१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विद्युतीय हाजिरी गर्न आनाकानी

मोहन शाही

डोटी — कर्मचारीहरू तोकिएको समयभित्रै कार्यालय आउजाउ गरुन् भन्ने हेतुले यहाँका स्थानीय तह र विद्यालयमा विद्युतीय हाजिरी उपकरण जडान भएका छन् । तर, कर्मचारीकै बेवास्ताका कारण उपयोगमा ल्याउन नसकिएको जनप्रतिनिधिको गुनासो छ ।

विद्युतीय हाजिरी गर्न आनाकानी

डोटीका ९ स्थानीय तहमध्ये बडीकेदार गाउँपालिका बाहेकले हाजिरी गर्न विद्युतीय मेसिन जडान गरेका छन् । तीमध्ये ६ स्थानीय तहमा उपयोगमा आउन सकेको छैन । विद्युत सेवा नियमित नहुँदा प्रयोग गर्न नसकिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकराज पाण्डेयले बताए । केआई सिंह, आदर्श, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकाले त सामुदायिक विद्यालयमा समेत यस्ता उपकरण जडान गरेका छन् । तर, प्रयोग नहुँदा विद्यालयमा समस्या यथावत छन् ।


सायल र पूर्वीचौकी गाउँपालिकामा बिग्रेको भन्दै हाजिरी मेसिन थन्काइएको छ । पटक–पटक मर्मतका लागि निर्देशन दिए पनि कर्मचारीले आनाकानी गर्ने गरेको गाउँपालिका प्रमुखको गुनासो छ । ‘केही भनिहालौं भने कर्मचारीको विरोध गरेजस्तो हुन्छ, मर्मत गर्नुस् भन्दा पनि वास्ता गरेका छैनन्,’ सायल गाउँपालिका प्रमुख तेज डुम्रेलले भने, ‘अब नयाँ सूचना प्राविधिक आएपछि मात्र होला जस्तो छ ।’ पूर्वीचौकी गाउँपालिका प्रमुख दीर्घराज बोगटीले पनि सोही गुनासो सुनाए । पूर्वीचौकीले २ वटा विद्यालयमा पनि मेसिन जोडेको छ । बोगटान गाउँपालिकाले भने कार्यालय भवन निर्माण भइरहेकाले सञ्चालनमा ल्याउन नसकेको प्रमुख कमल गड्सिलाले जनाए ।


केआई सिंह गाउँपालिकाले कार्यालय र ७ वटा माध्यामिक विद्यालयमा हाजिरी मेसिन जडान गरे पनि उपयोगमा ल्याएको छैन । यस प्रणालीले कर्मचारीलाई नै समस्या पर्ने भएकाले उनीहरूले विभिन्न बहाना बनाएर नियमित प्रयोगमा नल्याएको स्थानीयको आरोप छ । मेसिन बिग्रियो भन्ने बहाना गर्दै शिक्षकहरूले विद्युतीय भन्दा रजिष्टरमा नियमित हाजिरी गर्ने गरेका छन् । केआई सिंह गाउँपालिका–५, रानागाउँस्थित सरस्वती माविका प्रधानाध्यापक मीन राणा भने गाउँपालिकाबाट विद्युतीय हाजिरीको अनुगमन, सुपरीवेक्षण नहुँदा जडान गरिएको मेसिन प्रयोगमा नआएको बताउँछन् । ‘कडाई गरेपछि ६ महिना विद्युतिय हाजिरी लगाइयो, तर गाउँपालिकाले सोधखोज गर्न छाडेपछि पहिलाकै जस्तो रजिष्टरमा हाजिरी गर्ने चलन फर्कियो,’ प्रअ राणाले प्रश्न गरे, ‘कुनै दिन बिग्रेर समस्या देखा पर्छ । त्यसबारे केही सिकाइएको छैन । अनि कसरी नियमित हाजिर गर्ने ?’


अनुगमन र सुपरीवेक्षणका कारण विद्युतीय हाजिरीमा कडाई गर्न नसकेपछि केआई सिंह गाउँपालिकाले अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको सूचना अधिकारी तेजबहादुर साउदले जानकारी दिए । अनलाइन प्रणाली प्रायोगमा ल्याएपछि हाजिरीबारे अनुगमन गर्न सकिने उनको भनाइ छ । जोरायल गाउँपालिकाको कार्यालयमा अनलाइन प्रणाली जडान भए पनि अन्य तहमा प्रयोगमा ल्याइएको छैन ।


दिपायल सिलगढी र शिखर नगरपालिकाले विद्युतीय हाजिरी गर्ने गरेको बताएका छन् । यसबाट सेवामा समेत सुधार आएको जनप्रतिनिधि बताउँछन् । दिपायल सिलगढी नगरपालिकाले ३ विद्यालय, ९ वडा कार्यालय र नगरपालिका कार्यालयमा यस्ता मेसिन राखेको जनाएको छ । शिखर नगरपालिकाले नगर कार्यालय र १३ वटा माविमा जडान गरेको छ । दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले सुरुका दिनमा कर्मचारीले आफैं मेसिन बिगार्ने, बेवास्ता गर्ने प्रवृति देखाए पनि अटेर गर्ने कर्मचारीको सरुवा र जिम्मेवारीविहीन बनाउने जस्ता कडाईले पछिल्लो समय सुधार आएको बताइन् । मलासीले भनिन्, ‘प्रयोगमा ल्याउन चुनौती भए पनि नियमित निगरानी र कडाईले असम्भव भने छैन ।’ शिखरका नगरप्रमुख सीताराम जोशीले यसकै आधारमा तलबभत्ता दिने व्यवस्था गरेपछि सुधार आएको बताए ।

प्रकाशित : माघ ६, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?