सुत्केरीलाई उपाध्यक्षको कोसेली

तृप्ति शाही

(बैतडी) — तेस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी उनले १२औं दिनमा कोसेली पाइन् । मंसिर ५ गते सुत्केरी भएकी दोगडाकेदार गाउँपालिका–५ कि द्रोपती कार्कीलाई गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले कोसेली दिएकी हुन् । पर्याप्त आराम, अरुको साथ, सहयोग र मायाको आवश्यकता हुने समयमा उपाध्यक्षले कोसेली दिँदा उनी खुसी भइन् । 

सुत्केरीलाई उपाध्यक्षको कोसेली

गर्भवती हुँदा सबै चेकजाँच पूरा गरेका र स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलालाई कार्कीले कोसेलीस्वरुप उपहार दिने गरेकी हुन् । ‘परिवार पनि आमा र बच्चाको स्वास्थ्यप्रति जिम्मेवार बनून् भन्ने हाम्रो मनसाय हो,’ उनले भनिन् । मंसिरदेखि सुरु गरेको कार्यक्रममा अहिलेसम्म १८ जनाले सेवा लिएको न्वाली स्वास्थ्यचौकीका नैनसिंह गोयलाले बताए । यो अभियानले संस्थागत सुत्केरीको संख्या बढाउनमा सहयोग पुर्‍याएको उनको भनाइ थियो ।


कोसेलीमा १ लिटर तोरीको तेल, ज्वानो, मास, मसुरो, अरहर, मटरको दाल, साबुन, सोडा, नेलकटर र स्यानेटरी प्याड लगायतका सामग्रीहरू हुने गरेको उनले बताए । ८ वटा स्वास्थ्यचौकी र ५ वटा बर्थिङ इकाइ रहेको पालिकामा कार्यक्रमको लागि चालू आर्थिक वर्षमा ४ लाख २० हजार रकम विनियोजन गरिएको छ । साथै, पालिकाले छोरी पाउने आमाहरूलाई १ हजार भत्ताको व्यवस्था पनि गरेको छ । यसले छोरीलाई हेला गर्ने चलन हट्ने अपेक्षा

गरिएको छ । पालिकालाई कुपोषणरहित बालबालिका बनाउने पनि यो अभियानको उद्देश्य रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।


पालिकाका यस्तै कार्यक्रमबाट गत आर्थिक वर्षभन्दा यो वर्षमा बालबालिकामा कुपोषणको समस्या कम भएको उनको अनुभव छ । आर्थिक वर्ष २०७५/७६ मा कडा कुपोषण देखिएका बालबालिका ८ र मध्यम कुपोषण देखिएका बालबालिका ५८ जना थिए । चालू आर्थिक वर्षको हालसम्मा कडा कुपोषण १ जनामा र मध्यम कुपोषण १४ जनामा मात्र देखिएको उनले बताए ।


कुपोषणको अवस्था शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको उनले जानकारी दिए । ‘पालिका बाहिर सुत्केरी गराउन लैजान पर्ने अवस्था भएमा गाडीभाडा खर्च दिने जस्ता कार्यक्रम ल्याएका छौं,’ उनले भने । पालिकाका वडा नम्बर ४ श्रीकोट, ५ न्वाली र ८ कटौजपानी वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकिएको छ । चालू आर्थिक वर्षभित्र १ र ३ नम्बर वडालाई घोषणा गर्ने तयारी छ । पालिकामा ८ वडा छन् ।

प्रकाशित : पुस १६, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?