कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गोदावरी राजधानी तोकेपछि जग्गाको मूल्य अकासियो

पाँच वर्षअघि प्रतिकट्ठा एक लाख पर्ने जग्गाको मूल्य १० लाख पुगेको छ 
मोहन बुढाऐर

(गोदावरी, कैलाली) — गोदावरी नगरपालिकामा सुदूरपश्चिमको प्रदेश राजधानीका लागि प्रस्तावित हुनुअघि १०, ११ र १२ वडामा पर्ने अलानीमा बसाइँ सर्नेको सख्या नगण्य थियो । ‘पहिले–पहिले वर्षमा २/४ परिवार यता बसाइँ आउँथे, गोदावरी छाडेर जाने ४०/५० परिवार हुन्थे,’ स्थानीय वीरबहादुर ओलीले भने, ‘प्रदेश राजधानी हुने भएपछि अहिले बसोबासको चाप बढेको छ ।’

गोदावरी राजधानी तोकेपछि जग्गाको मूल्य अकासियो

गोदावरीको अन्य ठाउँको भन्दा जमिन अझै सस्तो भएकाले पनि पहाडबाट बसाइँ सर्नेको संख्या बढेको उनको भनाइ छ । अन्यत्रबाट बसाइँ आउनेको चापसँगै नगरक्षेत्रमा खेतीयोग्य जमिन खण्डीकरण तीव्र रूपमा बढेको छ । पाँच वर्षअघि एक लाखको एक कट्ठा जग्गा अहिले १० लाख रुपैयाँ पुगेको छ ।


सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी र नामको बहसमा गोदावरीको नाम आएयता घरजग्गा कारोबारीले घरघडेरीको मनपरी मूल्य तोक्ने र प्लटिङ गरेर बेचबिखन गर्ने क्रम बढेको छ । उर्बर खेतलाई धमाधम प्लटिङ गरिएको छ । ‘घरजग्गा खोज्नेहरूको आकर्षण पनि जता राजधानी उतैतिर बढी देखिन्छ,’ जग्गा कारोबारी अजमान धामीले भने, ‘धनगढीको मुख्य बजारको भन्दा गोदावरीको अत्तरिया बजारको छेउको जग्गाको भाउ बढी छ ।’ अहिले अत्तरियासँगै गोदावरीका विभिन्न क्षेत्रमा घडेरीको मूल्य अकासिएको उनले बताए ।


राजधानीको चार किल्ला तोकिएको आसपासको क्षेत्रमा एक कट्ठाको यतिबेलाको चलनचल्ती मूल्य एक करोडभन्दा तल नभएको धामी दाबी गर्छन् । राजधानीको चार किल्ला वडा २ र ४ मा पर्ने सामुदायिक वनको क्षेत्रमा तोकिएको छ । ‘त्यो ठाउँमा पहिला कट्ठाको ५ देखि १० लाखमा बेच्नै मुस्किल थियो,’ उनले भने, ‘अहिले त्यहाँ जग्गा पाउनै सकिँदैन ।’ तेघरी ब्यारेकदेखि अत्तरियासम्मको क्षेत्रमा जग्गाको कारोबार उच्च भाउमा भइरहेको उनले बताए । त्यस्तै पूर्व–पश्चिम राजमार्ग र धनगढी–अत्तरिया राजमार्ग क्षेत्रमा किनबेच बढेकैले जग्गाको जथाभावी प्लटिङ भएको छ ।


स्थानीय भोजराज जोशीले किसानलाई फकाएर दलालले जथाभावी गराएको प्लटिङ रोक्नुपर्ने बताए । ‘गोदावरीको अत्तरिया क्षेत्रमा राजधानीको निर्णयको फाइदा घरजग्गा कारोबारीले मात्रै लिएका छन्,’ उनले भने, ‘जथाभावी प्लटिङले उर्बरभूमि खण्डीकरण मात्रै भइरहेको छ ।’ स्थानीय सरकार सञ्चालन कार्यविधि–२०७४ अनुसार नगरपालिकाबाट पास नभएका जग्गाको प्लटिङ हाललाई रोक्का छ । तर दलालले अन्य तरिकाहरू अपनाएर जग्गाको प्लटिङ गराउँदै बेचबिखनको क्रम रोकिएको छैन । अंशियारका नाममा कित्ताकाट गरी जग्गा खण्डीकरण भइरहेको छ । डडेलधुराको अजयमेरु गाउँपालिका–६ का शिक्षक चक्र पन्तले सञ्चय कोषको ऋण लिएर सुदूरपश्चिमको प्रस्तावित राजधानी गोदावरी नगरपालिका–१० ओलानीमा घडेरी जोडे । ‘जता सदरमुकाम त्यतै विकास र रोजगारीको सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले सुदूरपश्चिमको राजधानी प्रस्तावित गोदावरीमा भविष्यका लागि घरघडेरीसम्म जोडियो ।’ प्रदेशको प्रस्तावित राजधानीमा हतारहतार घडेरी जोड्ने उनी एक्ला होइनन् । सुदूरका सात पहाडी जिल्लाबाट तराईमा बसाइँसराइ गर्नेहरूको पहिलो रोजाइ अत्तरिया र गोदावरी नगर केन्द्रित छ ।


