कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थारू संस्कृतिको केन्द्र भादा

मोहन बुढाऐर

(कैलाली) — अघिपछि जिन्स पाइन्ट र टिसर्ट लगाउने ईना चौधरी पाहुनाको स्वागतका बेला भने परम्परागत थारू पहिरनमा सजिएकी हुन्छिन् । कैलालीको थारू होमस्टे गाउँ भादाकी उनी हरेक साँझ लेहेंगा, फरिया र चोलियामा सजिएर सखिया नाच प्रस्तुत गर्छिन् । 

थारू समुदायको नयाँ पुस्ताले बिर्संदै गएको कला र सँस्कृति उनलाई अचेल औधी मन पर्छ । ‘आँगनभरि पाहुना राखेर परम्परागत भेषभूषा र शैलीमा नाच्ने रहरको धित कहिल्यै नमर्ला जस्तो लाग्छ,’ उनले भनिन् ।


भादालाई होमस्टे गाउँ बनाएको ९ वर्ष भयो । त्यसपछि मात्रै थारू नाच सिकेको उनले बताइन् । ईनाले मात्रै हैन, भादा गाउँका युवायुवतीले परम्परगत नृत्य र भेषभूषामा पाहुनाको स्वागत गर्छन् । बिर्सँदै गएको थारू सँस्कृतिलाई भादाले जगेर्ना गरिरहेको छ ।


होमस्टे सञ्चालनयता यस गाउँमा स्वदेशी र विदेशी गरी हालसम्म २५ हजार पर्यटकले भम्रण गरिसकेको होमस्टे घर सञ्चालक समितिकी अध्यक्ष लक्ष्मी नारायण चौधरीले भने । उनका अनुसार १९ घरमा होमस्टे सञ्चालन गरिएको छ । ‘यहाँ आउने पर्यटकबाट हुने आर्थिक लाभ १९ घर परिवारले मात्र नभई गाउँभरिका सबै २ सय ४२ घर परिवारसम्म पुगेको छ,’ चौधरीले भने, ‘पर्यटकलाई पस्कने थारू अर्ग्यानिक परिकार गाउँकै उपजबाट बन्छ ।’ होमस्टे सञ्चालनबाट चामल, दाल, तरकारी, गेडागुडी, लोकल कुखुरा, बंगुर, खसी र कोसेली घरबाट थारूका कलात्मक सामग्री विक्रीले गाउँका सबै परिवार लाभान्वित भइरहेको उनको कथन छ । जारी भ्रमण वर्षमा गाउँमा करिब १० हजार पर्यटक भित्र्याउन लक्ष्य लिएको उनले जानकारी दिए ।


बुधबारदेखि भादामा ५ दिने थारू महोत्सव पनि सुरु भएको छ । महोत्सवको उद्घाटन धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडले गरेका हुन् । होमस्टे स्थापना दिवस पनि अंग्रेजी वर्षको पहिलो दिन भएकाले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा गोरुले तान्ने परम्परागत सवारी लहेरुमा चढेर गाउँ घुम्न सकिन्छ ।


चारैतर्फ जंगलले घेरिएको यो गाउँ सयौं वर्ष पुरानो मानिन्छ । लहरै मिलेर बनेका र परम्परागत माटोले लिपपोत गरेका घरहरू तथा रहनसहनले आधुनिक समाजको कुनै प्रभाव परेको जस्तो लाग्दैन । हरेकको घरमा झांगिएका बाँसका बिरुवा भादाका थारूको आम्दानीको मुख्यस्रोत हो । बाँसबाट निर्मित घरेलु सामग्रीको विक्रीबाट राम्रो आम्दानी गर्ने गरेको स्थानीयले बताएका छन् । धनगढीबाट १६ किलोमिटर दूरीमा रहेको यो गाउँलाई थारूको कला र सँस्कृतिको जीवित संग्रहालय बनाउन खोजेको अध्यक्ष चौधरीले बताए ।


प्रकाशित : पुस १८, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?