हिउँ पन्छाउन डोजर चलाइँदा सडकमा क्षति

‘हिमपातपछि सडक सफा गर्न प्रयोग हुने हेभी इक्युपमेन्टले बर्सेनि जति क्षति पुर्‍याउँछ, त्यसको मर्मतमा आवश्यक रकमले अहिलेसम्म हिउँ सफा गर्ने दर्जनौं मेसिन खरिद हुनसक्थ्यो’
डीआर पन्त

डडेलधुरा — डडेलधुरा जोड्‌ने भीमदत्त राजमार्गको गोगनपानीदेखि अगाडि लाग्ने हो भने सडकको दुरावस्था सुरु हुन्छ । खाल्डाखुल्डी, पहिरो र पटक–पटक मर्मतका नाममा औपचारिकता पूरा गरिएको कामले सडकको स्वरुप नै बिग्रिएको देख्न सकिन्छ ।

हिउँ पन्छाउन डोजर चलाइँदा सडकमा क्षति

सडकको दुरावस्थाले साना यात्रुबाहक र दुईपांग्रे सवारीका लागि यात्रा जोखिमयुक्त बनेको छ । हिमपातका कारण हरेक वर्ष अवरुद्ध हुने र हिउँ सफा गर्न प्रयोग हुने उपकरण, खासगरी डोजरका कारण पनि भीमदत्त राजमार्गको अवस्था बिग्रिएको हो । यसको सुधारका लागि काम नभएको भने होइन । सडक विभागले मर्मतका नाममा बर्सेनि करोडौं खर्च गरेको जनाउँदै आएको छ । तर, सुधार भएको प्रायः देखिँदैन ।


सुदूरका ७ पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्गको ५५ किलोमिटर क्षेत्र हरेक वर्ष हिउँले ढाकिन्छ । हिमपातपछि कम्तिमा दुई/तीन दिनदेखि एक सातासम्मै विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुन्छ । हजारौं यात्रु र साधन सडकमा अलपत्र पर्छन् । प्रशासनको पहलपछि सडक विभागले एक्स्काभेटर र डोजर जस्ता ठूला साधन प्रयोग गरेर हिउँ सफा गर्छ ।


यस्ता साधनको प्रयोग गर्दा सडकको सतहमा क्षति पुग्छ । कतै कालोपत्रे उप्किन्छ त कतै खाल्डाखुल्डी बन्ने गर्छन् । छेउछाउको जमिन भासिनेसम्मको अवस्था आउँछ । यिनै खाल्डाखुल्डी पुर्न वर्षेनी सरकारले करोडौंमा ठेक्का दिन्छ । काम नसकिँदै पुनः हिमपातको समय आइपुग्छ र सडक फेरि पुरानै अवस्थामा फर्किने गरेको छ । खाल्डाखुल्डी पुर्न राजमार्गको गोगनपानीदेखि डडेलधुरासम्मको सडक टालिएको सहजै देखिन्छ ।


सबैभन्दा बढी हिमपात हुने हगुल्टे, घन्टेश्वर, साहुखर्क, भात्काँडा र बैतडी जोड्‌ने दशरथ चन्द राजमार्गको भालुमारे, अनारखोली र खोडपे खण्डको दुर्दशा जहिल्यै उस्तै हुन्छ । ठूला सडक दुर्घटना पनि यिनै खण्डमा बढी हुने गरेको तथ्यांकले देखाउँछ । गत वर्ष सडक मर्मतका नाममा विभागले ४ करोड रुपैयाँ बढी खर्च गरेर ठाउँ–ठाउँमा टालेको भाग यसपटक हिमपात नहुँदै उप्किसकेको थियो । भारी हिमपातपछि सडकको अवस्था थप जर्जर बनेको छ ।