प्रदेश राजधानी हुने चर्चामा रहेका डोटी र डडेलधुराको सम्भावना समाप्त भएपछि पहाडबाट तराई बसाइँसराइ बढेको डडेलधुराका नवराज भट्ट बताउँछन् । उनी पनि डडेलधुराको होटल व्यवसायलाई अत्तरिया गोदावरीतर्फ नै सार्ने सोचमा छन् । ‘प्रदेशको राजधानी साविकको क्षेत्रीय सदरमुकाम दिपायल वा पहाडको अन्य जिल्लामा राखिएको भए, बसाइँसराइ त्यति धेरै हुने थिएन,’ उनी भन्छन् । तराईमा आधा कट्ठा जग्गा जोड्न सक्ने परिवार पहाडको दसौं बिघा जग्गा बाँझो छाडेर जान लागेको उनले बताए ।


सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्लामा दुई वर्षमा ठूलो संख्यामा बसाइँसराइ बढेको छ । सबैभन्दा धेरै गोदावरी नगरपालिकाभित्र र त्यसपछि आसपासका नगर तथा गाउँपालिकामा बसाइँसराइ बढेको तथ्यांकले देखाउँछ । गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले बितेका आठ महिनामा करिब १ हजार ५ सय घरपरिवार अन्यत्रबाट सरेर आएको बताए । ०७५ मा ३५ सय परिवारको बसाइँसराइ भएको तथ्यांकमा देखिन्छ । नगरक्षेत्रमा आएको र गएको तुलनामा ३ सय ७९ प्रतिशतले जनसंख्या वृद्धि छ । यो वर्ष गोदावरी नगरपालिकाका विभिन्न वडामा अन्यत्रबाट आएकाहरूको संख्या अझ बढी ४ सय १४ प्रतिशत भाट बताउँछन् ।


धनगढी र महेन्द्रनगरका ठूला व्यावसायिक घरानाहरूले समेत उक्त क्षेत्रमा जमिन किनेर राख्न सुरु गरेका छन् । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले प्रदेश राजधानी कायम हुने निर्णयपछि व्यावसायिक लगानी बढ्नु स्वाभाविक भएको बताए । ‘गोदावरीको अत्तरिया नगर आसपास र राजमार्ग छेउको घरजग्गामा लगानी भएको छ,’ उनले भने, ‘केहीले पूर्वाधार निर्माणको कामसमेत सुरु गरिसकेका छन् ।’ तर उनले राजधानीको निर्णय कागजमा मात्रै सीमित भएकाले व्यावसायिक लगानीको प्रतिफल प्राप्त हुन नसकेको बताए । त्यसैले अत्तरिया उद्योग वाणिज्य संघको गोदावरीमा राजधानी राख्ने निर्णयको कार्यान्वयन नै पहिलो माग रहेको उनी बताउँछन् ।


कांग्रेसका महाधिवेशन प्रतिनिधि वीरेन्द्र बमले प्रदेश सरकारले राजधानीको नाम र ठाउँ तोकेर विवाद ल्याए पनि कार्यान्वयनतिर अघि बढ्न नसकेको बताए । ‘राजधानी घोषणा गरिसकेपछि कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘राजधानी बन्ने भयो भनेर यहाँ व्यावसायिक लगानी बढेको छ, बसाइँसराइ भएको छ ।’ राजधानी हुने हो/होइन, लगानीकर्ता निराश हुन थालेको उनले बताए ।


कैलालीको तेघरी सामुदायिक वन चुरे फेद र मोहना लालझाडी अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने भएकाले यो ठाउँमा राजधानी बनाइनु हुन्न भनेर संरक्षणप्रेमीले विरोध मात्र गरेका छैनन्, सर्वोच्च अदालतमा मुद्दा पनि हालेका छन् । मुद्दा विचाराधीन रहेका कारण प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण गर्न कामकारबाही अघि बढाउन नसकेको प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले बताए । ‘भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेका छौं, अदालतबाट मुद्दा टुंगो नहुन्जेल योजना अघि बढाउन मिलेन,’ उनले भने ।

प्रकाशित : पुस १३, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?