२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गाउँगाउँमा अत्याधुनिक अल्ट्रासाउन्ड

अर्जुन शाह

काठमाडौँ — मातृशिशु मृत्युदर घटाउने उद्देश्यले सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीलाई अत्याधुनिक भिडियो एक्सरे (टेली अल्ट्रासाउन्ड) मेसिन उपलब्ध गराएको छ । स्वास्थ्यकर्मीका अनुसार सुदूरपश्चिममा मातृशिशु मृत्युदर 
उच्च छ ।

अब विकटका स्वास्थ्य चौकीबाट पनि गर्भवतीको गर्भावस्थाबारे जानकारी पाउन सकिनेछ । परीक्षणका क्रममा कुनै समस्या पहिचान गर्न नसकेर स्थानीय स्वास्थ्यकर्मीलाई अन्योल भए उनीहरूले जिल्ला बाहिरका विशेषज्ञ डाक्टरहरूसँग सिधै परामर्श गर्नसक्ने निर्देशनालयले जनाएको छ । टेली अल्ट्रासाउन्ड भएकाले बाहिरका विशेषज्ञले पनि लाइभ एक्सरे हेरेर सुझाव दिन सक्ने सुविधा उपलब्ध हुनेछ । ‘यसबाट मातृशिशु मृत्युदर घट्नेछ,’ निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भने, ‘नेपालमै पहिलो पटक प्रदेशका सबै ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा अत्याधुनिक टेली अल्ट्रासाउन्ड उपलब्ध गराउने योजना ल्याइएको हो ।’


पहिलो चरणमा यसै साता ९ वटै जिल्ला सदरमुकाम रहेका स्थानीय तहका स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण गरिसकेको निर्देशनालयले जनाएको छ । ‘दोस्रो चरणमा बाँकी सबै स्वास्थ्य संस्थालाई हस्तान्तरण गर्नेछौं,’ अवस्थीले भने, ‘गर्भावस्थामा कुनै अप्ठेरो भए समयमै उपचार गर्न पनि सजिलो हुनेछ ।’


कञ्चनपुरको भीमदत्त, डोटीको दिपायल सिलगढी, अछामको मंगलसेन, बाजुराको बडिमालिका नगरपालिकामा रहेका स्वास्थ्य संस्थालाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको छ । यस्तै, बझाङको जयपृथ्वी, डडेल्धुराको अमरगढी, बैतडीको दशरथचन्द र दार्चुलाको महाकाली नगरपालिकाका स्वास्थ्य संस्थाका प्रतिनिधिलाई पनि एक कार्यक्रम गरी सो उपकरण प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।


विकट क्षेत्रमा नियमित गर्भ जाँच गराउने गर्भवतीहरूको संख्या न्यून छ । पहाडी जिल्लामा जिल्ला अस्पताल बाहेक अन्यत्र भिडियो एक्सरेको सुविधा छैन । ‘नियमित गर्भजाँच नगराउने, स्वास्थ्य चौकीमा भिडियो एक्सरे नहुने समस्याले विकट क्षेत्रमा गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ,’ निर्देशक अवस्थीले भने, ‘हरेक पालिकाका स्वास्थ्य चौकीमा भिडियो एक्सरे उपलब्ध भएपछि केही सहज हुने आशा गरेका छौं ।’


गत कात्तिक तेस्रो साता बाजुराको बडिमालिका नगरपालिका–७ जिल्लीकी २२ वर्षीया फूलमााया सुनारले जिल्ला अस्पताल आउने क्रममा बाटोमै बच्चा जन्माइन् । उनी बडिमालिका–९, गडखेत पुग्दा सुत्केरी भएकी थिइन् । जिल्लीबाट जिल्ला अस्पताल, मार्तडी पुग्न दुई घण्टा लाग्छ । बीच बाटोमै शिशुलाई जन्म दिएकी उनलाई प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल पुर्‍याएको थियो ‘भिडियो एक्सरे गरेर नियमित गर्भजाँच गरेको अवस्थामा गर्भवतीले यस्तो अवस्था व्यहोर्नु पर्दैन,’ बडिमालिका नगरपालिका स्वास्थ्य प्रमुख टेकबहादुर खड्काले भने, ‘गाउँका संस्थामा उपलब्ध हुने भिडियो एक्सरेको सदुपयोग गर्नसके मातृशिशु सेवाको क्षेत्रमा अस्वभाविक सुधार हुने देखिन्छ ।’


