कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्ट कक्षाले सिकाइ सहज

मोहन शाही

(डोटी) — विद्यार्थीहरू गणित विषय उत्सुकताका साथ पढ्दै थिए । कक्षा ७ मा अध्ययनरत उनीहरूका अघि किताबकापी थिएन, कम्प्युटर थियो । डोटीको लडागडास्थित सुनादेवी माध्यमिक विद्यालयका शिक्षक भक्तबहादुर कठायतले पनि विगतजस्तो चक, डस्टर, बोर्ड र मार्कर प्रयोग गरेनन् । बरु प्रोजेक्टरमार्फत् विद्यार्थीलाई ‘समूह’ शीर्षकमा ज्ञान बाँड्ने प्रयास गरे ।

स्मार्ट कक्षाले सिकाइ सहज

विद्यार्थीहरू प्रोजेक्टरमा देखाएको सामग्रीबारे कम्प्युटरमा हेर्दै गणितीय सुत्रमा समूहका सदस्यलाई वर्गीकरण गर्ने तरिका सिकिरहेका थिए । डेढ महिनायता आफुहरू कम्प्युटरमा अध्ययन गरिरहेकाले पहिलेभन्दा राम्रो बुझाई हुन थालेको कक्षा ७ की सिमा कठायतले बताइन् ।


१० कक्षामा अध्ययनरत विद्यार्थी विज्ञान प्रयोगशालामा व्यस्त थिए । उनीहरू शिक्षक गणेशबहादुर रोकायाले कार्बनडाइअक्साइड बनाउन गरिरहेको प्रयोगात्मक कृयाकलाप हेरिरहेका थिए । चुनढुंगा र हाइड्रोक्लोरिक एसिडबाट कार्वनडाइअक्साइड बनाउनेबारे प्रत्यक्ष प्रयोगबाटै सिक्न पाएकोमा उनीहरू खुसी व्यक्त गरिरहेका थिए । कक्षा ८ का विद्यार्थी केही फरक माहोलमा थिए । उनीहरू विद्यालयको पुरानो भवनको माथिल्लो तलामा रहेको पुस्तकालयमा भेटिए ।


आफूलाई पढ्न रुची लागेका पाठ्यक्रम बाहिरका पुस्तक झिकेर पढ्दै थिए । विद्यालयमा देखिएको शैक्षिक वातावरणले पछिल्लो समय सुनादेवी माविमा विद्यार्थी र अभिभावक दुवै सन्तुष्ट देखिन्छन् । नमूना बनाउन स्मार्ट कक्षा सञ्चालन गरिएपछि विद्यालयको पठनपाठनमा समेत उल्लेख्य सुधार आएको छ । दिपायल सिलगढी नगरपालिका–८, लडागडास्थित सुनादेवीमा देखिएको यो दृष्य त्यही वडाको चौखान मावि र पूर्वीचौकी गाउँपालिका–७, पोखरीमा रहेको मष्टामाण्डौ माविमा पनि देख्न पाइन्छ ।


यी तीनवटै विद्यालयलाई नमूना बनाउन विभिन्न कृयाकलाप सञ्चालन गरिँदै आएको छ । कम्प्युटर ल्याब, पुस्तकालयदेखि व्यवस्थित विज्ञान प्रयोगशालाले विद्यार्थीको सिकाईमा सहयोग पुग्ने मष्टामाण्डौ माविका निमित्त प्रधानाध्यापक राजबहादुर बडैलाले बताए । यस विद्यालयमा झण्डै २ हजार पुस्तक राखिएको पुस्तकालय छ ।


‘एसइईको तयारी अनलाइनबाट विद्यालयमै गर्ने गरेका छौं,’ मष्टामाण्डौ माविमा कक्षा १० मा पढ्ने त्रिलोचन बडैलाले भने, ‘श्रव्यदृष्य सामग्रीहरू देखिने भएकाले हामीलाई किताबभन्दा बुझ्न सहज भएको छ ।’


स्मार्ट कक्षाकोठा भनेको सामान्यरूपमा कम्प्युटर ल्याबको स्थापना गर्नु भन्ने मात्र नभई सूचनाप्रविधिका साधनको प्रयोगमार्फत विद्यार्थी र शिक्षकलाई सिक्ने र सिकाउने अवसर दिनु रहेको सामुदायिक विकास केन्द्र, डोटीका अध्यक्ष हेमराज जोशी बताउँछन् । केन्द्रले गुड नेवर्स इन्टरनेसनल नेपालको सहयोगमा डोटीका ३ विद्यालयमा स्मार्ट कक्षा सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।


सामुदायिक विकास परियोजनामा कार्यरत शिक्षा विकास अधिकृत एकराज बडुले स्मार्ट कक्षा कोठा व्यवस्थापन राम्रो नतिजा ल्याउन उपयोगी रहेको धारणा राखे । जिल्लामा शैक्षिक गुणस्तरका हिसाबले कमजोर मानिएका यी तीनवटै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्न स्थानीय तहले पनि लगानी गरिरहेका छन् ।


‘कम्प्युटर, पाठ्यसामग्री र पुस्तकको उपलब्धता तथा शिक्षकलाई दक्ष बनाउन दिइने तालिममा सामुदायिक विकास केन्द्रको सहयोगले निकै राहत पुगेको छ,’ पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने, ‘गाउँपालिकाले पनि उहाँहरूको अवधारणामा योजना बनाएर लगानी गरिरहेको छ ।’ स्मार्ट कक्षाकोठाको अवधारणाले केही वर्षभित्र राम्रो नतिजा ल्याउने उनको भनाइ छ ।


प्रकाशित : माघ ४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?