२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेशसभामा प्रतिपक्षको आरोप : मुख्यमन्त्री शालिन, मन्त्रीहरु बेलगाम

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु भएको छ । बैठकको सुरुको दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दलका प्रमुख नेताहरुले सोमबारको बैठकमा धारणाहरु राखेका छन् । 

प्रदेशसभामा प्रतिपक्षको आरोप : मुख्यमन्त्री शालिन, मन्त्रीहरु बेलगाम

बैठकमा धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । रावलले प्रदेश सरकारले प्रदेशसभालाई आफ्नो मातहतको महाशाखाको रुपमा व्यवहार गरिरहेको आरोप लगाए । ‘संसद बैठकमा उठेका सवालहरुलाई विगतमा सरकारले कुनै वास्ता नगरेको देखिन्छ,’ रावलले भने, ‘केहि मन्त्रीहरु वेलगामाका घोडा जस्ता देखिन्छन् । मुख्यमन्त्री बढ्ता शालिन भएर यसो भएको हो कि भन्ने लाग्दैछ ।’


मन्त्रीहरुले लोकतान्त्रिक मूल्यमान्यता नाघेर काम गरेको आरोप रावलले लगाए । ‘केही मन्त्रीहरु लोकतान्त्रिक मूल्यमान्यता नाघेर काम गरिरहेका छन्’ उनले भने, ‘केही मन्त्रीहरु वेलगामका घोडा जस्ता देखिन्छन् । मुख्यमन्त्री मुकदर्शक ।’ कतिपय योजनामा आर्थिक अनियमितता दावी रावलको छ । एम्बुलेन्स र अल्ट्रासाउण्ड खरिद प्रकृयामा अनियमितता गरिएको बताउँदै उनले छानवीन गरेर दोषीलाई कारर्वाही गर्नुपर्ने बताए ।


राजपा सांसद मालमती रानाले विधेयक कार्यान्वयनको पाटो सुस्त रहेको बताइन् । उनले भनिन् ‘सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेको छैन् । सुरुका दिनमा सिक्दैछौ भनेर चित्त बुझायौं । अब त्यसो भन्ने अवस्था होइन ।’


सत्तारुढ दल नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सरकारको काम गर्ने शैली पुरानै ढर्राको देखिएको बताए । ‘सुधार गरेर लैजानु पर्छ,’ उनले भने, ‘मन्त्रालयहरुले आपसमा समन्वय गरेर काम गर्न जरुरी छ । जनतालाई सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्नुपर्छ ।’


चौथो अधिवेशनसम्म प्रदेशसभाबाट ३२ वटा विधेयक पारित भएका छन् । प्रदेशसभामा तीन वटा विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?