कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्टेक मर्मत नहुँदा खेत बाँझै

‘१२ लाखमा पक्की इन्टेक र ५ सय मिटर मूल नहर ०५८ मा सम्पन्न भएको थियो, तर दिगो हुन सकेन’
मोहन बुढाऐर

(मोहन्याल, कैलाली) — डेड सय वर्ष पहिले कैलाली पन्डौन कठिउरका तालुकदार मुखिया ऐभान बमले पट्रेनी खेतमा लाग्ने सिँचाइ कुलो खनाए । जनश्रमदानद्वारा विकासको नमुना काम भएको भन्दै डोटी गौंडाका तत्कालीन बडाहाकिमले गाउँको एक वर्षको पोत मिनाहा गरिदिए ।

इन्टेक मर्मत नहुँदा खेत बाँझै

‘एक मुरी फल्ने खेतमा कुलो बनेपछि १० मुरी धान फल्यो,’ रजवारका पाँचौं पुस्ताका टेक बमले भने, ‘थोरै जग्गा खेत भएको परिवारले पनि खाद्य संकट भोग्नु परेन ।’ उनका अनुसार चुरेको उत्तरतर्फका कठिउर, सीमलगायतका बस्तीको कमाइ खाने खेत पट्रेनीमा थियो । पटरेनी चुरेको उत्तरी फेद ठुलीगाड किनारमा पर्छ ।


‘खेत छेउको ठुलीगाडको पानी सलल बगेर त्यसै खेर गइरहेको थियो,’ उनले भने, ‘यहाँका किसान आकासे पानीकै भरमा खेती गर्ने गर्दथ्ये । एक साल अनाबृष्टि भयो । उत्पादन भएन र भोकमरि भयो । त्यसपछि हाम्रा परबाजे तत्कालीन तालुकदार मुखिया एैभानले खेत सिँंचित गर्ने कुलो खनाउन लगाएका हुन् ।’


उनका अनुसार त्यसबेला पटरेनीमा खेत भएका करिब २ सय परिवारले २ महिना लगाएर ३ किमि कुलो खनेका थिए । बर्खामा कुलोको बाँध (इनटेक) बाढीले भत्काए पनि पुनर्निर्माण गरी खेत सिँंचित गरिदै आएको थियो । ‘१०/१५ दिन गाउँले कुलोमा श्रमदान गर्थे,’ उनले भने, ‘घरको एक जना पुरुष वा महिलाको कुलोमा श्रमदानमा जुट्थे ।’ कुलो मर्मतसंभारमा जाने चलनलाई पछि ‘कुलावान’ भन्न थालियो । कुलोको बाँध बाधिने ठाउँको नामसमेत ‘कुलावान’ रहन गयो ।


‘त्यसबेला गाउँलेको श्रमदानबाट कुलोमा पानी बगाउने चलन तराई चिसापानीमा चल्यो,’ अर्का ज्येष्ठ नागरिक कमल सिंहले भने, ‘थारुहरू खेतको सिँचाइ गर्न कर्णालीको पानी चिसापानीबाट कुलो खनेर पुर्‍याउँथे । सबै गाउँले मिलेर कर्णालीमा अस्थायी बाँध बाधेर कुलोमा पानी बगाउँथे ।’ अहिले उक्त परम्परागत सिँचाई प्रणालीमा रानी, जमरा सिँचाई आयोजना लागु भएको छ । तर पट्रेनी परम्परागत कुलोमा भने सरकारी योजना २०५७ मा परेको पट्रेनी कुलो उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र बमले बताए । ‘धेरै प्रयासपछि परम्परागत कुलोको स्थायी इन्टेक र क्यानल निर्माणको योजना पार्न सफल भयौं,’ उनले भने, ‘१२ लाखको बजेटमा पक्की इन्टेक र ५ सय मिटर मुल नहर ०५८ मा सम्पन्न गरेका थियौं । तर दिगो हुन सकेन ।’


उनका अनुसार ०६५ असोजमा आएको बाढीले कुलोको इन्टेक बगायो । प्राविधिकले कुलोको इन्टेक गलत ठाउँमा बनाएकाले दिगो नरहेको बमको भनाइ छ । ‘गाउँलेले जहाँबाट कुलोमा पानी बगाउने अस्थायी बाँध बाध्ने गरेका थिए, त्यहीं ठाउँमा इन्टेक बनाउनु पर्थ्यो,’ उनले भने, ‘तर प्राविधिकले रजमा खोलामा इन्टेक बनायो । खोलामा बाढी आउँदा बग्यो ।’


