१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हिमपातले सास्ती, घर बाहिर ननिस्कन प्रशासनको अनुरोध

डडेलधुरा र बैतडीका बेंसी क्षेत्रमा समेत हिमपात 
हिउँले पुरिएर बझाङमा एकको मृत्यु 

(धनगढी) — सुदूरपश्चिमका पहाडी जिल्लामा ३ दिनदेखि लगातार भएको वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । दार्चुला, बझाङ, डडेलधुरा, बाजुरा र बैतडीका उच्च पहाडी क्षेत्रमा यो सिजनमा मात्रै तेस्रोपटक हिमपात भएको हो ।

हिमपातले सास्ती, घर बाहिर ननिस्कन प्रशासनको अनुरोध

हिमपातका कारण बझाङमा १ जनाको मृत्यु भएको छ । बझाङको सुर्मा गाउँपालिका–३ का ४० वर्षीय देउसिंह बोहराको हिउँमा पुरिएर मृत्यु भएको छ । दौलीचौर बजारबाट घर फर्किंदै गर्दा हिउँमा पुरिएर उनको मृत्यु भएको हो । सोमबारदेखि हिउँमा फसेका बोहराको शव बुधबार साँझ फेला परेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष समिता पुजाराले बताइन् । मृतक बोहरा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेदवार थिए । यसअघि मंसिर अन्तिम साता परेको हिमपातमा सुर्मा गाउँपालिकाकै २ युवाको जडिबुटी संकलनका क्रममा मृत्यु भएको थियो ।


पाइपमै जम्यो पानी

झन्डै ४० वर्षपछि डडेलधुरा र बैतडीका बेंसी क्षेत्रमा समेत हिउँ परेको छ । समुद्री सतहदेखि ११ सय मिटर उचाइमा रहेका ती क्षेत्रमा बुधबार राति पुन: हिमपात भएको हो । यसअघि मंसिर अन्तिम साता र पुस दोस्रो साता हिमपात भएको थियो । ‘करिब ४० वर्षअघि बेंसी क्षेत्रमा यसपटक भन्दा भारी हिमपात भएको थियो,’ अमरगढी–३ का जयराज पाण्डेयले भने, ‘महाभारतको फेदीमा रहेका बस्तीमा यस पटक पुन: हिमपात भएको छ ।’ उनले त्यसबेला बगरकोट, भागेश्वरको अधिकांश क्षेत्र, चीपुरको तल्लो भेग र देवलको डागेश्वरी क्षेत्रमा ठूलो हिमपात भएको सुनाए ।


मौसम विभागका पूर्व अधिकृत दिगम्बर मिश्र बेंसी क्षेत्रमा यसरी हिमपात हुनु आश्चर्यजनक घटना भएको बताउँछन् । उनले भने, ‘यसरी औल क्षेत्रमा हिमपात भएको रेकर्ड देखिँदैन ।’ डडेलधुराको साविक बगरकोटको ऐडुंग्रा, चुल्लको तल्लो भेग खेतगाउँसम्म हिमपात भएको छ । यसैगरी साविक चिपुर गाविसको तल्लो भेगमासमेत हिमपात भएको छ ।


बैतडी र डडेलधुरा सिमानामा रहेका अनारखोली, खोड्पे, भालुमारे, घनधस्या लेक, सदरमुकाम डडेलधुरा र डोटी सीमानामा रहेको हगुल्टे तथा महाभारत पर्वत शृंखलामा बुधबार रातिदेखि लगातार हिमपात भएको हो । डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानीको आपूर्ति ठप्प छ । महाभारत लेकमा रहेका मुलबाट आपूर्ति हुँदै आएको पिउनेपानी सबैजसो गाउँमा अवरुद्ध भएको स्थानीय बािसन्दा बताउँछन् ।


