कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माघीमा ढिक्री, मासु र जाँड

गणेश चौधरी

टीकापुर — थारु समुदाय माघी पर्व मनाउने तयारीमा छ । थारुको मुख्य पकवान सुँगुरको मासु, ढिक्री, सिन्की, तरुल, रोटी र जाँडरक्सी हो । माघीमा सबैको घरमा यही पकवान पाक्छ । माघी मान्न आउने पाहुनालाई यस्तै परिकार दिएर घरमा स्वागत गरिन्छ ।

माघीमा विशेषतः ढिक्री खाइन्छ । चामलको पीठो उसिनेर पकाइने भएकोले पचाउन सजिलो हुने उनीहरु बताउँछन् । यसकारण पनि माघी मान्न आउनेलाई यही परिकार अनिवार्य खुवाइने टीकापुर बनगाउँका बडघर जीतबहादुर चौधरीले बताए । उनले भने, ‘माघीमा जाँड खाने कुराको प्रचार धेरै भएको छ । अरु खानेकुराको भएको छैन । जबकी, यो पर्वको मुख्य खानेकुरा ढिक्री हो ।’ उनका अनुसार उहिले अण्डी धानको गुलियो जाँड खाने चलन थियो । आजभोलि उक्त जातको धान नै लगाइँदैन ।


माघी नजिकिँदै गर्दा यहाँका अधिकांश थारु घरमा खानेकुरा बनाउन आवश्यक सामग्रीको प्रबन्ध भइसकेको छ । जानकी गाउँपालिका–८ की गीता चौधरीले भनिन्, ‘मासुका लागि केही दिनअघि नै गाउँमा कसको बंगुर काट्ने र कसले कति मासु लिनेबारे लिस्ट तयार भइसकेको छ । खानेकुरा दिन दुनाटपरीका लागि पात टिपेर ल्याइसकेका छौं । दुनाटपरी गाँस्ने काम भइरहेको छ ।’ माघी मनाउन आउने धेरै हुने भएकाले भाँडाकुडा भन्दा दुनाटपरीको बढी प्रयोग हुने गीताले जनाइन् । उनले थपिन्, ‘धुन झन्झट पनि भएन, चोखो पनि हुने भयो ।’ माघी नजिकिएपछि गाउँघर सरसफाई गर्नुका साथै नुहाउनका लागि नजिकैको खोला, नदी, पोखरीको सरसफाइसमेत गरिसकिएको बडघर जीतबहादुरले बताए ।


उनका अनुसार केटाकेटी, युवायुवती, महिलाहरू मघौटा नाच नाँच्न आ–आफ्ना समूह बनाएर नाँचको तयारीमा जुटेका छन् । आफूसँग उमेर मिल्ने युवायुवतीको विभिन्न समूह बनाएर नाचगान गर्ने परम्परा छ । माघी पर्वलाई थारुहरूले नयाँ वर्ष, उन्मुक्ति दिवस, सद्भाव र मेलमिलापका रुपमा मनाउँछन् । खुसीयालीका साथ दिदीबहिनीलाई उपहार दिने गरिन्छ ।


बडघर जीतबहादुरले भने, ‘हिजोआज थारु युवायुवतीले माघी पर्वको धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन माघी महोत्सव, माघी मिलन कार्यक्रम पनि गर्न थालेका छन् ।’ टीकापुर नगरपालिका–९ का चित्रबहादुर थारुले भने, ‘यस पर्वले थारु जातिमा रमाइलो र रमझम मात्र दिँदैन, बरु आपसी मेलमिलाप, सद्भावना, मानमर्यादा, सेवा, सत्कार, आदर र नैतिक पाठ सिकाउँछ ।’

माघे संक्रान्तिका दिन बिहानै नुहाएर आफूभन्दा ठूलाबाट आशिष थाप्नु र सानालाई आशिष दिनु तथा साथीसंगी मिलेर नाचगान गरी रमाइलो गर्ने थारु समुदायको परम्परागत चलन हो ।


चित्रबहादुरले थपे, ‘प्रकृतिक रुपमा पनि माघी नयाँ वर्ष हो । किनकि माघीदेखि नै गर्मी सुरु हुन्छ र बोटविरुवामा पालुवा लाग्छ । पशुपंक्षी पनि जाडोबाट मुक्त हुन्छन् ।’ थारुका लागि यस पर्वले जोश, जाँगर र उत्साह प्रदान गर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?