कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कलिलै उमेरमा आमा

मेनुका ढुंगाना

(अछाम) — ढकारी गाउँपालिका–५ कि नैना साउद १९ वर्षमा २ सन्तानकी आमा भइसकिन् । १५ वर्षको हुँदा भागेर विवाह गरेकी उनी अहिले गर्भवती छिन् । ‘७ कक्षामा पढाइ छोडियो । परिवार नियोजनका साधनबारे जानकारी छैन,’ उनले भनिन् । मंगलसैन नगरपालिका–१३ की सावित्रा ढोली पनि १९ वर्षमा ३ सन्तानकी आमा भइसकिन् । उनले पनि पढ्दापढ्दै गाउँमै भागी विवाह गरेकी हुन् । गर्भ जाँच गर्न बस्ती स्वास्थ्य चौकी पुगेकी उनले भनिन्, ‘स्वास्थ्य कमजोर हुँदै गएको छ । दुई पटक त गर्भ नै खेर गइसक्यो ।’

कलिलै उमेरमा आमा

नैना र सावित्रा प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय अछाममा १५/१६ वर्षको कलिलै उमेरमा विवाह गर्ने किशोरीको संख्या बढ्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा गर्भ जाँच गर्न स्वास्थ्य संस्थामा पुग्नेमा २० वर्षमुनिका किशोरीहरूको संख्या बढिरहेको छ । कतिपय महिलाहरू स्वास्थ्य संस्थाको सम्पर्कमा समेत आउँदैनन् ।


सञ्चार क्षेत्रको विकास भएसँगै ग्रामीण क्षेत्रका नागरिकको हातहातमा मोबाइल फोन र इन्टरनेट सेवा पुगेको छ । त्यसैको माध्यमबाट भागी बिहे गर्ने चलनले यहाँका धेरै किशोरीहरू कलिलै उमेरमा आमा बनेको सरोकारवाला बताउँछन् । ‘इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिला हिंसा मात्रै होइन, मानव बेचबिखनजस्ता जघन्य अपराधसमेत बढेको छ,’ दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक शिव थापाले भने, ‘फेसबुक र फोनको कुराबाट आकर्षित भएर उमेर नपुग्दै भागी विवाह गर्ने चलन बढेको छ ।’


गत आर्थिक वर्षमा जिल्लाभर ७ हजार ३१५ महिलाले गर्भ जाँच गराएको र त्यसमा १ हजार ४०६ जना महिला २० वर्ष मुनिका किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक छ । प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गर्ने ४ हजार ६१७ जनामध्ये ७ सय ५९ जना २० वर्षमुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा ७ हजार ७०१ जना गर्भवतीले जाँच गराएकोमा १ हजार ४१५ जना २० वर्ष मुनि उमेरका गर्भवती थिए । आर्थिक वर्ष २०७२/७३ मा ७ हजार ६६९ जनाले गर्भवती जाँच गराएकोमध्ये १ हजार ६७७ जना २० वर्षमुनिका थिए ।


सानो उमेरमा विवाह गरेर गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ । गर्भ जाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवतीको संख्या पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘१६/१७ वर्षका, कलिलो उमेरका किशोरीहरू वास्तविक उमेर बताउँदैनन्, २० वर्षभन्दा बढी नै भन्छन्’ उनले भनिन् । वास्तविक उमेर नभन्नेहरू धेरै भएकाले गर्भवती किशोरीको संख्या बढ्न सक्ने उनले बताइन् ।


बालविवाह नियन्त्रण नगर्दासम्म यो समस्या वर्षेनि बढ्दै जाने माझी बताउँछिन् । ‘धेरै किशोरी गर्भवती सामान्य तरिकाले बच्चा जन्माउन सक्दैनन्, शल्यक्रिया गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘यसले आमा र बच्चाको स्वास्थ्यमा ठूलो समस्या आउँछ ।’ दुर्गमका स्वास्थ्यचौकीमा शल्यक्रिया गर्ने दक्ष स्वास्थ्यकर्मीको अभाव र उपकरणको कमीले झनै समस्या भएको उनले बताइन् । उमेर नपुग्दै विवाह गर्नु कानुनी रुपमा दण्डनीय भए पनि जिल्लामा बालविवाह नियन्त्रण गर्ने निकाय नै नभएको जस्तो अवस्था छ । हालसम्म जिल्लामा बालविवाह गर्ने कति छन् भन्ने तथ्यांक समेत भेटिँदैन ।

प्रकाशित : पुस १०, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?