दार्चुलामा गत सोमबारदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । नौगाड गाउँपालिका–१, इयरकोटका स्थानीय जनकराज भट्टका अनुसार केही दिन बिराएर फेरि बाक्लो हिमपात भएको हो । बुधबार रातिदेखि बैतडी सदरमुकाम खलंगास्थित गोठलापानी, शाहीलेक र गढी बजारमासमेत हिउँ परेको छ । यी ठाउँमा समेत धेरै वर्षपछि हिमपात भएको स्थानीय बासिन्दाले बताए । पहिले फाट्टफुट्ट हिउँ पर्ने गरेको भए पनि यो वर्ष सदरमुकाममा पनि जम्नेगरी हिउँ परेको स्थानीय जेष्ठ नागरिक जंगदेव भट्टले बताए । उनले भने, ‘यस ठाउँमा जम्नेगरी हिउँ नपरेको २० वर्ष जति भइसकेको थियो ।’


विद्यालय र सरकारी कार्यालय बन्द

दार्चुलाका बेसी क्षेत्रमा सोमबारदेखिको वर्षा र लेकाली क्षेत्रमा भएको हिमपात बुधबार साँझसम्मै जारी थियो । अपी हिमाल, ब्यास र नौगाड गाउँपालिकाका विभिन्न बस्तीहरूमा बाक्लो हिउँ थुप्रिएको छ । ‘इयरकोटमा सोमबार बिहानसम्म डेढ फुटसम्म हिउँ जमेको थियो,’ भट्टले भने, ‘हिमाली बस्तीहरूमा बाक्लो हिउँ जमेको हुनाले स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।’


दार्चुलामा हिमपातले विद्यालय नियमित खुल्न सकेका छैनन् । बझाङका सबैजसो विद्यालय तथा सरकारी कार्यालयसमेत बन्द भएका छन् । ‘घरबाहिर निस्कने अवस्था छैन, स्कुल कसरी चलाउनु?,’ धुली निमाविका प्रधानाध्यापक नवराज जोशीले भने, ‘हिउँ नपग्लेसम्म विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन ।’


अपी हिमाल गाउँपालिका–६, सितोलाका महेन्द्र बुढाथोकीले यस वर्ष विगतभन्दा चाँडै भारी हिमपात भएको जनाए । धेरै दिनसम्म घाम नलाग्दा लेकाली भेगमा बसोबास गर्ने बालबालिका र वृद्धवृद्धालाई चिसोले सताएको छ । घरपालुवा जीवजन्तुको स्याहारमा समेत समस्या भएको उनले बताए । दार्चुला प्रहरीका अनुसार इयरकोट, सुचखोला, स्याकु, सिप्टी, दल्लेक, सिना, सुन्सेरा, राप्ला, दुम्लिङ, व्यास लगायतका बस्तीमा बाक्लो हिउँ जमेको छ ।


बैंकिङ सेवा ठप्प

प्रदेशका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ । दार्चुलाको व्यास र दुहु गाउँपालिकामा हिमपातका कारण एक सातादेखि टेलिफोन सेवा अवरुद्ध छ । सोलार प्रणालीबाट ग्रामिण भेगमा टेलिफोन टावरहरू सञ्चालनमा थिए । ४ दिनदेखि घाम नलागेकोले सोलार प्रणालीमा समस्या देखिएको हो । सोलार पेलेटमा हिउँ पनि जमेको र उच्च लेकाली स्थानमा जान नसकिने हुनाले सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।

कैचुलाको टावरमा समस्या आएपछि व्यास र दुहुमा फोन सेवा अवरुद्ध भएको एक हप्ता भएको दुहु गाउँपालिका–२, हिकिलाका प्रेमराज जोशीले बताए । टेलिकमको एडिएसएल इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवामा समेत समस्या आउँदा सरकारी तथा बैंकिङ कारोबार लगायतका कामहरू प्रभावित भएका छन् ।


बझाङमा इन्टरनेट सेवा अवरुद्ध भएकाले त्यसबाट सञ्चालन हुने सार्वजनिक सेवासमेत प्रभावित छन् । बैंकले रकम जम्मा गर्ने, पठाउने र भुक्तानी दिने कामहरू रोकेका छन् । सबै एटिम मेसिन बन्द गरिएका छन् । ‘नेटवर्क नआउँदासम्म बैंकिङ कारोबार सञ्चालन गर्न सकिने अवस्था छैन,’ राष्ट्रिय वाणिज्य बैंक, बझाङका भरत गिरीले भने, ‘सबै बैंकको कारोबार पूर्णरुपमा अनलाइन प्रविधिमा आधारित भएका कारण यो समस्या आएको हो ।’


