कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ठूला नेताकै गाउँमा छाउपडी

मोहन शाही

(डोटी) — महिनावारी भएका बेला छात्राहरूलाई विद्यालय जानबाट वञ्चित गराइएको समाचारले डोटीको केआईसिंह गाउँपालिका–५ स्थित जमलकट्टे गाउँ केही दिनयता चर्चामा छ । पत्रकार, नेता, संघसंस्थादेखि प्रशासन समेतको ध्यानाकर्षण बढेको छ । यतिसम्म कि संघीय संसद्मा समेत कुरा उठेको छ ।

जमलकट्टेस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अहिले पनि छात्राहरू महिनावारीका बेला जाँदैनन् । विद्यालय आउने बाटो र परिसरभित्र देवीदेवताका मठमन्दिरहरू रहेकाले घरपरिवारले पढ्न पठाउन नमानेको कक्षा १० की छात्रा इन्दिरा जोशीले बताइन् । महिनावारीका बेला विद्यालय जाँदा अनिष्ट हुन्छ भन्ने सामाजिक मान्यता छ ।


२१औं शताब्दीमा पनि देवीदेवताका डरले विद्यालय नजाने अवस्था रहेको जमलकट्टे ठूला नेताहरूको गाउँ हो । ‘ठूला नेताकै गाउँमा छोरीहरूले शिक्षाजस्तो मौलिक अधिकारबाट वञ्चित हुनुपरेको छ,’ महिला अधिकार सञ्जाल केआईसिंहकी अध्यक्ष नन्दा बिष्टले भनिन्, ‘विद्यालयको अवस्था र समुदायको सोच परिवर्तनमा नेताहरूको भूमिका अत्यावश्यक छ ।’ छात्राहरूले अहिलेसम्म कुनै पनि संघसंस्था, नेता, जनप्रतिनिधि तथा विद्यालयबाट छाउपडी प्रथाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन नगरेको गुनासो गरे । विद्यालयको शौचालय दुर्गन्धित र अव्यवस्थित रहेकाले पनि महिनावारीका बेला विद्यालय आउन मन नलाग्ने केही छात्राको गुनासो छ ।


केआईसिंह–६ मा पर्ने फन्नी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाउँ हो । फन्नीकै छिमेकी गाउँ हो वडा नं. ५ मा पर्ने जमलकट्टे । जमलकट्टे र फन्नी गाउँ एउटै डाँडाको पूर्व र पश्चिममा पर्छन् । जमलकट्टे गाउँकी स्थानीय बासिन्दा हुन्, अर्की नेता सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशी । जमलकट्टेमा अधिकांश उनकै परिवार र इष्टमित्रको बाहुल्य छ । उनका श्रीमान् यज्ञराज जोशी पनि नेता हुन् । जोशी अहिले डोटी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । जोशी तत्कालीन एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार समेत थिए ।


केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही पनि सोही वडाका बासिन्दा हुन् । वडा नं. ५ को केदारगाउँमा उनको घर पर्छ । ‘गाउँपालिका अध्यक्षदेखि प्रदेशका सांसद र मुख्यमन्त्रीको यही घर छ । तर, त्यही गाउँमा अहिले पनि देवताको डरले छात्राहरू विद्यालय जान पाउँदैनन् भन्नु कतिसम्मको लाजमर्दो विषय हो ?,’ सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मीन राणाले रानागाउँ स्थानीय सभाको बैठकमा भने ।


छात्राहरूलाई विद्यालय आउने वातावरण बनाउन वडा नं ५ का नागरिक समाजको समेत छलफल भएको छ । विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडीसी) ले आयोजना गरेको रानागाउँ स्थानीय सभाको बैठकमा नागरिक समाजका अगुवाहरूले छाउपडी प्रथाबारे जनचेतनामूलक अभियानमार्फत पैरवी गर्ने प्रतिबद्धता गरेका छन् ।






प्रकाशित : पुस ६, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?