१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जहिल्यै रगत अभाव

मोहन शाही

(डोटी) — पेटमा जुम्ल्याहा शिशु थिए । ०६७ फागुनमा डोटीको सायल गाउँपालिका डौड भल्माकी नारुदेवी बोगटी प्रसुति सेवा लिन मौवा स्वास्थ्यचौकी पुगिन् । पाठेघरमा एक शिशु तेर्सो बसेको थाहा लाग्यो । सिनियर अनमी यशोदा ओझाले तत्कालै उनलाई डडेलधुराको तत्कालीन टिम अस्पताल रेफर गरिन् ।

जहिल्यै रगत अभाव

टिम अस्पतालमा जुम्ल्याहा बच्चा त जन्मे । तर, रगत अभावले नारुदेवीले आमा बनेको तेस्रो दिन ज्यान गुमाउनु पर्‍यो ।


गत वर्ष आदर्श गाउँपालिका–२, दुगरालाकी सरस्वती नेपाली (नाम परिवर्तन) को अवैध गर्भपन गराउँदा अत्यधिक रक्तश्राव भई बेहोस भइन् । उपचारका लागि उनलाई जिल्ला अस्पताल डोटी पुर्‍याइयो । अस्पतालले रगतको अभाव देखाउँदै दिपायलस्थित शैलेश्वरी अस्पताल पठायो । रातको समयमा अस्पताल ल्याइएकी सरस्वतीका लागि शैलेश्वरी अस्पतालले रगत जुटाउन पहल गरे पनि समयमै फेला पारेन । अस्पतालमै राख्दा थप जोखिम हुने भएकाले उनलाई उपक्षेत्रीय अस्पताल डडेलधुरा रेफर गरियो । डडेलधुरामा पनि रगत फेला नपरेपछि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइयो । ४ वटा अस्पतालको चक्कर काटेर सेती प्रादेशिक अस्पताल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरे ।


गर्भवती मन्धरी बोगटीको प्रसुतिका क्रममा शैलेश्वरी अस्पतालमा उच्च रक्तश्रावका कारण जोखिममा फसिन् । यो माघ ३ को घटना हो । ठूलै कसरत गरी स्थानीयको सहयोगमा ४ पिन्ट रगत जम्मा गरेर अस्पतालले उनको ज्यान जोगाउन सफल भयो ।


रगत अभावका कारण जिल्लामा मृत्युवरण गर्नुपरेका धेरै घटना छन् । यस्तो अवस्था अहिले पनि यथावत छ । कतिपय उपचारकै लागि बाहिरी जिल्लामा जान बाध्य छन् । यसले बिरामीको स्वास्थ्य र आर्थिक अवस्थामा समेत असर गर्नेगरेको छ । तर, जिल्लामा रगत संकलन केन्द्र अझै बन्न सकेको छैन ।


शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले उपचारका क्रममा रगत आवश्यक परे मानवीयताका कारण आफूहरू समेत बिरामीका आफन्तसँगै भौंतारिनु परिरहेको दुखेसो पोखे । गत सातामात्रै सायल गाउँपालिका–५ की ५९ वर्षीया सकरी साउदका लागि ‘ए पोजेटिभ’ रगत नपाइँदा जिल्ला समन्वय समिति संयोजक राम बहादुर ऐर र पत्रकार किरण धामी लगायतले रगत दिएर ज्यान बचाएका थिए । यसरी विभिन्न तह र तप्काका अधिकारी तथा स्थानीयले आफ्रनो जोडबलमा रगत जुटाउँदै आए पनि बिरामीका आफन्तले छटपटिनुपर्ने क्रम रोकिएको छैन ।


विपन्न र दुर्गमबाट आएका बिरामीलाई सदरमुकाममा रगत खोज्न थप सास्ती छ । ‘बिरामीका आफन्त त्यसै पनि उपचारका क्रममा तनावमा हुन्छन्,’ २१ वर्ष दुर्गममा सेवा दिएर आएकी मौवा स्वास्थ्य चौकीकी सिनियर अनमी ओझाले भनिन्, ‘त्यसमा पनि दुर्गमबाट आएका व्यक्तिले नयाँ ठाउँमा अपरिचितसँग कसरी रगत माग्नु ? उनीहरू मर्नु न बाँच्नु सरह हुन्छन् ।’ डोटी च्याम्बर अफ कमर्सका सचिव तेज डुम्रेले कहिलेकाहीँ सामाजिक सञ्जालको प्रयोगबाट मुश्किलले रगत पाइने गरेको अनुभव सुनाए ।


