‘गुल्जार’ बन्दै हसुलिया र भजनी

मोहन बुढाऐर

हसुलिया, कैलाली — कुनैबेला कैलालीको ग्रामिण क्षेत्रका हसुलिया र भजनी निकै चल्तीका बजार थिए । स्थानीयले यीनै बजारमा सियोदेखि सुनसम्म किनमेल गर्थे । ‘मुलुक गृहयुद्धमा फस्यो,’ हसुलिया बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालु चौधरीले भने, ‘सुरक्षा चौकी तत्कालीन माओवादी विद्रोहीको आक्रमणमा परे ।

‘गुल्जार’ बन्दै हसुलिया र भजनी

सुरक्षाको दृष्टिकोणबाट व्यापारी विस्थापित भएर सदरमुकाम धनगढी सरे ।’ उनले मुलुक शान्ति प्रक्रियामा अघि बढेसँगै पुनः चहलपहल सुरु भएको बताए । ‘हाल स्थानीय सरकारको प्रशासनिक केन्द्र पनि यहीँ छ,’ उनले भने, ‘बल्ल पुरानो बजार हसुलिया र भजनी पुनः गुल्जार हुँदै गएका छन् ।’ कैलारी गाउँपालिका र भजनी नगरपालिकाको केन्द्र स्थापना भएकाले यहाँ फेरि सेवाप्रदायक सरकारी कार्यालय पुनर्स्थापित भएका छन् । विस्थापित तथा नयाँ व्यापार, व्यवसाय पनि सञ्चालनमा आएका छन् । ‘एक दशक हसुलिया र भजनी सशस्त्र द्वन्द्वको चपेटमा परे,’ यहाँका पुराना व्यापारी साधुराम चौधरीले भने, ‘विभिन्न व्यापार गर्ने व्यवसायी विस्थापित भएर धनगढी सरेका थिए ।’ उनका अनुसार दुगड ग्रुपको धान, गहुँको ठूलो कारोबार हसुलियामै हुन्थ्यो । त्यस्तै, अवस्थी समूहलगायत मारवाडी समुदायका खाद्यान्न संकलन गर्ने गल्ला पसल सुरक्षाको दृष्किोणले ०५७/०५८ तिर विस्थापित भएका हुन् ।


त्यसबेला हसुलियालाई मण्डी भनिन्थ्यो । धान गहुँ बिक्री गर्ने समयमा मेलानै लाग्थ्यो । भारतीय व्यापारीहरू पसल थाप्थे । किसानहरू भारतीयका दोकानबाट आवश्यक समान किनेर लान्थे । कोही भारतको सिमावर्ती बजार पनि पुग्थे । भजनी त कैलाली जिल्लाको पुरानो सदरमुकाम नै हो । ‘संकटकालमा भने थला परे,’ अर्का स्थानीय बलबिर साउँदले भने, ‘त्यतिबेलै बलेको बिजुली र सञ्चारको सुविधा काटिएर एक दशक अन्धकारमा बस्नुपर्‍यो ।’ उनका अनुसार सशस्त्र द्वन्द्वले प्रभाव नपारेको भए अहिले भजनी र हसुलिया बजार जिल्लाको ग्रामिण क्षेत्रका दुई ठूला बजारमा स्थापित भइसक्थे । ‘तर पनि समयले कोल्टे फेर्‍यो,’ उनले थपे, ‘शान्ति प्रक्रियाको डेढ दशकपछि हसुलिया र भजनी बजारमा रौनक छाएको छ । अहिले ग्रामिण क्षेत्रको आर्थिक कारोबारको केन्द्रको रुपमा विकसित हुँदै गएका छन् ।’


बजार व्यवस्थापन समितिका महासचिव कुलराज चौधरीका अनुसार हसुलिया र भजनीमा दैनिक ४०/५० लाखको कारोबार हुने गरेको छ । ‘बजारको विस्तारीकरणले निम्न वर्गले ज्यालादारी रोजगारी पाएका छन्,’ उनले भने, ‘साना किसानले आफ्नो उत्पादित कृषि उपजलाई बजारमा बेचेर आवश्यकताका वस्तु किनमेल गर्न सजिलो मात्रै भएको छैन, ग्रामिण क्षेत्रका बासिन्दाको आम्दानी पनि बढाएको छ ।’ उनले बजार व्यवस्थापन समिति पनि उद्योग बाणिज्य संघमा परिणत गर्न पहल भइरहेको बताए ।


हुलाकी सडकले हसुलिया र भजनीसहित कैलालीको दक्षिण–पूर्वी भेगका बासिन्दालाई सहज बनाएको अर्का स्थानीय सिताराम चौधरीको बुझाइ छ । कैलालीमा धनगढीदेखि टीकापुरसम्म ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण भएको छ । लालबोझीको कान्ध्रा नदीमा भने अझै पुल बनिसकेको छैन । जिल्लाको दक्षिणी भेगको आर्थिक मेरुदण्डको रुपमा रहेको हुलाकी सडकको बीचमा पर्ने हसुलिया र भजनीको उर्वर भूमि सहरीकरणले खण्डीकरणतर्फ जानसक्ने देखिन्छ । ‘हुलाकी सडकमा पर्ने हसुलिया र भजनी ग्रामिण आर्थिक कारोबारको केन्द्र बन्नु राम्रो हो,’ अर्थशास्त्रका शिक्षक वीरेन्द्र साहुले भने, ‘यसले ग्रामिण क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउँछ । तर, भविष्यमा बजार बढ्दा खेतीयोग्य जमिन खण्डीकरण हुने सम्भावना पनि उत्तिकै छ ।’


उनका अनुसार सरकारले कित्ताकाट रोकेको भए पनि अंशवण्डाको नाममा कित्ता काटेर जमिनको खण्डीकरण भइरहेको छ । उनले स्थानीय सरकार सञ्चालन गर्ने कैलारी गाउँपालिका र भजनी नगरपालिकाले बजारको विस्तार कतिसम्म गर्ने भन्ने योजना तत्काल बनाउनुपर्नेमा जोड दिए ।

कैलारी गाउँपालिका अध्यक्ष लाधुराम चौधरीले बजारको गुरुयोजना तयार पार्न लागेको बताए । ‘उर्वर खेतीयोग्य जमिन बचाउन गुरुयोजना निर्माणको तयारीमा छौँ,’ उनले भने, ‘कतिसम्म बजार क्षेत्र रहने, उद्योग, पर्यटन, कृषि, तरकारी सबै पकेट क्षेत्रको दायराबारे गाउँपरिषद्बाट नीतिगत रुपमा पास पनि गरिसकेका छौँ ।’


उनले हसुलिया र पवेरालाई जोडेर बजार विस्तारको योजनासमेत पारित गरेको बताए । पवेरा पनि हसुलिया बजारसँगै विकास हुन लागेको सानो बजार भएकाले यसैसँग जोड्न लागिएको उनको भनाइ छ । उनले उद्योग स्थापना गर्न भित्री क्षेत्र तोकेको स्पष्ट पारे ।

प्रकाशित : पुस २८, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?