कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विष हाल्दा घट्यो माछा

सेती किनारका दिपायल, बानेडुंग्रीसैन, तलारा, कालागाढ, सिरखोलीसैन, सातर गहनान लगायत क्षेत्रका स्थानीय माछा बिक्रीबाट आर्थिक उपार्जन गर्छन्
मोहन शाही

डोटी — नारीदांग डोटी र अछामको सिमानामा पर्छ । यो डोटीको पूर्वीचौकी, केआई सिंह, दिपायल सिलगढी र अछाम चौरपाटीको केन्द्रबिन्दु पनि हो । माघको कठ्यांग्रिदो जाडोमा पनि स्कुले बालबालिकाको समूह यही ठाउँ भएर बग्ने सेती नदीमा भेटिन्छन् । दिपायल सिलगढी नगरपालिका–८ स्थित चौखान माविमा पढ्ने उनीहरूका हातमा बल्छी, जाल र पासो देखिन्छ । माछा मार्न बिहानै सेती पस्नु उनीहरूको दैनिकी बनिसकेको छ ।

विष हाल्दा घट्यो माछा

नदी पारिको बरकुडाका बाले भुल माछा संकलन गर्न नदी छेउछाउ धाउँछन् । जम्मा गरेको माछा सुकाएर पसलमा राख्छन् । तिखात्तर, दिपायल, सिलगढीमा पनि बिक्रिका लागि पठाउँछन् ।

सेती किनारमा रहेका दिपायल, बानेडुंग्रीसैन, तलारा, कालागाढ, सिरखोलीसैन, सातर गहनान लगायत अधिकांश क्षेत्रमा माछा मारेको दृश्य सामान्य लाग्छ । स्कुले विद्यार्थी माछा मार्छन् भने स्थानीय व्यापारीले संकलन । कक्षा ६ मा पढ्ने विक्रम नेपाली तिनै विद्यार्थीमध्येका एक हुन् । उनी गत शुक्रबार नारिदांगस्थित सेती किनारमा माछा मारेर फर्किंदै गरेको अवस्थामा झोलुंगे पुलमा साथीहरूसँगै भेटिए । उनले अत्यधिक चिसो बढेकाले धेरै माछा मात्र मार्न नसकेको बताए । ‘आज मारेका माछाको २ सय जतिमात्र कमाई भयो,’ उनले निरास हुँदै भने, ‘दुःख गरी पासो थापेको मर्दै मरेनन् ।’ शुक्रबार अपेक्षाकृत माछा नमर्दा निराश हुने विक्रजस्ता धेरै भेटिए ।

चौखान माविका अधिकांश दलित विद्यार्थीको मुख्य आयस्रोत भनेकै माछा हो । विद्यालय छुट्टी हुनेबित्तिकै उनीहरू सेती किनार पुग्छन् । माछा मर्नसक्ने सम्भावित ठाउँ खोजेर पासो, बल्छी थापेर घर फर्कन्छन् । कक्षा ८ मा पढ्ने भक्त विकले भने, ‘दोस्रो दिन बिहानै पासोमा फसेका माछा झिक्न आउनुपर्छ ।’

'हेर्दाहेर्दै सिकियो'

हिउँदेयाममा नदी आसपासका बस्तीको वातावरण फरक लाग्छ । माछा मार्ने र तथा बिक्री गर्नेको चहलपहलले सुनसान गाउँका होटल तथा चिया पसलमा छुट्टै माहोल बन्छ । ‘एकै टोलका २०/२५ जनासम्म हुने भएकाले कसले कति मार्‍यो, कुन खालको माछा मार्‍यो भनेर बिहानै नदीमा हल्लाखल्ला हुन्छ,’ कक्षा ७ मा पढ्ने भक्का नेपालीले भने, ‘माछा मार्दा कोही निराश हुन्छन्, कोही खुसी ।’ झट्ट हेर्दा माछा उनीहरूको आर्थिक उपार्जनको आधार हो जस्तो लाग्छ । तर, माछासॅगै भिजेको उनीहरूको दैनिकीबारे भने धेरैले चासो राख्दैनन् ।

नदी किनारका बस्तीको जनजीवन माछासँग जोडिएकै हुन्छ । विक्रमका बुवा प्रकाश नेपाली बालबालिकालाई माछा मार्ने तरिका सिकाउनै नपर्ने बताउँछन् । ठूला मान्छेले माछा मारेको हेर्दाहेर्दै उनीहरू पोख्त हुनेगरेको उनको भनाइ छ । ‘मैले विक्रमलाई कहिल्यै माछा मार्न सिकाएन, न कहिल्यै नदीमा पौडी खेल्न,’ उनले भने, ‘हामीलाई पनि कसैले सिकाएको होइन, बाउबाजेले माछा मारेको हेर्दाहेर्दै सिकियो ।’

