२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हराउँदै परम्परागत बाजा

मेनुका ढुंगाना

(अछाम) — अछामको कमलबजार नगरपालिकाका तुलाराम ढोली कुनै बेला व्यावसायिक रूपमा बाजा बजाउने काम गर्थे । विवाह र व्रतबन्धमा उनको बाजा बजाउने समूहको अछाम, बाजुरा, दैलेख र कालीकोटसम्म माग हुन्थ्यो । अहिले उनलाई निम्तो आउनै छाडेको छ । ‘पञ्चेबाजा र हुड्केउलीको लागि सेराको हुड्के सबै ठाउँ चिनिएको थियो ।

हराउँदै परम्परागत बाजा

अहिले त विवाह व्रतबन्धमा पनि कसैले बोलाउँदैनन्,’ उनले भने, ‘पुरानो चलनअनुसार बिहे गर्नेहरू नै कम छन् । परम्परागत बाजाको ठाउँ ब्यान्डबाजाले लिन थालेको छ ।’


मंगलसैन नगरपालिका–५ का काले दमाई विवाह, व्रतबन्धमा दमाहा बजाउन र हुड्केउली नाच्न पहिले निकै व्यस्त हुन्थे । अहिले उनले आफ्नो पुरानो कामलाई निन्तरता दिने ठाउँ पाउन छोडेका छन् । यसरी दमाहा बजाउँदा उनको दैनिक गुजारा पनि चल्थ्यो । काम पाउन छोडेपछि निराश भएका छन् । जामा, पगडी र घाँटीमा दमाहा झुन्ड्याएर उत्साहित हुँदै गाउँगाउँ पुग्ने गरेका उनी अहिले फुर्सदिला भएका छन् । ‘अहिले गाउँमा ठूलो बिहे कहिलेकाहीँ मात्र हुन्छ, पञ्चेबाजा बजाउँदैनन्,’ उनले भने, ‘विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा हाम्रो संस्कृति नै देखिँदैन ।’ शुभकार्यमा पुरानो संस्कृति र पेसाको संरक्षण गरे संस्कार पनि बच्ने उनको भनाइ छ । पछिल्लो पुस्ताले बिर्सन थालेको संस्कृतिलाई मेला महोत्सवमा प्राथमिकता दिनुपर्ने मंगलसैन–५ का ६५ वर्षीय कम्मानसिंह नगार्जीले बताए ।


‘पञ्चेबाजा, दमाहा, हुड्केउली बजाउने कामै पर्दैन । अहिलेको युवापुस्ता यस्ता काममा लजाउँछन् । चासो दिँदैनन्,’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा यस्ता संस्कृतिबारे जानकारी गराए युवाहरूमा हौसला बढ्न सक्छ ।’ कम्मान सिंहका अनुसार पुरुषले पञ्चेबाजा, हुड्के, दमाहा र महिलाले पुतला, न्याउले, रत्यौली जस्ता नाचहरू देखाउँथे । ‘हाम्रो पहिचान र संस्कृतिलाई महिलाहरूले पनि संरक्षण गर्न लाग्नुपर्छ भनेर पुतला नाच, देउडा, रत्यौलीलाई निरन्तरता दिनुपर्छ ।’


दुःखसुखमा देउडा

सूदुरपश्चिम र कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा देउडालाई लिने गरिएको छ । ठाडो भाका, न्याउले, देउडा दोहोरीको माध्यमबाट धेरैजसोले सुखदुःखका भावहरू व्यक्त गर्दछन् । विवाह, व्रतबन्ध र शुभकार्यमा रत्यौली खेलेर यहाँका महिलाहरू रमाइलो गर्छन् भने मेलापात होस् या एक्लै काममा निस्किँदा होस् दुःख र व्यथालाई पनि ठाडो भाकाको माध्यमबाटै प्रस्तुत गर्दछन् ।

