महोत्सवहरू नाचगानमै सीमित

स्थानीय उत्पादनको प्रवर्द्धन, कलासंस्कृति र खानपानका परिकार विरलै देखिन थालेका छन्
अर्जुन शाह

(धनगढी) — धनगढीमा गत मंसिर अन्तिम सातादेखि आयोजित १० दिने सुदूरपश्चिम महोत्सव आयोजकले दुई सातासम्म चलाए । समापनको अघिल्लो दिन दर्शकको घुइँचो लाग्दा व्यवस्थापन गर्नै हम्मेहम्मे पर्‍यो । त्यही दिनमात्रै ५० हजार दर्शकले महोत्सव अवलोकन गरे । तर त्यहाँ आयोजकले प्रचार गरे जस्तो न सुदूरपश्चिमको परिकार फाउने माणा देखिए, न त गतानी डुप्का । बाहिरी कलाकारको नाचगानमै दर्शकहरू रमाए ।

महोत्सवहरू नाचगानमै सीमित

हरेक वर्ष आयोजना हुने यस्ता महोत्सवमा स्थानीय उत्पादन, कलासंस्कृति र खानपानका परिकार विरलै देखिन थालेका छन् । ‘धनगढीमा १३ वर्षअघिको सुरुको महोत्सवमा एक जिल्ला एक उत्पादनको स्टल थियो । स्थानीय खानाका परिकार अनिवार्य थिए,’ उद्योग वाणिज्य संघ कैलालीका संस्थापक अध्यक्ष गोपाल हमालले भने, ‘जिल्लाजिल्लाका झाकी र देउडा दोहोरीका प्रतियोगिता सञ्चालन गरिएको थियो ।’ अहिले धनगढीलगायत स्थानमा आयोजना हुने महोत्सव नाचगानमा सीमित हुँदै गएको उनले बताए ।


पछिल्ला वर्षमा सुदूरपश्चिममा मेला महोत्सवको लहर चलेको छ । एक ठाउँमा समापन भएलगत्तै अर्को ठाउँमा सुरु भइहाल्छ । पुसको पहिलो साता धनगढीमा सकियो । शुक्रबारदेखि महेन्द्रनगरमा सुरु भएको छ । पुस अन्तिम सातादेखि अत्तरियामा छ । माघको पहिलो साता टीकापुरमा र फागुनमा कञ्चनपुरमा महोत्सव सञ्चालन गर्ने योजना छ । सुदूरका अन्य सात पहाडी जिल्लामा पनि महोत्सव आयोजनाको तयारी छ ।


हरेक वर्ष मंसिर २२ गते सुरु हुने सुदूरपश्चिम महोत्सव धनगढीको ब्राण्ड भइसकेको छ । उक्त महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य संघ कैलालीले यस वर्ष १० करोड रुपैयाँभन्दा बढीको व्यापार र ५ लाख दर्शकले अवलोकन गरेको दाबी गरेको छ । टिकट विक्रीबाट ८० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको आयोजकले जनाएको छ ।


किन छ महोत्सवको आकर्षण ?

यस क्षेत्रमा झण्डै एक दशकअघि मेला महोत्सव आयोजना गर्ने चलन सुरु भएको हो । सबैजसो महोत्सव सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघले आयोजना गर्दै आएका छन् । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा महोत्सव गर्न सुरु गरेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । मुख्यगरी मनोरञ्जनकै लागि मेलामहोत्सवहरू आयोजना हुने गरेका छन् । महोत्सव आयोजना हुने समय किसानहरूका लागि फुर्सदिलो बेला हो । विद्यार्थीहरूलाई पनि पढाइ र परीक्षाको चाप पनि हुँदैन । मेलामा आम्दानी हुने भएकाले व्यापारीहरूको पनि आकर्षण छ ।


घुमफिर र रमाइलोका लागि अन्य कुनै गतिला माध्यमहरू नभएकाले सस्तोमा मनोरञ्जन लिन पाइनेस्थलका रुपमा महोत्सवहरू स्थापित भएका छन् । ‘५० रुपैयाँमा दिनभर मनोरञ्जन लिन पाइने भएकाले महोत्सव सकभर छुटाएको छैन,’ धनगढीका विवेक ओझाले भने । विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न र बच्चाहरूलाई घुमाउनसमेत सजिलो हुने भएकोले मेला नछुटाउने गरेको स्थानीय बताउँछन् । महोत्सवहरू फस्टाउनुमा सेलिब्रेटी कलाकारको उपस्थिति अर्को कारण हो । संघका सदस्य महेन्द्रबहादुर सिंहले भने, ‘चर्चित कलाकारको प्रस्तुति राख्न नसके दर्शक कम हुन्छन्, गुनासो गर्छन् ।’


नारा एकातिर, उद्देश्य अर्कैतिर

यसपटक सुदूरपश्चिम महोत्सवको नारा ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ तय गरिएको थियो । सुदूरपश्चिमको कृषि, पर्यटन, उद्योग, व्यापारको विकास तथा विकासका सम्भावना उजागर गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ थियो । तर महोत्सवको नारा नारामै सीमित भएको संघका पूर्वपदाधिकारीहरू बताउँछन् ।