हिउँ पर्ने, सडक बिग्रने, ठेक्कापट्टा हुने र मर्मत नसकिँदै पुनः सडक बिग्रने सिलसिला वर्षौंदेखि चल्दै आएको छ । तर, सरकारले यसको स्थायी समाधान खोज्ने पहल गर्न सकेको छैन । ०४६ सालको राजनैतिक परिवर्तनपछि सडक स्तरीय बनाइएको हो । तराई–पहाड जोड्‌ने एकमात्र राजमार्गमा बर्सेनि हिमपातले पुर्‍याउने क्षति कम गर्न किन कुनै पहल हुन सकेन ? विभागका अधिकारीसँग यसको कुनै जवाफ छैन । हिमपातले मात्र नभई महाभारत पर्वत शृंखलाको मध्यभागबाट निर्माण भएको यस राजमार्गमा बर्सेनि पहिरोले समेत क्षति पुग्ने गरेको छ । तर, पहिरो रोकथामका लागि खासै प्रयास हुनसकेको छैन ।यो सडक चारपांग्रे सवारी साधन चल्नसक्ने गरी बनाइएको हो । मापदण्डविपरित हाल राजमार्गमा १६ चक्के साधनसमेत चल्छन् । निर्माण हुँदा जुन मापदण्डमा सडक बनेको हो, त्यसभन्दा धेरै संख्यामा यातायातका साधन समेत सञ्चालन हुनेगरेका छन् । यसबाहेक सुदूर पहाडी जिल्ला जोड्ने अर्को वैकल्पिक राजमार्ग नबन्दा यसै राजमार्गमा भर पर्नुपर्ने अवस्था छ ।


हिउँ पन्छाउने उपकरण छैन

विभागसँग हिउँ पन्छाउने विशेष प्रकारका कुनै उपकरण छैनन् । यसको सट्टा अन्य हेभी इक्युपमेन्ट प्रयोग गरी सडक सफा गर्दा छिट्टै सडक बिग्रने गरेको गएको वर्षमात्रै सडक विभागबाट निवृत वरिष्ठ इन्जिनियर महेन्द्रराज पन्तको भनाइ छ । ‘देशको पूर्वी भेगमा के छ जानकारी छैन तर सुदूर पहाडी जिल्लामा यसको प्रयोग भएको छैन,’ उनले भने, ‘चेनवाला डोजर र जेसीबी प्रयोग गर्दा अपरेटरले ध्यान नपुर्‌याउँदा सडकमा क्षति हुने गरेको छ ।’


‘हिमपातपछि सडक सफा गर्न प्रयोग हुने हेभी इक्युपमेन्टले वर्षेनी जति क्षति पुर्याउँछ, त्यसको मर्मतमा आवश्यक रकमले अहिलेसम्म हिउँ सफा गर्ने दर्जनौं मेसिन खरिद हुनसक्थ्यो,’ सडक विभागका पूर्व कर्मचारी आरसी अवस्थीले भने, ‘तर, यसतर्फ कसैको ध्यान जान सकेको छैन ।’ उनका अनुसार उक्त मेसिनलाई ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म पर्छ । ‘हिमपात हुने सडकमा वार्षिक २ करोडभन्दा बढी बजेट मर्मतसम्भारमा खर्च हुने गरेको छ, त्यो रकममा सडकलाई क्षति नपुर्याई हिउँ सफा गर्ने राम्रा मेसिन आउन सक्छन्,’ उनले थपे ।


सडकको हिउँ हटाउन हिउँ सफा गर्ने मेसिन प्रयोग गरे हप्तौंसम्म सडक अवरुद्ध हुने समस्या हट्‌ने र यात्रुलाई पनि सास्ती नहुने अवस्थी बताउँछन् । ‘भारतको उत्तराखण्ड राज्यमा हिमपात हुने सडकमा तत्कालै यस्तै मेसिनले हिउँ सफा गरेर सडक सञ्चालन हुने गरेको छ,’ उनले भने, ‘मौसम, भौगोलिक अवस्था उस्तै रहेको सुदूर पहाडमा भने हिमपातका कारण बिग्रिएका सडक मर्मतका नाममा कमाउने भाँडो बनेका छन् ।’ मर्मतसम्भारमा हुने अनियमितताले पनि यस सडकको अवस्था सुधार हुन नसकेको विभागमा कार्यरत एक अधिकारी स्वीकार गर्छन् ।


