पुस्तौंदेखि फिरन्ते व्यापार

भवानी भट्ट

कञ्चनपुर — पिठ्युँमा कपडाको भारी । घर घर चहार्दै हिँड्ने । दिनभरि गाउँ डुलेर साँझ डेरामा फर्किने । फर्किंदा कपडाको भारी कहिले घटेको हुन्छ, कहिले जस्ताको त्यस्तै । करिब एक दशकदेखि जुम्ला सिंँजाका रतनसिंह बोहोरा यस्तै काममा छन् । उनी अरुबेला भन्दा पनि हिउँदमा न्याना खालका लुगाकपडा बोकेर बिक्री गर्न गाउँ चहार्दै हिँड्‌ने गर्छन् । त्यसैबाट घर परिवारको गुजारा चलाउँदै आएका छन् ।

पुस्तौंदेखि फिरन्ते व्यापार

मंसिरमा घरबाट निस्कने उनको फिरन्ते व्यापार फागुनसम्म चल्छ । काठमाडौं र भारतका विभिन्न ठाउँबाट तन्ना, कम्बल, ब्ल्यांकेट र फाइबर आदिका कपडाहरू ल्याएर उनी गाउँगाउँमा बिक्री गर्छन् । घरमै छानीछानी किन्न पाउने भएकाले ग्राहक पनि खुसी हुन्छन् । ‘सानैदेखि यही पेसामा लागेँ, अहिले पनि यसमै छु,’ आइतबार बिहान कञ्चनपुरको गड्डाचौकी क्षेत्रमा कपडा बेच्दै हिँडेका बोहराले भने, ‘तीन/चार महिना डुलेर घर खर्च चलाउन ठिक्क हुन्छ ।’ उनका अनुसार मंसिरमा घर छाडेर हिँडेपछि फागुनमा फर्किंदा एक/डेढ लाखसम्म बचत हुन्छ । यसैले घर परिवारको खर्च चलाउने गरेको उनले बताए ।


पुस/माघको कठ्यांग्रिदो चिसो । अनि शीतलहरले बाहिर निस्कनै नसकिने हुन्छ । हुस्सुले आंँखै अगाडि पनि देख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा पनि न्यानो खालका लुगा कपडा बिक्री गर्नेहरू घरघरै पुगिरहेका हुन्छन् । उनीहरू एक ठाउँमा डेरा बनाएर त्यसैको वरिपरिको बस्तीमा घुम्ने गर्छन् । बिहान झिसमिसेमै खाना खाएर निस्कने उनीहरू साँझ अबेर मात्रै डेरामा फर्किन्छन् । कतिपयले त खाना पनि डुल्ने क्रममै खान्छन् ।


‘हाम्रो र बुवाबाजेका पालादेखि यस्तै पेसा व्यवसाय चलेको छ,’ कालिकोटको पताला गाउँपालिका–५ का ५२ वर्षीय गौरीदत्त जोशीले भने, ‘हिउँदमा मात्रै हो हाम्रो कारोबार चल्ने ।’ उनका अनुसार बुवा बाजेका पालामा उनी कपडाहरू बिक्री हुन्थे । कतिपयले तिब्बतबाट समेत ल्याएर बिक्री गर्थे । तर अहिले त्यो चलन छैन । फाइबरका कपडाहरूको चलनचल्ती बढी भयो । यसबाहेक ब्ल्यांकेटको माग पनि बढी छ । त्यही भएर उनी पनि काठमाडौं र भारतको हरियाणा राज्यको पानीपतबाट कपडा ल्याएर यहाँ बिक्री गर्छन् ।


जोशीले करिब दुई दशकसम्म भारतको बद्रीनाथ, केदारनाथ र श्रीनगर लगायतका क्षेत्रमा यस्तै व्यवसाय गरेका थिए । त्यहांँ त उनी बाह्रै महिना यस्तो काम गर्थे । नेपाल फर्केपछि पनि उनले यही कामलाई निरन्तरता दिएका छन् । जोशीकै सहयात्री छन् उनकै छिमेकी ५५ वर्षीय जयप्रसाद भण्डारी । उनलाई भने नेपालमै यो पेशा गर्न लागेको १५ वर्ष भयो । साथीभाइसँगै यो काममा लागेका उनलाई अहिले भने अम्मल नै भएको छ । उनी पनि कात्तिकतिर काठमाडौं र पानीपत पुग्छन् । त्यहाँबाट ल्याएको कपडा महेन्द्रनगर आसपासका गाउंँमा विक्री गर्न निस्कन्छन् । फागुनअगावै कपडा बिक्री गर्न सक्यो भने फेरि ल्याउँछन् ।


हिउँद सुरु भएपछि हुम्ला, जुम्ला, मुगु र कालीकोटलगायतका जिल्लाबाट यसरी फिरन्ते व्यापार गर्नेहरू कपडा बोकेर गाउँ/गाउँमा पुग्ने गर्छन् । कञ्चनपुरमा मात्रै सयभन्दा बढीले यसरी व्यापार गरिरहेका छन् । पछिल्लो समय ग्रामीण भेगमा पनि बजारहरू विस्तार हुन थालेपछि फिरन्ते व्यापार घट्दो अवस्थामा छ । एक दशक अघिसम्म पनि एक सिजनमा एक व्यापारीले ५/६ लाख सम्म बचत गर्थे । कपडा पनि धेरै बिक्री हुन्थे । तर अहिले कपडा पनि खासै बिक्री हुँदैनन् । बचत पनि एक/डेढ लाख मात्रै हुन्छ । त्यही भएर अबको पुस्ताले फिरन्ते व्यापार छाड्दै गएको भण्डारीले बताए ।

प्रकाशित : माघ १, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?