कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समायोजनले स्वास्थ्य सेवा प्रभावित

दुर्गममा नजाने, गए पनि लामो समय बस्न नचाहने र मागअनुसार स्वास्थ्यकर्मी पूर्ति नहुँदा समस्या
मेनुका ढुंगाना

काठमाडौँ — अछामका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । जिल्लामा ८७ स्वास्थ्य संस्था छन् । कर्मचारी समायोजनका कारण धेरैले तराईका जिल्ला रोजेपछि यहाँ स्वास्थ्यकर्मीको अभाव भएर उपचारसमेत प्रभावित हुन थालेको हो ।

समायोजनले स्वास्थ्य सेवा प्रभावित

स्वास्थ्य चौकीमा १ जना हेल्थ असिस्टेन्ट (एचए), २ अहेब, २ अनमी र १ जना कार्यालय सहयोगीको दरबन्दी हुन्छ । तर, कर्मचारी समायोजनका कारण अन्यत्र सरुवा भएर जाने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनालले बताए । ‘स्वास्थ्य चौकीमा अहिलेसम्म स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति भए पनि समायोजनका कारण बाहिर जाने बढी देखिए,’ उनले भने, ‘दुर्गमका स्थानीय तह कर्मचारीको रोजाइमा परेका छैनन् ।’


तुर्माखाँद गाउँपालिकाका ७ स्वास्थ्य चौकीमध्ये ३ वटामा मात्रै एचए कार्यरत छन् । अन्यको समायोजन भएर सरुवा भएपछि स्वास्थ्य चौकीमा एचएको दरबन्दी खाली भएको तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्प शर्माले बताए । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा दरबन्दी बमोजिमका स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले भनेको समयमा उपचार पाउन सकेका छैनन् । दुर्गमका स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले बिरामी जाँच्ने र औषधि दिने गरेका स्थानीय बताउँछन् । केही कार्यालय भने बन्द जस्तै छन् ।


अछामबासी सामान्य उपचारका लागि पनि धनगढी, नेपालगञ्ज, काठमाडौं तथा विभिन्न भारतीय सहर जाने गरेका छन् । स्वास्थ्य चौकी खोल्नेसमेत कर्मचारी नहुँदा उपचार पाउने अधिकारबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । जिल्लामा आएका स्वास्थ्यकर्मी दुर्गम भेगमा नजाने, गए पनि लामो समय बस्न नचाहने र मागअनुसार स्वास्थ्यकर्मी पूर्ति नभएकाले जिल्लाको स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको छ । ‘दुर्गम भएकाले अछाममा कर्मचारी सरुवा भएर आउन मान्दैनन् । आए पनि धेरै समय बस्दैनन्,’ ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले भनिन् ।


स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा रिक्त दरबन्दी पूर्ति हुन सकेको छैन । भएका कर्मचारी समायोजनमा अन्त गएकाले स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले बताए । ‘कर्मचारी समायोजनपछि समस्या धेरै थपिएको छ ।


जिल्लामा स्थायी दरबन्दीका १ सय ३२ जना स्वास्थ्यका कर्मचारी छैनन्,’ उनले भने, ‘दुर्गममा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा गए । स्वास्थ्य संस्थामा कर्मचारी छैनन् ।’


दरबन्दी बमोजिमका कर्मचारी नहुँदा कुनै संस्थामा एकमात्र स्वास्थ्यकर्मीले सेवा दिनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकल सुपरटेन्डेन्ट पद नै रिक्त अवस्थामा रहेको र मेडिकल अफिसरसमेत सरुवा भएर गएपछि स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।


चौरपाटी गाउँपालिकाका स्वास्थ्य चौकीमा ९ स्वास्थ्यकर्मीको पद खाली रहेको स्वास्थ्य शाखा संयोजक कमल साउदले बताए । ढकारी गाउँपालिकामा ९ तथा कमलबजार नगरपालिकाका ३ स्वास्थ्य चौकीमा समेत दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् ।


साँफेबगर नगरपालिकामा १२ स्वास्थ्यकर्मी कम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरत खड्काले बताए । ‘दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा निकै अप्ठेरो छ । स्वास्थ्य संस्थाले दैनिक दिने सेवा दिनसकेको छैन,’ उनले भने, ‘स्थानीय तह गठन भएपछि स्वास्थ्य क्षेत्रमा झन् समस्या थपिएको छ । औषधि खरिद गर्न र आपूर्ति गर्न समेत सहज छैन ।’

प्रकाशित : पुस २९, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?