कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हिमपातमा जहिल्यै सास्ती, हिउँ पगालेर पिउने पानी

तृप्ति शाही

(बैतडी) — नेपालगञ्जबाट गत बिहीबार बझाङको यात्रामा आएका कोहलपुरका रमेशचन्द्र डिसी पुसमा अब यो सडक भएर कहिल्यै यात्रा नगर्ने बताउँदै थिए । डडेलधुराको हगुल्टेबाट बझाङ पुगुन्जेलसम्म उनलाई हिमपातले दु:ख दियो । बिहीबार नै बझाङ पुग्ने भनेर हिँडेका उनी २ दिन डडेलधुरामै बस्न बाध्य भए । गत बुधबार रातिबाट बिहीबारसम्म परेको हिमपातले डडेलधुरा, बझाङ, बैतडी, दार्चुला आउने हजारौं यात्रुले ५ दिनसम्म सास्ती भोगे ।

हिमपातमा जहिल्यै सास्ती, हिउँ पगालेर पिउने पानी

धेरैले डडेलधुराको हगुल्टे, बैतडीको ढोल्यामोड लगायत स्थानमा यातायात अवरुद्ध भएर बाटोमै रात कटाएका थिए । भन्ज्याङको जाममा फसेका रमेशचन्द्रले खानेकुरा नपाएर पीडा भोगेको सुनाए । उनले भने, ‘हिमपातले बाटो नखुल्दा धेरै दु:ख पाइयो । चिसोले सतायो । खानाको समस्या उस्तै भोगियो । खर्च पनि धेरै भयो ।’ होटलहरू नभएको ठाउँमा जाममा पर्दा ‘खाए पनि हिउँ, नखाए पनि हिउँ’को अवस्थामा पुगेको दु:खेसो पोखे । यो वर्ष बैतडीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा ३ पटक हिमपात भइसकेको छ । हिउँ परेको समयमा यहाँ यात्रा गर्नेहरूले जहिल्यै सास्ती भोग्नुपरेको छ । बुधबार परेको हिमपातले जयपृथ्वी राजमार्ग २ दिन र मध्यपहाडी लोकमार्ग १ दिन ठप्प भयो ।


हिउँ जमेकोले अझै पनि राजमार्गमा आवतजावत गर्न सकस छ । बैतडी, डडेलधुरा, बझाङ जोड्ने सडकखण्डको उच्च लेकाली भेगमा पर्ने श्रीभावर, ढोल्यामोड, नाचन्थली, भन्ज्याङ, बाजपानी, खोड्पे, अनारखोली, हगुल्टे, साहुखर्क, सिगासधुरा, ग्वाल्लेक, सतबाँज, मुस्याचौर लगायत स्थानमा हिमपातले सडक अवरुद्ध हुने गरेको छ । हिमपात भएसँगै सडक सुचारु गर्न समस्या हुनेगरेको प्रहरीचौकी खोड्पेका इन्चार्ज असई रामदत्त भट्टले बताए । बाटो बन्द हुनासाथ प्रहरीलाई खबर आउने भए पनि सडक विभागको निर्देशन बिना डोजरको व्यवस्था नहुने भएकोले समयमै काम गर्न नसकिने गरेको भट्टले गुनासो गरे ।


हिउँ पगालेर पिउने पानी

पानीको चरम अभाव खेप्ने बैतडीको खोड्पेका स्थानीय हिउँलाई पगालेर पानीको अभाव टारिरहेका छन् । खाना पकाउनेदेखि कपडा धुनसम्म उनीहरू हिउँकै प्रयोग गर्छन् । खोड्पे बजारमा लिफ्टिङबाट ल्याइएको पानी विद्युत आपूर्ति रोकिनासाथ बन्द हुन्छ । वर्षा र हिमपातले एक सातादेखि विद्युत आपूर्ति नहुँदा उनीहरूले पिउने पानीका लागि पनि हिउँ नै पगालेर गुजारा धानिरहेका छन् ।


पिउनेसँंगै अन्य कामका लागि आवश्यक पानीको जोहो हिउँ तताएर गरिरहेको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताए । हिमपातले जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । पोलहरू कामै नलाग्नेगरी ढलेकोले विद्युत सेवा सहज हुन लामै समय लाग्ने देखिन्छ । सदरमुकाम खलंगाका गोठलापनानी गढी र शाहीलेक बजारमा भारतीय लाइनले काम गरे पनि जिल्लाका अन्य बजारमा बिजुली छैन ।

प्रकाशित : पुस २३, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?