मर्मतमा करोडौं खर्च

गत आवमा भीमदत्त राजमार्गमा मर्मतसम्भार शीर्षकमा कति खर्च भयो ? कुलपाते सडक डिभिजन कार्यालयका प्रमुखदेखि लेखा अधिकृत कसैले पनि यसबारेमा जानकारी दिन चाहेनन् । कार्यालयका एक कर्मचारीले मर्मतका नाममा मात्रै ४ करोड बढी रकम खर्च भएको बताए । ‘कार्यालयका कर्मचारीलाई समेत जानकारी हुँदैन, कार्यालय प्रमुखको तजबिजमा टुक्राटाक्रीमा खर्च हुने बजेटको न कुनै सीमा हुन्छ न कसैलाई जानकारी नै,’ ती कर्मचारीले भने ।


हिउँ सफा गर्न प्रयोग हुने डोजर र स्काभेटरको भुक्तानी हेर्ने हो भने सरकारी बजेट कसरी दुरुपयोग भइरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिने उनको भनाइ छ । मर्मतसम्भारमा खर्च हुने बजेट अपारदर्शी मात्र छैन, विभागका केही अधिकारी र ठेकेदारको मिलोमतोमा वर्षेनी ठूलो अनियमितता हुने गरेको उनले दाबी गरे । गत आवमा कुन–कुन ठाउँमा सडक मर्मत भयो, आकस्मिक, रि–करेन्ट र नियमित मर्मतसम्भारमा कति खर्च भयो भन्ने सम्बन्धमा कार्यालयका कर्मचारीलाई समेत जानकारी छैन ।


राजमार्गको गोल्डन सडकखण्ड देखि भात्काँडासम्म हरेक वर्ष मर्मतको काम भइरहेको हुन्छ । तर, गत वर्ष मात्रै गरिएको कालोपत्रे र बनाइएको पर्खाल एक वर्ष नबित्दै भत्किसकेको हुन्छ । मर्मत भन्दै मापदण्ड नपुर्याई हरेक वर्ष बजेट मात्र सिध्याउने कामले राजमार्ग जीर्ण बन्दै गएको छ । ‘हरेक वर्ष यो क्षेत्रमा सडक विभागले काम गरिरहेको छ,’ गाँगखेत गैराका स्थानीय चक्र बोहराले भने, ‘काम कस्तो हुन्छ ? कति हुन्छ भन्ने कुरा चाहिँ नसोधौं ।’ उनका अनुसार विभागले बर्सेनि दिने मर्मतको कामले धेरेको गुजारा भइरहेको छ ।

सडक मर्मतमा इमरजेन्सी बजेट, नियमित मर्मतसम्भार बजेट र रि–करेन्ट बजेटका नाममा धेरै रकम छुट्याइने पन्त बताउँछन् । ‘हिमपात हुन्छ हुँदैन, पूर्व जानकारी हुँदैन, पहिरो आउँछ आउँदैन, त्यो पनि पूर्व जानकारी हुँदैन,’ पन्तले भने, ‘प्राकृतिक विपद्पछि मर्मतका लागि राखिएको इमरजेन्सी बजेटबाहेक सानातिना खाल्डाखुल्डी पुर्न रि–करेन्ट बजेट र नियमित मर्मतसम्भारको बजेट पनि हरेक वर्ष खर्च हुने गरेको छ ।’


नेपालका पहाडी जिल्लाका राजमार्गमध्ये धरान–धनकुटा राजमार्गपछि यस सडकलाई कुनै समय राम्रो राजमार्गका रुपमा लिइन्थ्यो । तर, पछिल्ला केही वर्षयता मापदण्डअनुसार मर्मत हुन नसक्दा यो राजमार्ग जीर्ण बन्दै गएको प्राविधिकले बताउने गरेका छन् ।


ठूला सडक दुर्घटनाको मुख्य कारणमध्ये जीर्ण सडक पनि प्रमुख कारण रहेको मान्छन् चालक नन्दबहादुर महरा । २२ वर्षदेखि यही राजमार्गमा गाडी चलाउँदै आएका महराले सडक नै भगवानको भरमा चलेको बताए । ‘चालकले एक दिन अघिको सडक सम्झेर गाडी कुदाएर आउँछ , तर एकै दिनमा परेको खाल्डोमा उछिट्टिएर ठूलो दुर्घटना हुनपुग्छ, राजमार्ग भगवान भरोसा चलिरहेको छ,’ उनले भने ।

प्रकाशित : पुस २९, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?