कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्यटनका लागि बेग्लै इकाइ

अल्प र दीर्घकालीन योजना निर्माण तथा निर्मित योजना कार्यान्वयनमा कार्यालय केन्द्रित हुने
अर्जुन शाह

धनगढी — पर्यटन क्षेत्रको विकासमा योजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धनगढीमा बेग्लै इकाइ कार्यालय स्थापना गरेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा पर्यटन विकासका गतिविधि सोही इकाइमार्फत सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

पर्यटनका लागि बेग्लै इकाइ

कार्यालय स्थापनाले पर्यटनसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सहज हुने मन्त्रालयका सचिव डा. दीपक खरालले बताए । सुदूरपश्चिमको प्रचुर पर्यटन सम्भावनालाई उपयोग गर्न अल्प र दीर्घकालीन योजना निर्माण तथा निर्मित योजना कार्यान्वयनमा कार्यालय केन्द्रित हुने उनको भनाइ छ ।


‘अहिले प्राकृतिक, धार्मिक, सांस्कृृतिक र कृषि पर्यटनको समय हो । सुदूरपश्चिममा चारवटै विधामा पर्यटन विकासको प्रचुर सम्भावना छ,’ उनले भने । पर्यटन विकासका सम्पूर्ण कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन गर्नु इकाइ कार्यालयको मुख्य जिम्मेवारी रहेको कार्यालय प्रमुख किशोर अर्यालले बताए । अन्य मन्त्रालयमा जस्तो जिल्ला तहमा पर्यटन क्षेत्रका योजना अनुगमन तथा कार्यान्वयन गर्न बेग्लै कार्यालय छैन । अब ती सबै कामहरू इकाइमार्फत नै हुने अर्यालको भनाइ छ ।


चालू आर्थिक वर्षमा इकाइ कार्यालय कार्यान्वयन गर्नेगरी ३९ करोड बजेट रहेको उनले जानकारी दिए । त्यसअन्तर्गत प्रदेश सरकारले गौरवकै आयोजनाका रुपमा लिएको पर्यटन करिडोर विकासका लागि १३ करोड बजेट विनियोजित छ । उक्त कार्यक्रमअन्तर्गत ३ वर्षभित्र कार्यान्वयन गरिसक्ने गरी विस्तृत रणनीतिक योजना निर्माण भइरहेको उनले बताए ।


५ वटा पर्यटन करिडोरको विकास गर्ने कार्ययोजना छ, जसअन्तर्गत खक्रौला–टीकापुर–कर्णाली हुँदै बडिमालिका, खुटिया–बीपीनगर–तेलेलेक हुँदै खप्तड, धनगढी–बुडर हुँ बझाङको साइपालसम्म, महाकाली नदी करिडोर र झुलाघाटदेखि सुर्मासम्मको पर्यटन करिडोर विकास गर्ने योजना कार्यान्वयन हुन लागेको अर्यालले बताए ।

पर्यटन प्रवर्द्धनका लागि संस्थागत विकास, होमेस्टे निर्माण, तालिम तथा क्षमता अभिवृद्धिलगायतका कार्यक्रमहरू कार्यान्वयन गरिने उनले जानकारी दिए । ‘करिडोर अन्तर्गत पर्ने गन्तव्यहरूको प्रचारप्रसार गर्छौं,’ उनले भने, ‘समुदायमा पर्यटनलाई आम्दानीसँग जोडेर हेर्ने धारणाको विकास गर्नुपर्ने आवश्यकता छ ।’


चालू आर्थिक वर्षमा प्राकृतिक पर्यटन विकासको कार्यक्रम समेत राखिएको छ । कार्यक्रमलाई एक करोडको हाराहारीमा बजेट रहेको अर्यालले बताए । कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका १० वटा प्राकृतिक गन्तव्यहरूको पर्यटन विकासका लागि गुरुयोजना निर्माण गरिने उनले बताए ।


यस्तै, प्रदेशका ७ स्थानमा पर्यटन सूचना केन्द्र स्थापना र धार्मिक तथा सांस्कृतिक पर्यटन विकासअन्तर्गत मन्दिरहरू निर्माण लगायत कार्यक्रम छन् । मन्दिर निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको छ ।


गत वर्ष यही कार्यक्रमको आलोचना भएको थियो । मन्त्रालयले गत वर्ष अधिकतम ५ लाखसम्म बजेट विनियोजन गरेर धमाधम मन्दिरमा योजना हालेको थियो । अधिकांश मन्दिरका योजनाहरू कार्यकर्ताले भनेअनुसार राखिएको र रकमको दुरुपयोग भएकोलगायत आलोचना मन्त्रालयले खेप्नुपरेको थियो । तर चालू वर्षमा सरकारले रातो किताबमै विनियोजन गरेर त्यही प्रवृत्तिको कार्यक्रम दोहोर्‍याउन लागेको हो ।


उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले मन्दिर निर्माणको योजनाको बचाउ गरिन् । ‘हाम्रो प्रदेशले पर्यटन विकासअन्तर्गत नारा नै ‘देव भूमि, सुन्दर भूमि’ तय गरेको छ,’ भट्टले भनिन्, ‘सुदूरपश्चिम देवभूमि भएकाले मठमन्दिर निर्माण र मर्मत गर्नै हुन्न भन्ने तर्क उचित होइन ।’ कार्यक्रमका नाममा बजेट दुरुपयोग हुन नदिन भने निगरानी गर्नुपर्ने उनको भनाइ छ ।


यसै वर्ष साहसिक पर्यटन विकासको कार्यक्रमसमेत राखिएको पर्यटन विकास इकाइले जनाएको छ । प्याराग्लाइडिङ र र्‍याफ्टिङ सञ्चालनमा समेत काम गर्ने योजना रहेको इकाइ प्रमुख अर्यालले बताए । यी बाहेक रातो किताबमै किटान भएर आएका अन्य पर्यटन विकासका योजनाहरू कार्यान्वयन गर्न प्राविधिकहरूको टोली फिल्डमा खटिएको इकाइ कार्यालयका योजना अधिकृत भोजराज पाठकले बताए ।


इकाइ कार्यालयमा २ जना इन्जिनियरसहित ८ जना प्राविधिकको टोली खटिएको उनले जानकारी दिए । पाठकका अनुसार कार्यालयमा प्राविधिकसहित १६ जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित : पुस १५, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?