१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घर पाएपछि मुक्त हलिया भन्छन्- ‘नागरिक सरह भयौं’

निलो जस्ताको छाना, समान रङका २ कोठायुक्त घर र नालीसहितको ग्राभेल सडक, यहाँ ३५ घर बनाएर व्यवस्थित बस्ती नै बनाइएको छ
भवानी भट्ट

कञ्चनपुर — बिहानदेखि साँझसम्मै खेत जोत्नु, जोत्ने काम नभएको समयमा पनि साहुकै घरमा अनेकथरी काम गर्नु, तिनै साहुले दिएको मानोमुठीबाट परिवारको गुजारा चलाउनु, एक दशक अघिसम्म धनीराम लुहारको दैनिकी यस्तै थियो । सामान्य वर्षा हुँदा पनि चुहिने छाप्रोमा बास हुन्थ्यो । कहिलेकाहीँ पक्की घरमा बस्ने सपना देख्थे । तर, आफैंलाई त्यो असम्भव जस्तो लाग्थ्यो ।

घर पाएपछि मुक्त हलिया भन्छन्- ‘नागरिक सरह भयौं’

शनिबार धनिरामले असम्भव देखेको सपना सम्भव हुन पुग्यो । लुहार दम्पतीका नाममा संयुक्त जग्गाधनी पुर्जा हात लाग्यो । पक्की घरसहितको जग्गा पाउँदा उनी खुसीसँगै भावुक बने । दासताको जीवनबाट मुक्त भएपछि पुनः हलिया बसेर परिवारको गुजारा गरेका उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालबाट घरको सांँचो प्राप्त गरे ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बाग्फाँटामा मुक्त हलिया पुनर्स्थापना कार्यक्रमअन्तर्गत निर्माण भएका घर शनिबार हस्तान्तरण गरिएको हो । मुक्त हलियाका लागि ३५ घर बनाएर व्यवस्थित बस्ती नै बनाइएको छ । धनिराम र उनकी श्रीमती सीतादेवीलाई मन्त्री अर्यालले घरभित्रै प्रवेश गरी सांँचो दिएर बस्ती हस्तान्तरण गरेकी थिइन् । उनले अब आयआर्जनका कामक्रमहरू सञ्चालन गरिने बताइन् ।

‘आज म निकै खुसी छु,’ बुवाको मृत्युपछि ९ वर्षको उमेरदेखि हलिया बसेका धनीरामले भने, ‘मुक्त भएपछि पनि धेरै दु:ख पाइयो । तर, ढिलै भए पनि आफ्नै घरसमेत पाएँ ।’ उनले मुक्त भएको एक दशकपछि भए पनि मन्त्रीकै हातबाट घरको सांँचो बुझेकोमा अझ बढी खुसी मिलेको सुनाए । आफूलाई पनि अन्य नागरिक सरह महसुस भएको उनले बताए । २०६५ भदौमा सरकारले हलिया मुक्तिको घोषणा गरेपछि धनिराम दार्चुलाबाट महेन्द्रनगर झरेका हुन् ।

मुक्त हलिया परिवारकी आरती सुनारले बस्ती हस्तान्तरण कार्यक्रममै आफ्ना विगतका पीडा कवितामार्फत पोखिन् ।जोतेर हलो अर्काको खेत गुजारा गरियो पुग्थेन खान उधारो माग्दै शरण परियो थिएन तिर्ने उपाय कुनै त्यही ऋणले चुलियो हलिया बन्न बाध्यता भयो त्यसैमा भुलियो ।


‘पुर्खादेखि दास भएका हामीले अब आफ्नै जमिन र घर पाएका छौं,’ आरतीले भनिन्, ‘यसले विगतको पीडा र संघर्ष बिर्साएको छ ।’ उनका श्रीमान् रमेश सुनार १५ वर्षसम्म कञ्चनपुरकै शुक्लाफाँंटा नगरपालिकामा हलिया बसेका थिए । ४ वर्षअघि श्रीमान्‌को मृत्युपछि घरपरिवारको जिम्मेवारी उनकै कांँधमा छ ।

उक्त बस्ती छिर्दा देखिन्छ, निलो रङको जस्ताको छाना । माथिल्लो भागमा सेतो र तल्लो भागमा रातो रङले पोतिएको । एक बरण्डा र २ कोठा भएका एउटै आकारका एकनासका घरहरू । बीचमा ग्राभेल सडक । दुवैतिर नाली पनि ।

मुक्त हलियाको परिवार पुनर्स्थापनाका लागि निर्माण गरिएको यो नै पहिलो व्यवस्थित बस्ती हो । भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँगै हृयाबिट्याट फर हृयुम्यानिटी नामक गैरसरकारी संस्थाको सहयोगमा जमिन खरिद गरी घर निर्माण गरिएको हो । यहाँका प्रत्येक घर ९ धुर जग्गामा बनाइएको छ । जग्गा खरिदका लागि जनही २ लाख र घर निर्माणका लागि २ लाख २५ हजार रुपैयाँ मन्त्रालयबाट निकासा भएको हो । अपुग रकम हृयाबिट्याट फर हृयुम्यानिटी र भीमदत्त नगरपालिकाले समेत सहयोग गरेको छ । बस्ती निर्माणका डेढ करोड बढी खर्च भएको छ ।

कञ्चनपुरमा मात्रै मुक्त हलिया पुनर्स्थापनाका लागि विभिन्न ९ ठाउँमा व्यवस्थित बस्ती निर्माणको काम भइरहेको छ । भीमदत्त नगरपालिकाकै तिलकेनी, बारकुण्डा र शुक्लाफांँटा नगरपालिकाको पिपलाडी लगायत क्षेत्रमा बस्ती बनाउने काम अघि बढेको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए । उनका अनुसार मुक्त हलिया रहेका १२ जिल्लामध्ये बग्फाँंटाको बस्ती हस्तान्तरण भएको पहिलो बस्ती हो ।


कञ्चनपुरमा सुरुमा तथ्यांक संकलन गरिएका २ हजार ५ सय १६ मध्ये १ हजार ९ सय ९१ मुक्त हलिया परिवारले मात्रै परिचयपत्र पाएका छन् । तिमध्ये १ हजार ७ सय ८५ को पुनर्स्थापना भइसकेको छ । पुनर्स्थापना भएका बस्तीमा अहिले पनि निर्माण कार्य चलिरहेको छ । पुनर्स्थापना हुन बांँकी परिवारको लगतसहित बजेटसमेत स्थानीय तहमा निकासा भइसकेको छ । व्यवस्थित बस्ती हस्तान्तरणसँगै मुक्त हलियाका लागि रोजगारी तथा आयआर्जनका पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने हलिया मुक्ति आन्दोलनका अगुवाहरू बताउँछन् ।

मुक्त हलियाहरूलाई विभिन्न किसिमका सीपमुलक तालिम लगायत व्यवसाय सञ्चालनका लागि सहयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘व्यवस्थित बस्तीले मात्रै पुग्दैन, अब उनीहरूको आयआर्जनमा जोड दिनुपर्छ,’ पूर्व संविधानसभा सदस्यसमेत रहेका मुक्त हलिया पुनर्स्थापना कार्यदलका संयोजक हरि श्रीपाइलीले भने, ‘यसका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले विशेष योजनाहरू ल्याउनुपर्छ ।’

प्रकाशित : माघ ६, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?