साघुरिँदै खलंगा बजार

तृप्ति शाही

बैतडी — आबादी बढेपछि बैतडी सदरमुकाम खलंगा बजार साँघुरो हुन थालेको छ । अधिकांश सरकारी कार्यालय र निजी घरले खलंगाको गढी बजार भरिभराउ भएको हो । अग्लो डाँडामा रहेको बजारमा फराकिलो ठाउँ भेट्टाउनै मुस्किल पर्न थालेको छ । 

साघुरिँदै खलंगा बजार

अहिले कुनै कार्यालयले भवन निर्माण गर्न पर्‍यो भने जमिनकै अभाव हुन थालेको छ । सम्म मिलेको जमिन अभावले भिरालो ठाउँमा पनि घर बन्न थालेको छ । जिल्ला प्रशासन, प्रहरी कार्यालय, अदालत, सरकारी वकिल, नापी, मालपोत लगायतका थुप्रै सरकारी कार्यालय रहेको गढी बजार क्षेत्रमा दिनभर मान्छेहरूको बाक्लै आवतजावत भइरहन्छ । तर, सवारीसाधन रोक्ने ठाउँ अभाव छ ।


‘साँघुरो ठाउँमा सडक पनि साँघुरै छन्,’ स्थानीय नरेश ठगुन्नाले भने, ‘सदरमुकाममै मापदण्ड अनुसारका सडक छैनन् ।’ फुटपाथ नहुँदा र पार्किङको अभावले दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । नगरपालिकाले ध्यान नदिएकाले समस्या आएको उनले बताए ।


गढीमा सबै सरकारी कार्यालय स्थापना गर्ने ठाउँ नै नभएकोले गोठालापानी र शाहीलेकमा बजार विस्तार भइसकेको छ । स्थानीयले घर पनि सोही क्षेत्रमा निर्माण गरिरहेका छन् । अबको १० वर्षमा सदरमुकामको बस्तीले खुट्टा टेक्ने ठाउँ नै नहुने स्थानीय प्रकाश चन्दले बताए । दीर्घकालीन योजना विकासको रणनीति नबनाएर यस्तो अवस्था आएको उनको बुझाइ छ । ठाउँको भन्दा व्यवस्थापनको दोष भएको उनको भनाइ छ । अव्यवस्थित विकासले गर्दा सदरमुकाम क्षेत्र नै लथालिंग हुन थालेकोले सदरमुकामको सुन्दरता र वातावरण नराम्रो भएको उनले बताए । ‘सदरमुकामको भौगोलिक अवस्था परिवर्तन गर्न सकिन्न,’ उनले भने, ‘उपलब्ध भूगोलकै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

अहिले पनि यहाँका धेरैजसो कार्यालयमा गाडी पार्किङको व्यवस्था छैन । कार्यालय परिसरभित्र ठाउँ नहुँदा कतिपय कार्यालयले सडक छेउमै गाडी राख्ने गरेका छन् । नगरपालिका कार्यालयकै गाडीसमेत सडकमै राखिएको हुन्छ । जिल्ला समन्वय समितिको अवस्था पनि उस्तै छ ।


आफ्नै कार्यालयको सवारीसाधन राख्ने ठाउँ नभएपछि नगरभित्रका कार्यालयहरूलाई भन्ने ठाउँ नभएको उपप्रमुख मीना चन्दले बताइन् । ‘कार्यालय भत्काएर अन्यत्र सार्न सकिने कुरा भएन । धेरैको आकर्षण सुरक्षा र प्रशासन भएको क्षेत्रमै कार्यालय स्थापना गर्नुपर्छ,’ उनले भनिन्, ‘तर यहाँ ठाउँ नै छैन ।’ भीरालो ठाउँमा भएकाले हाल कार्यालय रहेको स्थानमा अपांगता भएका र वृद्धवृद्धा जानै नसक्ने अवस्था छ । व्यवस्थापन गर्न प्रयास गरिरहेको चन्दले बताइन् ।

प्रकाशित : माघ ८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?