स्वास्थ्य संस्थामा गई नियमित गर्भजाँच गर्नेको वृद्धिदर सन्तोषजनक नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । समग्र प्रदेशमा तीन वर्षअघिको तुलनामा ३ प्रतिशत बढे पनि केही जिल्लामा भने घटेको पाइएको निर्देशनालयले जनाएको छ । ‘तीन वर्षअघि ६८ प्रतिशत गर्भवतीले सुरक्षित प्रसुति सेवा लिएको तथ्यांक थियो । गत आर्थिक वर्षमा ७१ प्रतिशत पुगेको छ,’ निर्देशक अवस्थीले भने, ‘केही जिल्लामा घटेको अवस्था छ । बझाङमा ७६ प्रतिशत रहेकोमा ७० प्रतिशतमा झरेको छ ।’


नवजात शिशु मृत्युदर पनि बढेको छ । ०७४/७५ मा प्रदेशभर २ सय ८० शिशुको मृत्यु भएकोमा ०७५/७६ मा यो संख्या २ सय ९० पुगेको छ । बाजुरा, अछाम र कञ्चनपुरमा शिशु मृत्युदर बढेको छ । बाजुरामा तीन वर्षअघि यो संख्या १७ रहेकोमा गत आवमा उक्त संख्या बढेर २८ पुगेको थियो । अछाममा ३९ बाट बढेर ७६ र कञ्चनपुरमा १९ बाट बढेर ३ वर्षमा २६ पुगको छ । बैतडी र अछाममा मातृ मृत्युदर पनि बढेको छ । बैतडीमा तीन वर्षअघि एक जना आमाको मृत्यु भएकोमा गत वर्ष ३ जनाको मृत्यु भएको थियो । यस्तै अछाममा गत वर्ष एक आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।


‘स्वास्थ्य चौकीमै भिडियो एक्सरे उपलब्ध भएपछि ग्रामीण तथा दूरदराजमा बस्ने गर्भवतीको उपचार तथा हेरचाहमा ठूलो मद्दत पुग्नेछ,’ बझाङका जिल्ला जनस्वास्थ्य प्रमुख भानुभक्त जोशीले भने ।


केन्द्र सरकारले गत आवको बजेटमा मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणका लागि सुदूरपश्चिमलाई विशेष अनुदान दिएको थियो । सोही बजेटबाट टेली अल्ट्रासाउन्ड खरिद गर्न स्वास्थ्य निर्देशनालयलाई जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । अल्ट्रासाउन्ड खरिद गर्न स्वास्थ्य मनलयबाट १२ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको थियो । अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरी भ्याटबाहेक प्रतिमेसिन १३ लाख २२ हजार ३ सय ४ रुपैयाँमा मेसिन खरिद गरेको निर्देशनालयका जनस्वास्थ्य निरीक्षक शिद्धराज भट्टले बताए ।


सुदूरपश्चिमका पहाडी जिल्लामा सुत्केरीले समयमै उपचार नपाएर जोखिममा पर्ने अवस्था पहिल्यैदेखि कायम रहेको भन्दै प्रदेश सरकारले हवाई उद्दारको कार्यक्रमसमेत चलाएको छ । गत आवमा पहाडी जिल्लाबाट जोखिममा परेका ६ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरी उपचार गराइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । ‘प्रदेशबाहेक संघीय सरकारबाट केहीको उद्दार भएको थाहा पाएका थियौं,’ उनले भने । स्वास्थ्य चौकीमै भिडियो एक्सरे सेवा उपलब्ध भएपछि गर्भवतीको जोखिमबारे समयमै पहिचान हुने मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीको भनाइ छ ।


हाल उपलब्ध गराइएको टेली अल्ट्रासाउन्ड प्रयोग गर्नसक्ने जनशक्ति सबै स्वास्थ्य चौकीमा छैनन् । त्यसका लागि सम्बन्धित स्वास्थ्य चौकीमा कार्यरत स्टाफ नर्स तहको एसबिए तालिम प्राप्त स्वास्थ्यकर्मीलाई २१ दिनको तालिम उपलब्ध गराउन लागिएको निर्देशनालयले बताएको छ । ‘पहिलो चरणको तालिम माघ पहिलो सातादेखि सुरु गर्छौं,’ निर्देशक अवस्थीले भने, ‘तालिमका लागि उनीहरूलाई भेरी अस्पतालमा पठाइनेछ ।’

प्रकाशित : पुस २२, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?