जुन भन्दा तेपाया राम्डा, तारा किरिकिटी । दूध भनी लायाको माया, किन छिरबिटी ।।


मंगलसैन–६ की निर्मला जैसी गाउँघरमा हुने विवाह व्रतबन्धमा देउडा दोहोरी खेल्छन् । देउडामा प्रयोग हुने सबै शब्दले अर्थ दिने उनी बताउँछिन् । उनका अनुसार ‘जुनभन्दा तेपाया राम्डा, तारा किरिकिटी’ यहाँ जुनभन्दा टलक्क टल्किने चन्द्रमालाई तेपाया नाम दिइएको छ । जसले प्रेम सम्बन्धमा कुनै पनि दाग छैन भन्ने अर्थ दिएको छ । तारा सानो हुने भएकाले खासै चम्किलो हुँदैन भन्ने अर्थ दिएको छ । ‘दूध भनी लायाको माया, किन छिरबिटी’ दूधलाई पवित्र मानिन्छ । कुनै प्रेम जोडीले सुरुमा गाँसेको सम्बन्ध दूध जस्तै पवित्र भएको र समाजमा आउने हरेक बाध्यताले गर्दा प्रेम जोडीले मूर्तरूप दिन नसक्दा सम्बन्ध यत्रतत्र भएको कुरालाई देखाउन खोजिएको छ । यो पंक्ति मायाप्रेमसँग सम्बन्धित छ ।


देउडामा मायाप्रेम, सुखदुःख, पीडाभाव समेटिएको हुन्छन् । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा विवाह व्रतबन्धमा अनिवार्य रूपमा खेलिने देउडा पछिल्लो समयमा विकृतितिर बढी ढल्किएको उनी बताउँछन् ।


अछाम जिल्लाका धेरैजसो पुरुषहरू धन कमाउन भारत जाँदा उताबाट आउने चिठीमा देउडा गीतमै चिठी आउने गरेको उनी स्मरण गर्छन् । कामको क्रममा भारतलगायत अन्य मुलुकमा गएका पुरुषहरूले यसरी देउडा गीतमार्फत दुःख सुनाउने गरेको उनी बताउँछिन् । अहिले प्रविधिको विकास भएसँगै चिठीको जमानासँगै देउडाप्रतिको मोह पनि घटेको उनको ठहर छ । अहिले गाउँघरमा हुने विवाह व्रतबन्धमा खेलिने रत्यौली पनि लोपोन्मुख अवस्थामा पुगेको मंगलसेन नगरपालिका ७ का कित्थे दमाई बताउँछन् । ‘यो पुस्ता हुने बेलासम्म मात्र यो संस्कृति रहनेछ । त्यसपछि यसको परिचय नै भेट्टाउन मुस्किल हुन्छ कि जस्तो लाग्छ,’ उनले भने, ‘अहिलेका छोराछोरीले देउडाको बारेमा चासो लिँदैनन् । यस्ता गीतहरू रेडियोहरूमा बज्दा ब्यान्ड बदल्छन् । यो दुखद पक्ष हो ।’


पञ्चेबाजा हराउँदै

पछिल्लो समय पञ्चेबाजा संरक्षणको अभावमा लोप हुँदै गएको छ । विवाह–व्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा लगभग बज्नै छाडेका छन् । नेपाली समुदायले परम्परागत रूपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । समुदायको पुर्ख्यौली पेसालाई युवापुस्ताले स्वीकार नगर्दा संस्कृति नै हराउन थालेको कमलबजार नगरपालिका–३ का कृष्णबहादुर नेपालीले बताए । ‘अहिले त कसैले बजाउन मान्दैनन् । भएका बाजाको समेत माग हराउन थालेको छ । हुन त अहिले विभिन्न आधुनिक बाजाहरू भित्रिएर होला,’ उनले भने ।


पञ्चेबाजाअन्तर्गत सनाई, ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नल र विकुललगायतका बाजाहरू पर्दछन् । पहिले एउटा समूहमा १० जनाभन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेको भए पनि अहिले भने यो समूहसमेत खुम्चिँदै जान थालेको छ । यही कारण जाति तथा समुदाय पहिचान बोकेको कलासंस्कृतिको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता परम्परागत बाजागाजालाई जगेर्ना गर्न स्थानीय सरकारले सहयोगी भूमिका निर्वाह हुनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : पुस ४, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?