इन्टेक पुनर्निर्माणको काम हालसम्म भएको छैन् । स्थानीयले फेरि बाबुबाजेको जसरी श्रमदान गरेर ठुलीगाडको पानी कुलोमा बगाएर खेत सिँचित गर्दै आएको उनी बताउँछन् । ‘तर अस्थायी बाँधबाट कुलोमा बग्ने पानीले बाह्रै महिना खेत सिंचित गर्न पाएका छैनौं,’ स्थानीय भुवन ताडीले भने, ‘सरकारले परम्परागत कुलोको इनटेक पुन:निर्माण गरिदिनु पर्छ ।’ उनी इन्टेक पुन:निर्माण भए, सिंचित क्षेत्रसमेत बढ्ने बताउँछन् ।


खेत बाँझै

‘धान धेरै फल्ने खेत भएकाले मोहन्याल ५ कटौजे बस्तीको कमाईखाने खेतको नाम नै धनाडी रहन गएको थियो,’ स्थानीय वीरबहादुर सिँजालीले भने, ‘चुरेको उत्तरी बस्तीको कुलो लाग्ने धनाडी खेत अहिले बाझैं छ ।’ उनले मुल संरक्षण नहुँदा परम्परागत कुलोमा पानी सञ्चालन हुन नसकेको बताए । ‘पहिला खेतको सिरानको खोला फुट्ने पानीको मुलको कुलो खेतमा लाग्ने गरेको थियो,’ उनले भने, ‘मुलमाथिको डाँडाबाट डोजरले सडकले ट्रयाक खनेपछि मुल सुक्यो । कुलोमा पानी सञ्चालन पनि बन्द भयो । अहिले खेत बाँझै छन् ।’


उनले खेत सिँचाईको अभावमा बाँझो रहेको बताए । उनले थपे, ‘खेत सिँचाई गर्ने खेतको पानीले गाउँले घट्ट थियो । अहिले त्यो पनि बन्द रहेको छ ।’ अर्का स्थानीय पहलसिंह बटामगरले सरकारले ८/१० लाखको योजना भए कुलो पुन: अर्को मूलबाट पानी सञ्चालन गर्न सकिने सम्भावना औल्याउँछन् । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारको बजेट चुरेमा सडक खन्ने योजनामा बजेट र रकम खर्चदै छ,’ उनले भने, ‘यहाँका परम्परागत कुलोको संरक्षणमा थोरै लगानी गरेको भए चुरेका बासिन्दाको कमाई खाने खाने खेत सिंँचित हुने थियो ।’ उनले परम्परागत कुलोको सिँचाई प्रणालीमा सरकारी योजनाका लागि पहल गर्दासमेत स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान पुग्न नसकेको बताए ।


त्यस्तै स्थानीय शिक्षक मीनबहादुर चन्दले चुरे बस्तीको समृद्धिको आधार पनि यहाँका उर्वरखेतमा सिँचाई प्रणाली लागू हुन आवश्यक रहेको बताए । ‘चुरेको उत्तरी फेद खिमडी, पट्रेनी, खन्याखोला, जाडखेत लगायत थुप्रै खेत चुरेको उर्वरभुमि हुन्,’ उनले भने, ‘चुरेको बासिन्दाको कमाई खाने खेतमा लाग्ने परम्परागत कुलोको विकास गरेर सिँचाई पुर्‍याउन सके उत्पादन बढ्ने र खाद्य संकट हटेर समृद्धि आउने थियो ।’ उनी कुनै बेला उत्तरी हिमालबाट हिउँदमा भेडा चराउँदै औल झर्ने भोटेहरू नुनसँग चामल साट्ने गरेको स्थानीय बताउँछन् । उनले भने, ‘अहिले मुलको संरक्षण नहुँदा परम्परागत कुलो मासिएर उत्पादन हुने खेत बाँझै रहन थालेपछि आफैलाई खान पुग्दैन ।’

प्रकाशित : पुस २, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?