२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

दशगजाकै पहिचान छैन

सीमा स्तम्भ नदीले बगाएका वा हराएका कारण भारतीय सुरक्षाकर्मीले नेपाली गाउँमै पसेर दुःख दिने गरेका छन्
भवानी भट्ट

कञ्चनपुर — नेपाल–भारत सीमा स्तम्भको दुवैतर्फ बस्ती । तर, दशगजाको पहिचान छैन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेना स्थित ८०९ नम्बर सीमा स्तम्भ आसपास यस्तै अवस्था छ । यहांँ दशगजाकै विषयमा बेला–बेला विवाद पनि भइरहन्छ । दुई वर्षअघि पनि सडकमा हृयुमपाइप राख्ने विषयमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका थिए ।

दशगजाकै पहिचान छैन

बहृमदेव नजिकैको मटेनादेखि जिमुवा, गड्डाचौकी र भुजेलामा समेत यस्तै समस्या छ । सीमा स्तम्भ हराएका र नदीले बगाएका कारण भारतीय पक्षले विभिन्न काममा अवरोध पुर्‍याउँदै आएको छ । ब्रहृमदेवमा मुक्त हलिया परिवारको घर निर्माणमै रोक लगाइएको छ । भुजेलामा ५ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ५ वटा घर भत्काइदिएको थियो । ‘धेरै ठाउँमा दशगजा नै अस्पष्ट छ, भारतीय पक्षले विभिन्न बाहानामा दुःख दिने गर्छ,’ भीमदत्त नगरपालिका–९, ब्रहृमदेवका वीरबहादुर खड्काले भने, ‘कतै नेपाल त कतै भारततर्फबाट दशगजा अतिक्रमण भएको छ ।’ उनका अनुसार सीमा स्तम्भ नभएका ठाउँमा भारतीय पक्षले नेपाली बस्तीमै पसेर दुःख दिने गरेको छ । महाकाली पारीको महाकाली नगरपालिका–१० कुतियाकभरमा पनि दुवैतर्फका बासिन्दाले दशगजा अतिक्रमण गरेका छन् । यहांँ पनि सीमा विवाद कायम छ । यस्तो समस्या नगरपालिकाका अधिकांश सीमा क्षेत्रमा व्याप्त छ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा पनि सीमा विवाद छ ।


दशगजाको कुनै निशानै छैन । विवादले उग्र रुप लिँदा तीन वर्षअघि पुनर्वास नगरपालिकामा एक जनाको मृत्यु समेत भएको थियो । पुनर्वास–९, बिचफांँटामा दुई वर्षअघि वन्यजन्तु रोक्न विद्युतीय तारबार जडान गर्दा पनि एसएसबीले अवरोध गरेको थियो । सीमा विवाद रहेको भन्दै हाल जिल्लामा निर्माणाधीन हुलाकी सडकको काममा समेत रोकावट आएको छ । बेलौरी नगरपालिका–८, पचुइमा बनिरहेको सडक दशगजामा पर्ने भन्दै एसएसबीबाट अवरोध भएको हो ।


प्यारातालमा भारतको आँखा


पुनर्वासस्थित सीमा क्षेत्रमा पर्ने प्यारातालमा भारतीय पक्षले निगरानी बढाएको छ । केही वर्षअघिसम्म जिल्ला विकास समितिले माछा मार्ने ठेक्का दिने गरेपनि अहिले एसएसबीले सर्वसाधारणलाई आउजाउमा समेत रोक लगाएको छ । १९४ र १९५ सीमा स्तम्भबाट झन्डै ५ सय मिटर नेपालतर्फ रहेको ताललाई भारतीय पक्षले आफ्नो दाबी गरिरहेको हो । साढे तीन किलोमिटर क्षेत्रमा फैलिएको ताल जैविक विविधता र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । सोही कारणले भारतले यसमा आँखा गाडेको स्थानीयको बुझाइ छ । ‘अहिले तालमा नेपालीलाई माछा मार्न रोक लगाइएको छ, ताल वरपर कोही गयो भने पक्रेर लैजान्छन्,’ पुनर्वास–९, बिचफांँटाका धर्म विकले भने, ‘त्यहांँ लगेर कुटपिट गर्छन्, फेरी तालमा नजाने सर्तमा मात्रै छाड्छन् ।’ उनका अनुसार १० वर्षअघिसम्म पनि उक्त क्षेत्रमा बिचफांँटाबासीले गाईवस्तु चराउँथे ।


प्यारातालको विवादका कारण यहांँको पर्यटकीय विकासमा बाधा पुगेको पुनर्वास नगरपालिका प्रमुख जीवनराज थापा बताउँछन् । उनले संयुक्त सीमा सर्भे टोलीले समेत विवाद टुंग्याउने काम तीब्र गतिमा गर्न नसकेको गुनासो गरे । ‘अब संघीय सरकारले यसका लागि पहल गरिदिनुपर्छ,’ उनले प्रश्न गरे, ‘कुनै बेला जिससले ठेक्का दिने ताल अहिले भारतको कसरी हुन्छ ?’


कञ्चनपुरमा भारतसंँग १ सय २९ दशमलव ५ किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ । जिल्लाभर ६४ मुख्य, २ सय २२ सहायक र १ सय ४ साना गरी कूल ३ सय ९० सीमा स्तम्भहरू छन् । तिमध्ये एक दर्जन बढी पीलरहरू मर्मत गर्नुपर्ने तथा त्यतिकैको संख्यामा हराएका पनि छन् ।

प्रकाशित : पुस २४, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?