कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छाउपडीविरुद्ध जनचेतनामूलक कार्यक्रम

मोहन शाही

(डोटी) — विद्यालय जाने समय भइसकेको थियो । भान्सामा काम गर्दै गरेकी ममता देखापरिन् । उनका पछिपछि नीतेश दौरा सुरुवाल र ढाकाटोपीमा देखा परे । ममता र नीतेश (श्रीमान्/श्रीमती) बीच घरायसी छलफल भयो । लगत्तै पेट मिच्दै र रुँदै छोरी अस्मिता आइन् । उनीहरू आत्तिए ।

छाउपडीविरुद्ध जनचेतनामूलक कार्यक्रम

आमाले पटकपटक सोधेपछि आफू महिनावारी भएको खबर कानमा सुटुक्क सुनाइन् । पहिलोपटक छोरी महिनावारी भएको सुनेपछि भने सरस्वतीले छोरीलाई बसेको ठाउँबाट पर जान आदेश दिइन् । कसैलाई नछुन र आज विद्यालय नजान पनि अनुरोध गरिन् । विद्यालय जानका लागि अस्मिताका साथीहरू बोलाउन आए । तर उनका बुवा नीतेशले हकारेर पठाए ।


यो सबै दृश्य डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल हेरिरहेका थिए । केआईसिंह गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका छात्राहरू महिनावारी हुँदा विद्यालय जान पाउँदैनन् भन्ने खबर थाहा पाएका पौडेल गत शनिबार विद्यालयमा पुगेका थिए । सोही क्रममा सरस्वती माविका विद्यार्थीहरूले भूवनेश्वरी माविकै प्रांगणमा छाउपडी प्रथाप्रतिको अन्धविश्वासले विद्यालय आउन नपाउने समस्याबारे नाटक देखाएका हुन् । सरस्वती माविका परिवर्तनशील रेडियो स्रोता समूहका विद्यार्थी शिबि बिकले भुववनेश्वरी माविमा देखापरेको समस्या समाधानका लागि सडक नाटकमार्फत जनचेतना जगाउन लागिपरेको बताए ।


प्रजिअ पौडेलले छात्राहरूलाई विद्यालयमा आउने वातावरण बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए । विद्यालय आउनबाट रोक लगाए कानुन अनुसारको कारबाही हुने उनले बताए । शनिबार पौडेलसहित डोटीका सुरक्षा निकायका प्रमुख, पत्रकार, जनप्रतिनिधि लगायतको टोली जनचेतना जगाउन प्रहरी समुदाय साझेदारी कार्यक्रम लिएर विद्यालय पुगेका थिए ।


केआईसिंहकी उपाध्यक्ष मीना बिष्टले छाउपडी प्रथासम्बन्धी रहेको भ्रम हटाएर विद्यालयमा छात्राहरूलाई पढ्ने वातावरण बनाउन आफूहरू लागिपर्ने बताइन् । उक्त विद्यालयमा विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी) ले पैरवी गरिरहेको छ । सो कार्यक्रममा २० जना छात्राहरूमाथि गरिएको अध्ययन प्रतिवेदन समेत एफएमडीसीले सार्वजनिक गरेको थियो ।


भुवनेश्वरीका छात्राहरू विद्यालय परिसर र बाटोमा मठमन्दिर भएकाले महिनावारी भएका बेला आउन मान्दैनन् । उक्त संस्थाको प्रतिवेदनअनुसार भुवनेश्वरीमा कक्षा ६ देखि १० सम्म छात्राको संख्या ४७ रहेको छ । जसमध्ये २५ जना महिनावारी हुने गरेका छन् । ती मध्ये २० जना अहिले पनि देवीदेवता रिसाउने डरले विद्यालय आउने गरेका छैनन् । ‘घरबाट नै आउन प्रतिबन्ध छ’, कक्षा १० की इन्दिरा जोशीले भनिन्, ‘अभिभावकहरूलाई जति अनुनय विनय गरे पनि आउन नदिएकाले अरुले सम्झाइदिए प्रभाव पर्थ्यो कि जस्तो लाग्छ ।’


कार्यक्रममा अभिभावकहरूले विद्यालयमा रहेका मठमन्दिरलाई बारिदिए र देवीदेवता रहेका बाटोहरू परिवर्तन गरिदिए छात्राहरूलाई पठाउन अप्ठेरो नहुने बताएका थिए । विद्यालयमा नियमित आउन नपाउँदा छात्राहरूको पढाइ स्तर खस्कँदो रहेको शिक्षकहरूले बताएका थिए ।

प्रकाशित : पुस १२, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?