२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बिजुलीले फेरियो जीवनशैली

डोटीका २९ हजार ७१ घरधुरीमा विद्युत् मिटर जडान भएका छन्
मोहन शाही

डोटी — करी जेठाराले २०२४ सालमा भारत जाँदा पहिलो पटक बिजुली देखेका थिए । त्यसको ५२ वर्षपछि आफ्नै गाउँमा बिजुली बाले । वडा सदस्यसमेत रहेका जेठाराका लागि गाउँमा बिजुली बल्ने कुरा कल्पना बाहिर थियो । ‘विस्तारै पहाडका शहर बजारतिर पनि बिजुली बल्न थाले,’ उनले भने, ‘त्यो देख्दा मेरो गाउँमा बिजुली आउला कि जस्तो लाग्थ्यो ।’ 

बिजुलीले फेरियो जीवनशैली

उनको गाउँ केआईसिंह गाउँपालिका–२ मौडामा मंसिर ६ गते बिजुली बलेपछि उनीसहित करिब डेढ सय परिवार खुसी भएका छन् । बिजुली बलेका दिन गाउँलेहरू भोज गरे । गाउँमा आएका अतिथिहरूलाई फूलमाला र बाजागाजाले भव्य स्वागत गरे ।


बोगटान फुड्सिल गाउँपालिका पलाडीकी ३८ वर्षीया देवी बोगटीको जीवनशैली साता दिनयता फेरिएको छ । विगतमा उनी टुकीको उज्यालोमा खाना पकाउँथिन् । छोराछोरी पनि राति टुकीकै सहारामा पढ्थे । तर आजभोलि भने उनी बिजुलीको चहकिलो उज्यालोमा काम गर्छिन् । छोराछोरी उज्यालोमा रमाउँदै पढिरहेका हुन्छन् । उनी केही दिनयता फेरिएको आफ्नै जीवनशैलीप्रति दंग छिन् ।


पछिल्लो समय ग्रामीण क्षेत्रमा बिजुली पुग्ने क्रम तीव्र छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रको जीवनशैली फेरिएको छ । सडकपछि पछिल्लो समय बिजुलीकै माग चर्केको छ । ६ महिनायता मात्र डोटीका मौडा, महादेव, लोली, पलाडी, मल्लीसात, तोलेनी, डौड, गाजरी र पोखरीलगायतका बस्तीहरूमा बिजुली पुगेको छ । विद्युत्ले ग्रामीण क्षेत्रको कष्टकर जीवनमा सहजता ल्याएको स्थानीय बताउँछन् । ‘घट्टमा पिन्न जानु पर्ने र ओखलमा धान कुट्नु पर्ने दिनचर्या बिजुली पुगेका गाउँहरूबाट विस्तारै हट्दै गएको छ,’ केआईसिंह–५ का वडाध्यक्ष रामचन्द्र राणाले भने, ‘सिँचाइका लागि मोटर चलाउन होस् या टिभी मोबाइल प्रयोग गर्न होस्, बिजुलीले सजिलो बनाएको छ ।’


२९ हजार घरधुरीमा बिजुली


डोटीस्थित साना विद्युत् वितरण शाखाका अनुसार २९ हजार ७१ घरधुरीमा विद्युत् मिटर जडान छन् । यहाँ ४१ हजार ४६० घरधुरी रहेको वितरण शाखाका प्राविधिक विश्वनाथ साहले बताए । चालू आर्थिक वर्षभित्र बाँकी घरहरूमा बिजुली पुर्‍याउने लक्ष्य छ ।


‘९ स्थानीय तहमध्ये बडीकेदार र बोगटान राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छैनन्,’ साहले भने, ‘चालू आर्थिक वर्षभित्र प्रसारण लाइन जोड्ने तयारीमा लागेका छौं ।’ बडीकेदारमा २ हजार ७४४ घरधुरी छन् । बडीकेदारको बीपीनगरमा स्थानीय कापडीगाढबाट विद्युत् निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि स्थानीयलाई वितरण गरेको छैन । बोगटानका विभिन्न गाउँमा स्थानीय जलविद्युत्बाट बिजुली निकालेर बाल्दै

आएका छन् ।


सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा बिजुली पुगेको छ । ७ हजार ५१२ घरधुरीमध्ये ७ हजार २१५ मा बिजुली पुगेको छ । त्यस्तै शिखरमा ६ हजार ७२५ घरधुरीमध्ये ६ हजार ५४७ मा, पूर्वीचौकीका ४ हजार ८०१ मध्ये ३ हजार ३४७ मा, केआईसिंहका ४ हजार २९७ मध्ये ३ हजार ८ सयमा, जोरायालका ३ हजार ८४३ मध्ये २ हजार ३६५ मा र आदर्शका ४ हजार ७८९ घरधुरीमध्ये ३ हजार घरधुरीमा बिजुली पुगेको छ ।


तीन वर्षपछि उज्यालो

कुनै बेला झिलिमिली गाउँका रुपमा चिनिने सायल गाउँपालिका ३ वर्षसम्म अन्धकारमय भयो । २०७२ को बाढीले स्थानीय साइलीगाड र सानीगाडका चार वटा लघुजलविद्युत्‌मा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति बन्द भएको थियो ।

अहिले राष्ट्रिय प्रसारण लाइनसँग जोडेपछि भने सायल गाउँपालिका पुरानै लयमा फर्किएको छ । यद्यपि सायल–२, ३, ४ र ५ मा निर्माण गरिएका विद्युत् गृह र कुलोका भने हालसम्म पनि मर्मत हुन नसकेको स्थानीय डिलबहादुर सिंहले भने । उनका अनुसार प्रतिआयोजना ४० लाखदेखि ९० लाख रुपैयाँसम्म लगानी गरिएको थियो ।


सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलो पटक बिजुली डोटीको दिपायलमा निकालिएको थियो । दिपायल कुल्पाते नजिकैको समूहागाढ खोलामा विसं २०३८ मा बिजुली निकालिएको थियो । २ सय किलोवाट क्षमताको विद्युत्ले दिपायलस्थित सरकारी कार्यालयहरू झिलिमिली हुने गरेको थियो । २०६६ भदौमा आएको बाढीपहिरोले उक्त विद्युत् गृहमा क्षति पु‍र्‍याएपछि भने अहिले बेवारिसे अवस्थामा छ । त्यहाँ रहेका महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित : पुस ११, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?