‘हिमपात पूर्णरुपमा नरोकिएसम्म सञ्चार सेवा पुन: सुचारु गर्न सकिने अवस्था छैन,’ नेपाल टेलिकम बझाङका गंगबहादुर सिंहले भने, ‘लगातार घाम नलाग्दा र सोलारका पाताहरू हिउँमा पुरिँदा उर्जा आपूर्ति नभएर सेवा अवरुद्ध भएको हो ।’ उनले टेलिकमका प्राविधिकहरूले सञ्चार सेवा सुचारु गर्न प्रयास गरिरहेको भए पनि भारी हिमपातका कारण सम्भव नभएको बताए । हिमपातकै कारण बझाङको विद्युत सेवा पनि एक सातादेखि अवरुद्ध छ । बैतडीदेखि बझाङसम्म विद्युत प्रवाह गर्ने मुख्य लाइनको तारले हिउँको भार थाम्न नसकेका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।


तापक्रम शून्यभन्दा तल

बझाङमा लगातार हिमपात भएकोले अधिकांश ठाउँको तापक्रम शून्यभन्दा तल झरेको छ । जिल्लाको सबैभन्दा होचो स्थान केदारस्यूँ गाउँपालिकाको देउरा (समुन्द्र सतहबाट ८ सय मिटर) आसपाससमेत हिमपात भएको छ । स्थानीयका अनुसार देउरा नजिक २५ वर्ष पहिला यही अनुपातमा हिमपात भएको थियो । बझाङ सदरमुकाम चैनपुरमा पनि १० वर्षपछि हिमपात भएको छ । हिमपातका कारण यहाँको यातायात सेवा सबैभन्दा बढी प्रभावित भएको छ । आइतबार केही घण्टामा हिमपात बन्द भएपछि सञ्चालनमा ल्याइएको जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । स्थानीय रुटमा समेत यातायात सेवा ठप्प छ । डडेलधुरा र बैतडी जोड्ने मुख्य राजमार्ग पनि अवरुद्ध छ । धनगढी–डडेलधुरा भिमदत्त राजमार्गको गैरादेखि डडेलधुरासम्मको ३५ किलोमिटर सडकखण्ड हिउँले पुरिएको छ । यसैगरी डडेलधुरादेखि बैतडी जोड्ने दशरथ चन्द राजमार्गको भालुमारे, अनार खोली, खोड्पे सडकखण्ड पनि बन्द छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन र यात्रु अलपत्र परेका छन् ।


अैँचोपैँचो गरेर गुजारा

उत्तरवर्ती क्षेत्रमा पाइपमा हिउँ जमेपछि पिउनेपानी आउनै बन्द भएको छ । स्थानीयले हिउँ पगालेर पानीको समस्या टारिरहेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । यहाँका विभिन्न ठाँउमा १० फिटसम्म हिउँ जमेको र हिउँ थपिने क्रम जारी रहेको उनको भनाइ छ । साइपाल, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका उत्तरी क्षेत्रका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । कतिपय गाँउमा खाद्यान्नलगायत बन्दोबस्तीका सामग्रीको समेत अभाव हुन थालेको छ । ‘घरहरू पुरिन थालेका छन्,’ साइपाल गाउँपालिका–४ का वडाध्यक्ष धनन्जय रोकायाले भने, ‘कतिपयका घरमा खानेकुराहरू सकिएको छ । उनीहरू अैँचोपैँचो गरेर काम चलाइरहेका छन् ।’

हिउँ थपिँदै गएकाले गम्भीर खालका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजान नसकिएको उनले गुनासो गरे । चरन अभावका कारण पशुचौपायासमेत मरेका छन् । हिमपातसँगै चिसो बढेपछि दार्चुला सदरमुकाम आसपासका क्षेत्र सुनसान बनेका छन् । जाडोबाट बच्न प्रशासनले स्थानीयलाई घर बाहिर ननिस्कन, आगो बालेर बस्न र न्यानो कपडा लगाएर बस्न सुझाएको छ ।


मनोज बडू (दार्चुला), डीआर पन्त (डडेलधुरा), वसन्तप्रताप सिंह (बझाङ) र तृप्ति शाही (बैतडी)


प्रकाशित : पुस २५, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?