नदी किनारमै महँगो

डोटीको सबैभन्दा बढी माछा पाइने स्थानरुपमा नारीदांगलाई चिनिन्छ । नदी छेउका बस्तीमा गएर माछा किनेमा सस्तो हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, यहाँ ठिक उल्टो छ । नारीदांगभन्दा दिपायलमा सस्तोमा माछा किन्न पाइन्छ । दिपायलमा किलोका दरले माछा बेचिन्छ । ग्रामिण क्षेत्रमा छिडी (सुकाएको माछा उनेर राखिएको काठ वा बाँसको सिन्का) का हिसाबले बिक्री हुन्छ । नदी किनारमा माछा किनबेचका लागि पहिल्यै मूल्य निर्धारण भई व्यापारीले लिने हुँदा बाहिरबाट आएकाले सहजै माछा पाउँदैनन् । किन्न पाइहालेमा महँगो मूल्य तिर्नुपर्ने स्थानीय दिपेन्द्र माझी बताउँछन् ।

यहाँ माछालाई छिडी बनाएर बिक्री गर्ने चलन छ । सामान्यतया एउटा छिडीमा ३ वटा माछा उनिएका हुन्छन् । ठूलो माछा भए ६ टुक्रा र सानो भए ३ टुक्रा बनाएर बेच्ने गरिएको माझीले बताए। बजारमा प्रतिछिडी माछाको ५० देखि ७० रुपैयाँसम्म बिक्री हुने गरेको छ । खुला रूपमा नारीदांगमा प्रतिकेजी कम्तीमा ७ सय र दिपायलमा ६ सय रुपैयाँमा पाइन्छ ।

कस्ता माछा पाइन्छ ?

दिपायल सिलगढी नगरपालिका–३ का नवराज पनेरुले सेतीमा सयभन्दा बढी थरीका माछा पाइने दाबी गरे । यहाँ सहर, असला, गौडा, सट्टा, क्लज, भोटे, टोट्या, पोगो, गुज, जल खबर, गैंड, चियुँ, खोल्या, सुइल, पाँपो, कडिंगा, कठ्याल, बाम, तुतुरो लगायत माछा भेटिने उनले जानकारी दिए । स्वादिष्ट र पौष्टकतत्व बढी हुने मानिने सहर, असला जस्ता माछाहरू लोप हुँदै गएको

शिखर नगरपालिका कालागाढका राम बहादुर कार्कीले बताए ।

बल्छीदेखि विषसम्मको प्रयोग

सेतीलाई माछाका लागि नेपालकै उपयुक्त नदी मानिन्छ । र्‍याफ्टिङ गर्दागर्दै माछा मार्न मिल्ने पोखरा र काठमाडौका ट्रेकिङ तथा पर्यटन क्षेत्रका कम्पनीले पर्यटकलाई सेतीमा ल्याउने गरेका छन् । स्थानीयले भने अहिले पनि परम्परागतरुपमै माछा मारिरहेका छन् । उनीहरू पासो, बल्छी, महाजाल, सोला (विष्फोटक पदार्थ) लगायतको प्रयोग गर्छन् ।

कक्षा १० का विद्यार्थी नारद नेपाली बाउबाजेको पालादेखि पासो र बल्छीमै माछा मार्ने गरिएको अनुभव सुनाउँछन् । ‘प्राकृतिक रुपमा माछा मार्नुपर्छ नत्र अनिष्ट हुन्छ भन्ने मान्यता छ,’ नारदले भने, ‘पूर्खादेखि त्यही भयो, त्यही जारी रहन्छ ।’

नदीको वारपार ढुंगामा धागो च्यापेर ठाउँ–ठाउँमा सुर्कने गाँठोमा फसाउने विधिलाई स्थानीयहरू पासो थाप्ने भन्छन् । पासोमा एकै दिन १५/२० किलोसम्म माछा पर्नसक्ने उनको भनाइ छ । बल्छीमा भने एउटा माछा मात्र फस्ने गर्छ । प्लास्टिकको बलियो धागोमा बाँधेको फलामको काँडामा खानेकुरा राखी माछा मार्ने विधिलाई बल्छी भनिन्छ । महाजाल भने विशेष सिप भएको व्यक्तिले मात्र प्रयोग गर्नसक्छन् । गहिरो तथा समथर ठाउँमा जाली भएको महाजाल फ्याँकेर माछा सोहर्ने गरिन्छ । पछिल्लो समय यस्ता महाजाल भारतीय तथा मधेसी समुदायले बढी प्रयोग गर्ने गर्छन् ।

स्थानीय बाहेकले सेतीमा बम पड्काएर, करेन्ट लगाएर तथा विष हालेर पनि माछा मार्ने गर्छन् । यसले माछाको संख्या घट्दै गएको स्थानीय बताउँछन् ।

माछा मार्ने उपयुक्त समय

दिपायलका गोपाल सुचीकारका अनुसार माछा मार्ने उपयुक्त महिना पुस हो । पुसमा घाम लाग्यो भने स्वादिला माछा बढी मार्न सकिने उनको अनुभव छ । तर, मौसम परिवर्तनसंँगै माघ महिनासम्म पनि घाम नलाग्ने भएकाले माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म बढी उपयुक्त हुने गरेको केआईसिंह गाउँपालिका–२ का बाले भुलले सुनाए । ‘बादल लागेको बेला, पानी परेका बेला र नदी धमिलो हुँदा माछा मर्दैनन्,’ भुलले भने, ‘त्यसका लागि नदीको गहिरो, एकान्त ठाउँ खोज्नुपर्छ ।’

प्रकाशित : माघ ५, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?