कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

घरमै सुत्केरी हुने अधिक

तृप्ति शाही

बैतडी — ग्रामीण क्षेत्रमा धेरै गर्भवती महिला अझै पनि घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । यसरी सुत्केरी गराइँदा गर्भवतीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा पनि घरमै सुत्केरी गराउनेको संख्या उच्च छ ।

घरमै सुत्केरी हुने अधिक

यस नगरमा आर्थिक वर्ष ०७४/७५ मा ३५ जना घरमै सुत्केरी भएका थिए । गत आवमा यो संख्या बढेर ४० पुगेको थियो । चालु आवको पहिलो ६ महिनामा १३ जनाभन्दा बढीले घरमै बच्चा जन्माएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रमानन्द भट्टले बताए ।


सुर्नया गाउँपालिकामा ३ वर्षको अवधिमा ४१ जनाले घरमै बच्चा जन्माएका स्वास्थ्य संयोजक रामसिंह महराले बताए । भौगोलिक विकटताका कारण गर्भवतीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन असजिलो हुने भएकाले घरमै सुत्केरी गराउने चलन कायमै रहेको उनले सुनाए । केही समय अघिसम्म सुर्नयाका सबै वडामा बर्थिङ सेन्टर नभएकाले समस्या रहेको उनको भनाइ छ । ८ वडा रहेको पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताउँदै उनले भने, ‘अब घरमै सुत्केरी हुने संख्यामा कमी आउनेछ । पालिकालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारीमा लागेका छौं ।’

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिकामा पनि घरमै सुत्केरी हुनेको संख्या अधिक रहेको स्वास्थ्य संयोजक भट्टले जानकारी दिए । यातायात सेवाको पहुँच नभएका टोलबस्तीमा यस्तो समस्या रहेको उनको भनाइ छ । जनचेतनाको कमीले पनि प्रभाव पारेको महराले बताए । पालिकामा स्वास्थ्यकर्मी अपुग रहेको बताउँदै उनले भने, ‘स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष महिला स्वास्थ्यकर्मीको पनि अभाव छ । एसबीए तालिम लिएका

महिला स्वास्थ्यकर्मीको संख्या पनि कम छ ।’


यस्तै, पाटन नगरपालिकामा ५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको तथ्यांक छ । विकटमा सहज सडक पहुँच नहुनुले यस्तो अवस्था कायम रहेको तर्क गर्छन् पाटन नगरपालिकाका स्वास्थ्य संयोजक महरा । उनका अनुसार कतिपय स्वास्थ्य संस्थामा सवारीसाधन जानसक्ने अवस्था छैन । शिवनाथ गाउँपालिका–२ स्थित शर्माली स्वास्थ्य चौकीमा पछिल्लो एक वर्षमा १९ गर्भवती घरमै सुत्केरी भए । पालिकाभर यो संख्या धेरै छ । स्वास्थ्य संस्थामा सुत्केरी गराए प्रोत्साहन भत्ता दिने नियम भए पनि उनीहरूले सो रकम समयमा पाउँदैनन् ।

शर्माली स्वास्थ्य चौकीकी अनमी कृष्णा चौधरीले सुत्केरी व्यथा लाग्यो भने दुखाइ कम हुन्छ भन्दै धामी, झाँक्रीकोमा लैजाने चलन कायमै भएकाले चुनौतीपूर्ण अवस्था रहेको बताइन् । घरमै सुत्केरी गराउँदा आमा र बच्चालाई संक्रमण हुनेजस्ता गम्भीर समस्या आउने गरेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. वसन्तराज जोशीको भनाइ छ ।

प्रकाशित : माघ २, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?