दिनभर पासोमा चितुवा

कञ्‍चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेवस्थित गौशालामा कार्यरत गोपाल बुढाले सदाझैं गाईहरूलाई चरनका लागि जंगलतिर धपाए । जंगलतर्फ धपाइएका गाई एकैछिनमा फर्केर फेरि गोठमै आए । गाई फर्केको कारण खोज्न गोपाल आफैं अगाडि बढे । सो क्रममा गौशाला नजिकैको कन्जुको रुखमा फसेको वयस्क चितुवामा उनको नजर पुग्यो ।

दिनभर पासोमा चितुवा

रुखमा राखिएको पासोमा फसेको चितुवा कराएकै कारण गाईहरू जंगल नगई गोठमै फर्केको उनले थाहा पाए । ‘बाटोमा चितुवा फसेको रहेछ, अनि गाईगोरु किन वनतिर जान्थे?,’ बुढाले भने, ‘पछि मैले अर्को बाटोबाट गाईगोरुलाई वनतिर पठाएँ ।’ उनका अनुसार सो चितुवा कन्जुको रुखमा थापेको पासोमा मंगलबार राति नै फसेको हो । बुधबार साँंझसम्म समेत चितुवा पासोमै थियो ।


पासोमा फसेको चितुवा दिनभर कराउने र उफ्रिने गरिरहेको थियो । हेर्न जानेहरूको भीड देखेर झनै अक्रामक भइरहेको थियो । ‘बिहान निकै शान्त थियो, हेर्नेको भीड देखेर झनै आक्रामक हुन थालेको हो,’ सिद्धनाथ सामुदायिक वनका अध्यक्ष मोति महताले भने, ‘उफ्रिँदा पछाडिको खुट्टामा पनि ठूलो घाउ भएको छ ।’

साँझपख बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीले डाट प्रविधिबाट नियन्त्रणमा लिन खोज्दा चितुवा पासोबाट फुत्किएर भागेको हो । प्राविधिक थिरुलाल चौधरीले डाट गर्न बन्दुक तेर्स्याउँदा चितुवा पासोबाट फुत्केर उनीमाथि समेत आक्रमण गरेको छ । चौधरीको हातमा चोट लागेको छ । भेटेरिनरी डाक्टर चित्र बहादुरखड्कासहित ५ जना प्राविधिकको टोली चितुवाको उद्धारका लागि आएको थियो ।


प्राविधिक टोली नहुँदा चितुवाको समयमै उद्धार गर्न नसकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धरले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा समेत उद्धार टोली छैन । यहाँ वन्यजन्तुको उद्धार गर्नुपरेमा बर्दियाबाटै बोलाउनुपर्ने अवस्था छ । ‘हामीले यस विषयमा प्रदेशमा पनि कुरा उठाएका छौं,’ डिभिजन वन अधिकृत मानन्धरले भने, ‘कम्तीमा पनि सुदूरपश्चिममा वन्यजन्तुको उद्धारका लागि एउटा र्‍यापिड रेसपोन्स टीम (आरआरटी) आवश्यक पर्छ ।’

यसअघि चुरे फेदीकै वैजनाथ सामुदायिक वनमा एक चितुवा पासोमा फसेर मरेको थियो । दिनभरि पासोमा फसेको चितुवा समयमै उद्धार हुन नसकेर मरेको हो । यस क्षेत्रमा उद्धार टोली नभएका कारण वन्यजन्तुको समयमै उद्धार हुन नसकी मृत्यु हुने गरेको छ ।

प्रकाशित : माघ ९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?