संघका पूर्वअध्यक्ष हमालले पछिल्ला महोत्सवहरू रमाइलो मेलामा सीमित भएको बताए । ‘१३ वर्षअघि महोत्सवको सुरुआत गर्दा कृषि प्रदर्शनी, प्रतियोगिता र स्थानीय कृषि उपजको विक्रीलाई प्राथमिकता दिएका थियौं,’ उनले भने, ‘अहिले नारामा प्रदेशको समृद्धि लेख्ने गरिए पनि पैसाजति बाहिर जाने गरेको छ ।’


सुरुमा यस क्षेत्रको कला, साहित्य, संस्कृतिको प्रवर्द्धनमा जोड दिने कार्यक्रमहरू मात्र समावेश गरिएको हमाल बताउँछन् । त्यसबेला महोत्सवमा राखिएको सुदूरपश्चिमको फाउने माणा, गतानी डुप्कालगायत सुदूरपश्चिमका मौलिक परिकारले निकै चर्चा कमाएको सम्झँदै उनले भने, ‘सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो र वृत्तचित्रले पनि महोत्सवमा आकर्षण थपेको थियो ।’ पछिल्ला वर्षहरूमा यहाँका मौलिक सम्भावना र उत्पादनहरूका स्टल राख्न छाडिएको छ । ‘अहिलेका महोत्सवमा त जताततै प्लास्टिक र चाइनिज सामानहरूको व्यापार पो देखिन्छ,’ उनले भने ।


त्यसबेला स्थानीय उत्पादनलाई बढावा दिन जिल्लालाई एउटा स्टल नि:शुल्क गर्ने अवधारणा ल्याइएको उनले बताए । पछिल्ला वर्षहरूका महोत्सवमा त्यसो हुन नसकेको उनको भनाइ छ । बाजुरा उद्योग वाणिज्य संघका उपाध्यक्ष तुलाबहादुर रोकायाले भने, ‘सुदूरपश्चिम महोत्सवका लागि पहिले हामीलाई पनि स्टल राख्न खबर गर्थे, अहिले बोलाउँदैनन् ।’


यसपालिको महोत्सवमा ४ सय स्टलहरू राखिए पनि स्थानीय उत्पादनका स्टलहरू न्यून थिए । मौलिक खानाका परिकारको एउटा स्टल पनि राखिएको थिएन । यहाँका कलासंस्कृतिले समेत उचित स्थान नपाएको कलाकर्मीहरूले गुनासो गरेका छन् । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पदमराज जोशी महोत्सवहरूले उद्देश्य र बाटो बिराउँदै गएको बताए । व्यावसायिक लाभमा केन्द्रित हुँदा स्थानीय उत्पादनलाई न्यून प्राथमिकता दिइन थालेको उनको भनाइ छ ।


फाट्टफुट्ट स्थानीय उत्पादनका स्टल राखेकाहरू पनि व्यापार राम्रो नभएकोमा निराश थिए । चुरेका स्थानीय कृष्ण कुँवरले ८ हजार ५ सय तिरेर सिस्नो उद्योगको स्टल राखेका थिए । सिस्नोको धूलो प्रतिप्याकेट २ सय रुपैयाँ तोकिए पनि विक्री नभएर भाडाकै लगानी नउठेको सुनाए । कञ्चनपुरको बिन्दु अचार उद्योगबाट अचार खरिद गरेर स्टलमा राखेका लीलाधर भट्टले भने राम्रै व्यापार भएको बताए ।


महोत्सव महत्वपूर्ण अवसर

सुदूरपश्चिम महोत्सवले प्रदेशको विकासका मुख्य एजेन्डालाई भने उठाउन छाडेको छैन । महोत्सव सुरुयता कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन सभामुख सुवास नेम्वाङ र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई २१ बुँदे माग राख्दै २१ किलोको माला पहिर्‍याइएको थियो । यो पटक नेकपाका नेता भीम रावललाई ७ किलोको माला लगाएर प्रमुख अतिथि बनाइएको थियो । रावलसमक्ष उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले १४ वटा पूरा भइसकेकाले बाँकी ७ वटा माग पूरा गर्न पहलका लागि अनुरोध गरे ।


महोत्सवहरूमा स्थानीय उद्यमीलाई नि:शुल्क स्टलहरू उपलब्ध गराउनुपर्नेमा संघका पूर्वअध्यक्ष हमालको जोड छ । स्थानीय तहले आफ्नो पालिकाको खास संस्कृति वा उत्पादन महोत्सवमा समावेश गर्नैपर्ने नीति लिनसके महोत्सव फलदायी हुनसक्ने संघकै अर्का पूर्वअध्यक्ष दिनेश भण्डारीको भनाइ छ ।

प्रकाशित : पुस १२, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?