२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रचार पर्खंदै शुक्लाफाँटा

सीमावर्ती भारतीय क्षेत्रमा दुधवा र जिम कार्बेट निकुञ्ज छन् । त्यहाँ पुगेका विदेशी पर्यटकलाई विभिन्न अफर दिएर शुक्लाफाँटा भित्र्याउन सकिन्छ ।
भवानी भट्ट

कर्णाली — ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएसंँगै विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । तर, सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारमा भने खासै ध्यान पुगेको छैन ।

प्रचार पर्खंदै शुक्लाफाँटा

वन्यजन्तु अवलोकनका लागि शुक्लाफाँटा उत्तम विकल्प भए पनि आवश्यक प्रचार र भौतिक पूर्वाधारको अभावमा यहाँ थोरै संख्यामा मात्र पर्यटक आउने गरेका छन् । तीन वर्षअघि मात्रै निकुञ्जमा स्तरोन्नति भएकोले यसको प्रचारप्रसारमा अझ बढी जोड दिनुपर्ने स्थानीय बताउँछन् ।


‘शुक्लाफाँटाको प्रचारप्रसार नै हुन सकेको छैन,’ महेन्द्रनगरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘नेपालमै बढी पर्यटकहरू आउने स्थानहरू लुम्बिनी, चितवन, बर्दिया र काठमाडौँ लगायतमा शुक्लाफाँटाबारे जानकारी दिने खालका सामग्रीहरू राखिनुपर्छ ।’ उनले सीमावर्ती क्षेत्रमा समेत यसका विषयमा प्रचार हुन नसकेको बताए ।


गत आर्थिक वर्षमा ६ हजार बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । जसमध्ये ५ हजार ७ सय आन्तरिक पर्यटक मात्रै थिए । सार्क र अन्य विदेशी पर्यटकको संख्या डेढ सयको हाराहारीमा छ । अघिल्ला वर्षको तुलनामा निकुञ्ज घुम्ने आन्तरिक पर्यटक बढे पनि विदेशी पर्यटकको संख्यामा भने खासै अन्तर आएको छैन ।


शुक्लाफाँटा भारतको दुधवा राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ । पर्यटकहरूले भरिभराउ रहने सीमावर्ती उत्तराखण्ड राज्यकै जिम कार्बेट राष्ट्रिय निकुञ्जबाट पनि नजिकमा छ । यी दुई निकुञ्जमा आउने पर्यटकलाई मात्रै पनि शुक्लाफाँटा भित्र्याउन सके यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने स्थानीय बताउँछन् । तर, त्यस अनुसारका कार्यक्रम र नीतिहरू भने बनेका छैनन् ।


दुधवा र जिम कार्बेट राष्ट्रिय निकुञ्जसम्म पुग्ने पर्यटकलाई शुक्लाफाँटाका बारेमा जानकारी दिने र विभिन्न अफर दिएर समेत यहाँ भित्र्याउन सकिने व्यवसायी सुझाउँछन् । अहिले निकुञ्ज प्रवेशमा नेपालीलाई १ सय, सार्कका नागरिकलाई ५ सय र विदेशी पर्यटकलाई १५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । पर्यटन वर्षको अवसरमा सो शुल्कमा छुट दिनुपर्ने यहाँका पर्यटन व्यवसायीहरूले माग राखेका छन् । ‘विदेशीका लागि निकुञ्ज प्रवेश गर्न लाग्ने शुल्कमा छुट दिँदा समेत पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ पर्यटन व्यवसायी भण्डारी भन्छन्, ‘यसबाहेक बसोबास र सफारीका लागि पनि विशेष प्याकेजहरू ल्याउन सकिन्छ ।’ सीमावर्ती क्षेत्र बनबासा, खटीमा र टनकपुर क्षेत्रका बासिन्दालाई मात्रै पनि यसबारे जानकारी दिँदा निकुञ्ज अवलोकन गर्न आउनेको चहलपहल बढ्ने उनको भनाइ छ ।


निकुञ्ज कार्यालयले निकुञ्जको संरक्षित क्षेत्रभित्र सफारीका लागि बाटो र अवलोकनका लागि मचान आदिको निर्माण गरेको छ । प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरू पनि लाग्नुपर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौड्याल बताउँछन् । भारतीय पर्यटक भित्र्याउन त्यहाँका पर्यटन व्यवसायीसँग समन्वय र सहकार्य गर्नुपर्ने उनले बताए । ‘सफारीका लागि स्तरीय जीपहरू राख्ने, टुर अप्रेटर र गाइड उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘पर्यटन वर्षमा मात्रै होइन, निकुञ्जमा त सधैं पर्यटक भित्र्याउन विभिन्न गतिविधिहरू भइराख्नुपर्छ ।’


गत वर्षदेखि निकुञ्ज प्रवेशका लागि जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा पनि प्रवेशद्वार बनाइएको छ । तर, उक्त क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको संख्या भने नगन्य छ । शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख बासस्थान हो । निकुञ्जभित्र ५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको विशाल घाँसे मैदानमा बाह्रसिंगाको बथान देख्न पाइन्छ । यसबाहेक बाघ, गैँडा, चितुवा र चित्तल पनि पाइन्छ ।


थालियो चरा अनुगमन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराको अनुगमन सुरु भएको छ । हरेक वर्षझैं तालतलैया, नदीनाला र निकुञ्ज आसपासका बस्तीमा रहेका सिमसार क्षेत्रमा पाइने चराको अवस्थाबारे अनुगमन गरिन लागिएको हो । यहाँका रैथाने चराहरूको मात्रै अवस्था बुझ्न थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए । उनका अनुसार निकुञ्जकै टोलीले सोमबारदेखि अनुगमन सुरु गरेको हो ।


यतिबेला जाडो छल्न आउने साइबेरियन चराका कारण पनि निकुञ्ज भित्रका ताल भरिभराउ देखिन्छन् । रानीताल, बाबाताल, सालगौडी ताल लगायत क्षेत्रमा धेरै संख्यामा चराहरू देखिने गरिएको छ । निकुञ्जका रेन्जर यम बहादुर रावतको नेतृत्वमा ५ जनाको टोली अनुगमनमा खटिएको छ । टोलीले एक सातासम्म अनुगमन गर्नेछ । खासगरी हांँस प्रजातिका चराहरूलाई विशेष महत्व दिई अनुगमन गरिने रावतको भनाइ छ ।

प्रकाशित : पुस २२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?