाइल मुख्य सचिवकहाँ पुगेको जानकारी दिए । ‘करिब ६ सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्रको डीपीआर बनाइसकेका छौं । केन्द्रले घोषणा गर्न बाँकी छ,’ उनले भने ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले ५ मेगावाट विद्युत उत्पादनका लागि निर्माणकार्य गरिरहेकोले डुडेझारी कर्णाली र प्रदेश ५ समेतको औद्योगिक क्षेत्र हुनसक्ने थापाको भनाइ छ । उनका अनुसार डुडेझारीमा २ सय ५१ उद्योग स्थापना हुन सक्नेछन् । उद्योग स्थापना गर्न उद्योगीहरू पनि तयार रहेका उनले दाबी गरे । ‘डुडेझारी राजमार्गसित पनि जोडिएकोले आउजाउमा सहज हुने र टीकापुरमा सुदूरपश्चिमको मुख्य भन्सार नाका स्थापना भइसकेकोले भारतबाट ल्याउनुपर्ने कच्चा पदार्थ ल्याउन सहज हुनेछ,’ थापाले भने, ‘औद्योगिक क्षेत्र स्थापना भए तीन प्रदेशका जनतालाई रोजगारी दिन सकिने छ ।’


औद्योगिक क्षेत्र नहुँदा लगानीकर्ताले उपयुक्त जग्गा अभावमा उद्योग खोल्न नसकिरहेका थापाको भनाइ छ । उनले थपे, ‘उद्योगी आफैंले जग्गा किनेर उद्योग खोल्न त्यति सम्भव हुन्न । वातावरण र बस्तीका कारण पनि औद्योगिक क्षेत्र बनाउन आवश्यक छ ।’

प्रकाशित : माघ ९, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?