बन्ध्याकरण गर्नेमा महिला धेरै

मोहन शाही

डोटी — दुर्गामाडौं लस्कर गाउँकी बिस्ना धामी ३४ वर्षकी भइन् । उनका एक छोरा र एक छोरी छन् । शारीरिक रुपमा अशक्त बिस्नाका श्रीमान् भारतमा छन् । श्रीमान्‌लाई काम गर्न अप्ठ्यारो नहोस् भनेर उनी आफैले बन्ध्याकरण गरिन् ।

बन्ध्याकरण गर्नेमा महिला धेरै

२६ वर्षकी सुनीता ऐर स्वयंसेविका हुन् । उनका श्रीमान् तेजबहादुर पेशाले शिक्षक छन् । गत वर्ष उनले पनि स्थायी बन्ध्याकरण गरिन् । दल्ल गाउँकी सुनीताले कलिलो उमेरमै दुई छोरी र एक छोरा पाइसकेपछि बन्ध्याकरण गरेकी हुन् । ‘अब सन्तानको रहर पूरा भयो,’ उनले भनिन्, ‘बूढाबूढीले सल्लाह गरेर स्थायी बन्ध्याकरण गर्ने निर्णय गर्‍यौं ।’ उनले श्रीमान्ले भन्दा आफैले बन्ध्याकरण गर्दा उपयुक्त हुने सोचेर शिविरमा पुगेको बताइन् ।


सुनीता र बिस्नाझैं श्रीमान्‌लाई अप्ठ्यारो होला भनेर आफैं बन्ध्याकरण गर्ने महिलाहरू धेरै छन् । तर पुरुषले पनि स्थायी बन्ध्याकरण गर्दा कुनै असर नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्थायी बन्ध्याकरण गर्दा पुरुषलाई भन्दा महिलालाई बढी असर पर्ने परिवार नियोजन संघ डोटीका शाखा प्रबन्धक चेतराज फुलाराले बताए । ‘महिलालाई मिनिल्याप गर्नुपर्छ, पेट चिरेर डिम्बवाहिनी नली बाँधेर काट्नुपर्छ । सजिलो हुन्न,’ फुलाराले भने, ‘पुरुषहरूको त सानो प्वाल पारेर नसा काट्ने मात्रै हो, केही असर पर्दैन ।’ तर पनि पुरुषभन्दा महिला बन्ध्याकरणका लागि अग्रसर हुने गरेका छन् ।


विगतभन्दा बन्ध्याकरण गर्ने पुरुषको संख्या बढ्दै गए पनि अझै स्थायी रुपले परिवार नियोजन गर्नुलाई आश्चर्य मान्ने गरिएको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालय डोटीले केही दिनयता जिल्लाभर बन्ध्याकरण शिविर चलाइरहेको छ । शिविरमा बन्ध्याकरण गर्नेमा महिला बढी छन् । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखा प्रमुख सूर्य बिष्टका अनुसार मंसिर ३० गतेयता सञ्चालित शिविरमा १ सय ५८ महिलाले बन्ध्याकरण र ४९ पुरुषले भ्यासेक्टोमी गरेका छन् । गत वर्ष पनि बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला नै बढी थिए ।


महिलाहरू सचेत बन्दै

इच्छाविपरीत गर्भ रहन गएपछि दुर्गामाडौं गाविसकी बिस्नादेवी भट्ट समस्यामा परिन् । यसअघि नै उनका दुई सन्तान भइसकेका थिए । श्रीमान् भारत गइसकेका थिए । छिमेकी जेठानीको सल्लाहअनुसार जडीबुटी खाएर असुरक्षित गर्भपतन गरिन् । तर, धेरै रक्तश्रावले झन्डै ज्यान गएन । परिवार नियोजनका साधनबारे थाहा नपाउँदा आफूले दुःख भोगेको उनको बुझाइ छ । अहिले गर्भ रहन नदिन सचेत बनेको भट्ट बताउँछिन् ।


नचाहँदै ४ सन्तानकी आमा बन्न पुगेकोमा सोही गाउँकी कल्पना भट्टलाई पछुतो छ । तर अब भने यसरी गर्भ रहन नसक्ने उनी दाबी गर्छिन् । महिला स्वास्थ्य स्वयम्सेविका समेत रहेकी उनी अहिले महिलाको इच्छाविपरीत गर्भ रहन नदिन पैरवी गरिरहेको बताउँछिन् ।


‘हरेक महिनाजसो हुने आमा समूहका बैठकमा परिवार नियोजनका साधनको प्रयोग र यसका फाइदाबारे छलफल गर्छौं,’ उनले भनिन्, ‘यसबारे गाउँका सबै महिला सचेत छन् ।’ सो गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत गएका छन् । भारतबाट फर्कने खबर आए महिलाहरू परिवार नियोजनका अस्थायी साधन जोहो गर्नतर्फ लाग्छन् । सन्तानको रहर पुगिसकेका र पछि सन्तान जन्माउन नचाहने महिलाले भने स्थायी बन्ध्याकरण गर्ने गरेको भट्टले बताइन् ।

प्रकाशित : पुस १५, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?