३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उखु कृषकको पीडा : सरकारी अनुदान पाउनै सास्ती

गत वर्ष अनुदानबापत २३ करोडभन्दा बढी रकम पाउनुपर्नेमा सरकारले १६ करोड मात्रै उपलब्ध गराएको छ ।
भवानी भट्ट

कञ्चनपुर — आफ्नो बारीको उखु काटिसकेकी छिन् । अहिले दैनिक ज्यालादारीमा गाउँका अरु कृषकको उखु काट्न उनी व्यस्त छिन् । बेलौरी नगरपालिका–१०, भुडाकी प्रमिला चौधरी बिहान ७/८ बजेदेखि सांँझ ५ बजेसम्मै उखुबारीमा हुन्छिन् ।

उखु कृषकको पीडा : सरकारी अनुदान पाउनै सास्ती

जिल्लाको दक्षिणी भेग बेलौरी, पुनर्वास, बेलडाडी र लालझाडी क्षेत्रमा उखु खेती गरिन्छ । यहाँंका कृषकले उखु खेतीबाट आम्दानीसंँगै स्थानीयले रोजगारी समेत पाएका छन् । तर, उत्पादनको आधारमा पाइने सरकारी अनुदानका लागि सास्ती बेहोरिरहेका छन् । उखु उत्पादक किसानलाई सरकारले उत्पादनका आधारमा अनुदान दिन्छ ।


तर, गत वर्ष पाउनुपर्ने उखुको अनुदान आन्दोलनपछि ७० प्रतिशतसम्म मात्रै प्राप्त भएको उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राईले बताए । गएको वर्ष ३६ लाख क्विन्टल उखु बिक्री भएको थियो । सरकारले प्रतिक्विन्टल ६५ रुपैंया २८ पैंसा अनुदान तोकेको थियो । कञ्चनपुरमा मात्रै अनुदानबापत २३ करोड बढी रकम पाउनुपर्ने थियो । हालसम्म १६ करोड रुपैयाँ प्राप्त भएको राई बताउँछन् । उनका अनुसार प्रशासन कार्यालयमार्फत पटक–पटक ज्ञापनपत्र बुझाउँदा समेत ढिलोगरी मात्रै उक्त अनुदान आएको हो ।


कञ्चनपुरमा ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ । यहाँ नगदेबालीका रुपमा उखु लगाइन्छ । कृषकसंँगै यहांँका स्थानीयले समेत यसबाट लाभ लिइरहेका छन् । उखु रोप्नेदेखि गोडमेल गर्ने, काट्ने र मिलसम्म पुर्‍याउने कामले स्थानीय स्तरमा रोजगारी सृजना भएको छ । यसका लागि प्रतिहेक्टर १ सय जनाले रोजगारी पाउने गरेको राईले बताए । यसबाहेक यहाँ सञ्चालनमा रहेका १ दर्जन बढी खाँडसारी उद्योग र २ चिनी मिलमा पनि धेरै स्थानीय काम गर्छन् ।


मंसिरदेखि चैतसम्मै उखु काट्ने र थन्क्याउने काम चल्छ । ‘हिउँदे खेती लगाइसकेपछि चैतसम्मै उखु काट्ने काम पाइन्छ,’ प्रमिलाले भनिन्, ‘महिलाहरू काट्छन्, पुरुषहरू गाडीमा लोड गरेर मिलसम्म पुर्‍याउँछन् ।’ उखु काट्ने कामका लागि दैनिक ४ सय रुपैयाँ ज्याला पाइन्छ । कसैले दैनिक त कसैले उखु बिक्री भएपछि ज्याला दिने गरेको उनले बताइन् । उनका अनुसार आधा विघाको उखु काट्न १५ जनासम्म लाग्छ । ‘उखु काट्ने, पात छिल्ने र मुठा बाँधेर मिलमा लैजान तयार पार्ने काम संँगै हुन्छ,’ भुडाकै संगीता चौधरीले भनिन् । उनी पनि आफ्नो आधा विघाको उखु काटेर गाउँका अन्य कृषकको बारीमा काम गरिरहेकी छिन् ।


हिउँदको समयमा ग्रामीण भेगमा कामको भार कम हुन्छ । तर, जिल्लाको दक्षिणी भेगका थारु समुदाय उखु काट्न व्यस्त देखिन्छन् । उखु खेती थन्क्याउन हिजोआज पुरुषभन्दा महिला बढी खटिने गरेका छन् । युवाहरू काम खोज्दै भारत जान थालेपछि महिलाहरू नै उखु काट्ने तथा मिलसम्म पुर्याउने काममा खटिनुपरेको स्थानीय बताउँछन् ।

प्रकाशित : पुस २१, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?