बैतडीको डिलाशैनी गाउँपालिकाको कार्यालयमा आगजनी

तृप्ति शाही

बैतडी — बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी गरिएको छ । बुधबार बिहान ३ बजे तिर वडा नम्बर ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएकाे हाेे ।

बैतडीको डिलाशैनी गाउँपालिकाको कार्यालयमा आगजनी

यस्तै गाउँपालिकाले भाडामा लिने गरेको म १ च ४८८ नम्बरको जिपमा पनि आजगनी गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको जिप गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको एक्स्काभेटरमा पनि आगजनी गरिएको छ । एक्स्काभेटरमा आगजनीबाट क्षति पुगे पनि जिपमा भने खासै क्षति नभएको जिल्ला प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

त्यस्तै वडा नम्बर ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा शंकास्पद वस्तु पनि फेला परेको छ । शंकास्पद वस्तुबारे बुझ्न र निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न डीएसपी पाण्डेयको टोली पनि घटनास्थलर्फ गएको छ । आगजनी कसले गराएको भन्नेबारे केही जानकारी नखुलेको उनले बताए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । यही विषयलाई लिएर घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

डिलाशैनी गाउँपालिकको केन्द्र वडा नम्बर ७ मा तोकिएको भए पनि सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ । पालले आफ्‍नो इच्छाअनुसार गाउँपालिका चलाएको आरोप पनि स्थानीयले लगाउँदै आएका छन् ।

प्रकाशित : माघ ८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?