कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एउटै गरामा सुन्तला र आँप

मोहन बुढाऐर

मोहन्याल, कैलाली — सामान्यतया गर्मीमा आँप र चिसोमा सुन्तला फल्छ । दुवै फल एकै ठाउँमा फल्ने कमै मात्र हुन्छ । तर, ७५ वर्षीय कमलसिंह बमले चुरे पहाडस्थित एउटै गरामा आँप र सुन्तला फलाउँदै आएका छन् । उनको खेतीले चुरे क्षेत्रमा फलफूल उत्पादनको प्रचुर सम्भावना उजागर गरेको छ । 

उनले एउटै गरामा १५/२० बोट आँप र सुन्तला लगाएका हुन् । ‘बाह्रैमास ठिक्कको मौसम हुने यो ठाउँमा बुढेसकालमा आराम गर्न फर्केको थिएँ,’ बमले भने, ‘सबै प्रकारका फलफूल लगाएँ, राम्रै फल्यो पनि ।’ परीक्षणको रूपमा लगाएको ओखर र नासपाती पनि एउटै गरामा फलेको उनी बताउँछन् । ‘कागती र अदुवा खेती पनि हुने रहेछ,’ उनले भने । यो ठाउँ कृषिमा प्रचुर सम्भावना बोकेको उनको ठम्याइ छ ।


चुरेको महाभारतर्फ मुख फर्केको उत्तरी पाखो क्षेत्र फलफूल व्यवसायका लागि अति उत्तम रहेको अर्का स्थानीय वीरेन्द्र बमको भनाइ छ । सरकारले किसानलाई प्राविधिक र अनुदान सहयोग उपलब्ध गराएमा फलफूल, अदुवा, कागती र टिमुर खेतीबाट चुरेको बस्ती समृद्ध हुन सक्ने उनी बताउँछन् । यहाँका बासिन्दाले परम्परागत बाली मात्रै लगाउने गरेका छन्, जसले उत्पादन वर्ष दिन पनि खान पुग्दैन । सोही कारण कामका लागि भारत पलायन र तराई बसाइसराइँको क्रम पनि बढ्दो छ ।


‘चुरेको कृषि सम्भावना अध्ययन गरी आधुनिक कृषि कार्यक्रम सुरु गर्न सके केही वर्षमा आर्थिक विकास हुन्छ,’ उनले भने, ‘भारत पलायन पनि रोकिन्छ ।’ उनका अनुसार तराईबाट ३० किलोमिटर दूरीमा रहेको चुरेको उत्पादनलाई बजार पनि टाढा छैन । बमले भने, ‘बजारका लागि एउटा कृषि सडक भए पुग्छ ।’ तर, जथाभावी ट्र×्याक मात्रै खुलेका सडकले विकासभन्दा विनाश मात्रै भइरहेको उनले बताए । यस्ता सडकले पानीको मूल सुकेर केही बस्ती काकाकुल पनि बन्दै गएको उनले जानकारी दिए ।


कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्ट एउटै गरामा सुन्तला र आँप फल्नुलाई जलवायु परिवर्तनको असर भन्छन् । ‘चुरेको फेद औलमा आम, लिची र कटहर जस्ता फलफूल हुन सक्छ,’ उनले भने, ‘चुरेको माथि अग्लो डाँडामा भने सुन्तला र मौसम जातका फलफूलका लागि उपयुक्त हावापानी छ ।’


त्यहाँ पछिल्लो समयमा तापक्रम बढ्दै गएकोले आँप फल्न लागेको उनले बताए । उनले चुरेको निँगालीलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम लागू गरिएको बताए । मोहन्यालतर्फ पनि प्रांगारिक क्षेत्र स्थापनाको कार्यक्रम लैजान लागेको उनले जानकारी दिए । मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले चुरे क्षेत्रमा ‘अध्यक्ष आधुनिक कृषि परियोजना’ लागू गर्न लागेको बताए ।

प्रकाशित : पुस ७, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?