सुरक्षाकर्मीको भरोसा

‘सेना, जनपद र सशस्त्र प्रहरीसंगको सहकार्यले केही राहत भएको छ,’ शैलेश्वरी अस्पतालका निर्देशक कुँवरले भने, ‘रगत चाहियो की सुरक्षाकर्मीसँग गुहार मागेर काम चलाउनु पर्ने बाध्यता छ ।’ उनले स्थानीय व्यापारी, पत्रकार, नागरिक समाज लगायतसँग सहयोग माग्नुपर्ने अवस्था रहेको समेत जनाए ।


डोटीस्थित जिल्ला अस्पताल, सुजंग अस्पताल, चोपडा अस्पतालले पनि रगत अभाव हुने बित्तिकै सुरक्षाकर्मीहरूलाई सम्झने गरेका छन् । तर, विविध कारणले रगत समूह मिल्ने व्यक्ति फेला नपर्दा वा रक्तदाता आउन ढिलो हुँदा भने अस्पतालले बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको सुजंग अस्पतालका अर्जुन बलायर बताउँछन् ।


संकलन केन्द्र सञ्चालनमा समस्या

नेपाल रेडक्रस सोसाइटी, डोटीले सिलगढीमा रगत संकलन केन्द्र स्थापनाकै लागि भवन निर्माण गरेको वर्षौं भइसकेको छ । केही उपकरण पनि छन् । तर, विविध समस्याले गर्दा रगत संकलन गर्न नसकिएको रेडक्रसका उपसभापति खडक खड्काले बताए । कर्मचारीको तलब, सीमित र सामान्य उपकरणका कारण संकलन केन्द्र पूर्णरुपमा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ‘डोटीमा तराईझैं दैनिक रगत खपत हुन्छ भन्ने होइन, केही जटिल केसका लागि आवश्यक पर्छ,’ खड्काले भने, ‘विगतमा संकलन गरिएको रगत ३५ दिनभित्र उपयोगमा नआउँदा फाल्नुपर्ने अवस्था पनि आएको छ ।’ ३५ दिनभन्दा बढी संकलन गरेर राख्न अत्याधुनिक उपकरण र सामग्री चाहिने उनले बताए ।


यद्यपि रेडक्रसले रगत संकलन केन्द्र स्थापनाका लागि पहल नगरेको आरोप स्थानीय स्तरमा उठ्दै आएको छ । डोटीमा मासिक न्यूनतम ६० देखि ७० पिन्टसम्म रगत आवश्यक हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।


रगतको अभाव हटाउन दिपायलमा नै संकलन केन्द्र स्थापनाका लागि दिपायल उपशाखाले पहल गरिरहेको डोटी रेडक्रसले जनाएको छ । शाखाका अनुसार विभिन्न स्थानीय तहसँग आर्थिक सहयोगका लागि पत्राचार भइरहेको छ । रेडक्रसले केन्द्रका लागि निर्माण गरेको भवनमा आवश्यक परेका बेला दाता खोजेर रगत उपलब्ध गराउने काम गरिरहेको छ ।


परिचयपत्र वितरण

दिपायलस्थित शैलेश्वरी अस्पतालले रगत अभाव हुन नदिन गत शुक्रबार निःशुल्क रगत परीक्षण गरी परिचयपत्र वितरण गरेको छ । स्थानीयसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी अस्पतालले परिचयपत्र वितरण गरेकालाई रक्तदानका लागि सूचीकृत समेत गरेको थियो ।


‘अस्पताल वरपर कुन व्यक्ति कुन रगत समूहको छ भनेर व्यक्तिको सम्पूर्ण जानकारी अस्पतालले राखेको छ,’ निर्देशक कुँवरले भने, ‘कसैलाई रगत चाहिने बित्तिकै समूह मिल्ने व्यक्तिलाई सम्पर्क गरेर तत्कालै रगत उपलब्ध हुने आशा गरिएको छ ।’ शुक्रबार डेढ सयभन्दा बढी रक्तदान गर्ने इच्छुक व्यक्तिको निःशुल्क रगत परीक्षण गरी परिचयपत्र वितरण गरिएको छ ।

प्रकाशित : माघ ७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?