१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भुवा पर्वको रौनक

(धनगढी) — स–साना नानीहरूदेखि ज्येष्ठ नागरिकलाई पनि नचाउने सुदुरपश्चिमको प्रसिद्ध भुवा पर्वको रौनकले बझाङलाई पनि छपक्कै छोपेको छ । बाजागाजासहित नाचिने भुवा नाच हेर्नेहरूको घुइँचोले गाउँको रौनक नै बेग्लै भएको छ । 

कौरव र पाण्डवको युद्धको सम्झनामा खेलिने यो पर्व प्रत्येक वर्षको पौष औंसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्छ । जिल्लाका विभिन्न ८० भन्दा बढी गाँउमा यो पर्व मनाउने गरिएको स्थानीय बासिन्दाहरू बताउँछन् । बाजाको लयमा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै खेलिने यो पर्व मनाउन जिल्ला बाहिर तथा विदेशमा गएकाहरू पनि घर फर्किने गर्दछन् ।


औसीको दिन गाउँका प्रत्येक घरबाट वाल्नका लागि मुढा माग्ने र राती भुवाखाडा (भुवा नाच्ने चौर) मा ठुलो आगो बालेर प्रत्येक व्यक्तिले हातमा राँको सल्काएर भुवा नाचको शुरुवात गर्ने गरिन्छ । राँको नहालिकन यसको सुरुवात भएको मानिदैन । बाजाको तालमा खुकुरी, तरवार र ढालसहित पुरुषहरूले प्रर्दशन गरेको युद्धकला (भुवा खेल) हेर्न भुवा पर्व नमनाएका गाउँका मानिसहरू पनि छिमेकी गाउँमा रमिता हेर्न आउन गर्छन् ।


भुवा पर्वमा केही परम्परागत मान्यताहरू पनि रहेका छन् । छविस पाथिभेरा गाउँपालिकाका जीवन रावल गाउँमा जुठो परेको अवस्थामा भुवाको राँको नहाल्ने परम्परा रहेको बताउँछन् ।


युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समुहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्को समुहले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सो’ भन्ने गर्दछन् । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरू बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाँउमा घुमेको र त्यहाँ विकास निमार्णका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको किंवदन्ती छ ।


पाण्डबहरूले नै विभिन्न गाँउमा भुवा पर्वको आयोजनागरि युद्ध अभ्यास गराएको कथाहरू पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विषेश आर्कषर्णको रुपमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गायनहरू पर्दछन ।

भुवा पर्व सुरु भएको दुई दिन (अर्थात औंसीको द्धितिया) लाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायत परम्परागत परिकारहरू पकाउने र इष्टमित्र तथा आफन्तहरूलाई टिको पिठाया (टिकाटालो) लगाई शुभकामना आदानप्रदान गर्ने गरिन्छ । पौष शुक्लपूर्णिमा अगाबै भुवा पर्वको विधिवत समापन गर्ने प्रचलन रहेको छ । भुवा पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोकाबली दिने गरिन्छ ।


यसै पर्वको अवसरमा बिहिबार बझाङ बाजुराबाट बसाई सरेर धनगढीमा बस्दै आएकाहरूले भुवा चाली खेलेर पर्व मनाएका छन् । बाजुरेली सेवा समाज कैलालीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम धनगढीको खुलामञ्चमा विविध कार्यक्रमसहित भुवा पर्व मनाइएको हो । पर्यटन भ्रमण बर्षसमेतलाई लक्षित गरि औपचारिक रुपमा भुवा पर्व मनाइएको आयोजकले बताए । भुवा पर्वलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी हुन् ।

मन्त्री भट्टले भुवा पर्वको उद्घाटन गर्दै प्रशिद्ध मौलिक सास्कृतिक पर्व भुवा पर्व सुदूरपश्चिमको पहिचान भएको बताइन् । बाजुरेलीहरूको मुख्य पर्व भुवाको अवसरमा प्रदेश सरकारले बिहिबार प्रदेशभर सार्वजनिक विदासमेत दिएको छ । असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको जीत भएको खुसीयालीको प्रतिविम्बका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासँगै ढाल तरवारसहित चाली खेलेर मनाएको बाजुरेली सेवा समाजको अध्यक्ष चेतबहादुर थापाले बताए ।

प्रकाशित : पुस १३, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?