कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बलात्कार पीडितको बिचल्ली

(बझाङ) — २०७६ असोज १८ गते फूलपातीको दिन । समय ११ बजे राति । दिनभर गाउँ दशैंको रमझममा गुल्जार थियो । कुल पूजा र स्थानीय क्लबहरूले गरेको सांस्कृतिक कार्यक्रममा सहभागी भएका अधिकांश घरका मानिसहरू गच्छेअनुसार मीठोमसिनो खाएर सुतिसकेका थिए । विनिता दर्जी (नाम परिर्वतन) आफ्नो सानो कटेरो जस्तै घरमा तीन वर्षीया छोरी र पाँच वर्षको छोराको साथमा मस्त निद्रामा थिइन् । 

बलात्कार पीडितको बिचल्ली

बड्याङ्ग ढोकामा हानेको लात्ताको आवाजले उनको निद्रा भंग भयो । बच्चाहरू झस्किँदै उठे । बलियो लात्ताले हान्दा काठको आग्लो भाँच्चिएर ढोका खुलिसकेको थियो । हातमा मोबाइलको टर्च बालेर उनका छिमेकी ६३ वर्षीय रामभक्त दमाई भित्र छिरिसकेका थिए । रक्सीले मातेका उनी सिधै विनीताको ओछ्यानमा पुगेर जबर्जस्ती गर्न खोजे । संयोगले उनी रामभक्तको फन्दाबाट उम्केर एकजना छिमेकी महिलाको घरमा पुगिन् ।


‘ऊ भित्रै बसेर केके भन्दै थियो । म आफ्नो इज्जत बचाउन छिमेकी जेठानीको घरमा गएँ,’ उनले भनिन्, ‘त्यो भागेपछि घर फर्किन्छु भनेर आधा घण्टा जति उतै बसेँ ।’ आधा घण्टापछि अब त गयो होला भनेर जब जेठानीसँगै फर्किइन् । घरभित्रको दृश्य देखेर उनको होस उड्यो । छोरा उठेर रोइरहेको थियो । तीन वर्षीया छोरी ओछ्यानमा लासजस्तै पल्टिएकी थिइन् । उनको योनिबाट निरन्तर रगत बगिरहेको थियो । ओछ्यानभरि रगतै रगत थियो । ‘पापीले दूधे छोरीलाई पनि छोडेनछ । म त आकाशबाट खसेजस्तै भएँ । केही सोच्न सकिनँ,’ विनिताले भनिन्, ‘छोरीलाई लिएर राति नै सरासर पुलिस चौकी पुगेँ ।’


प्रहरीले रातारात उनलाई जिल्ला अस्पताल पठायो । करिब दुई हप्ताको उपचारपछि छोरीले आँखा खोलिन् । प्रहरीले रामभक्तलाई पक्राउ गर्‍यो । बालिका बलात्कारको अभियोगमा रामभक्तलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । तर दर्जी परिवारको पीडा कम भएको छैन । छोरी अहिले पहिला जस्तो हाँस्ने खेल्ने गर्न सक्दिनन् । बेलाबेला बिरामी भइरहन्छिन् ।


छोरी बलात्कृत भएको खबर सुनेपछि भारतको बेंग्लोरमा चौकीदारी पेशा गरिरहेका उनका बुबा घर फर्किएका छन् । भारतकै कमाइले परिवार धानेका उनको परिवारलाई खान लाउनको समस्या छ । छोरीको निरन्तर उपचारको खर्च बेहोर्नु पर्दा ऋण थपिएको थपियै छ । पीडित बालिकाका बुबा कसैले छोरीको उपचार र पढाइका लागि सहयोग गरिदिन्छ कि भनेर सदरमुकाम धाइरहेका छन् । उनी भन्छन्, ‘नाबालक छोरीमाथि राक्षसले आक्रमण त गर्‍यो । मेरो सिंगै परिवारको पनि बिचल्ली बनाइदियो ।’

प्रकाशित : पुस ९, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?