१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संस्थानले किन्यो २२ हजार क्विन्टल धान

टीकापुर — खाद्य संस्थानले कैलालीबाट मात्र एक महिनाको अवधिमा करिब २२ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष कैलालीमा ५० हजार क्विन्टल धान किन्ने लक्ष्य राखेर संस्थानले कात्तिक अन्तिम सातादेखि खरिद सुरु गरेको हो ।

कैलालीको मोहनपुर, भजनी, जोशीपुर टीकापुरमा खाद्य संस्थानको खरिद केन्द्र छ । हालसम्म टीकापुरमा १२ हजार, क्विन्टल, मोहनपुरमा ५ हजार क्विन्टल र भजनीमा ३ हजार र जोशीपुरमा २ हजार क्विन्टल धान गरिद भएको नेपाल खाद्य सस्थानका खरिद केन्द्र प्रमुख तथा प्रशासन सहायक चेतमान कठायतले बताए । उनले भने, ‘टीकापुरको सत्तीमा पनि नेपाल खाद्य सस्थानले धान खरिद गरिरहेको छ ।


तर यो बर्दियाको नजिक रहेकाले राजापुर मातहत रहेको छ ।’ ५० हजार क्विन्टल खरिदको लागि कुनै समय सीमा नतोकिएको र किसानको धान छिट्टै आए निर्धारित कोटा चाँडै पुरा भएपनि माघसम्म संस्थानले खरिद केन्द्रमार्फत धान किन्ने कठायतले बताए ।


सरकारले तोकेको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा निर्धारण गरी किसानबाट संस्थानले धान खरिद गरिरहेको छ । गत आव कैलालीमा खाद्य संस्थानले ४० हजार क्विन्टल धान गरिद गर्ने लक्ष्यसहित ५ स्थानमा काँटा सञ्चालन गरेकामा २३ हजार क्विन्टल मात्र खरिद गर्न सकेको थियो । गत वर्ष ढिलो गरी खरिद सुरु भएकाले लक्ष्यअनुसार खरिद हुन सकेको थिएन । यो वर्ष लक्ष्य पुग्ने कठायतले बताए ।


किसानको धान खरिद केन्द्रमा सुरुवाती दिनमा दैनिक हजार क्विन्टलजति धान आइरहेको भए पनि अब आउने क्रम घट्दै गएको कठायतले बताए । सरकारी खरिद केन्द्रमा किसानको धान आउनेक्रम बढेपछि स्थानीय व्यापारीले आफुले खरिद गर्दै आएको मुल्य बढाएका छन् । सरकारी काँटा नलाग्दासम्म २ हजारदेखि २ हजार २ सयसम्ममा प्रतिक्विन्टल खरिद गरिरहेका थिए । संस्थानले खरिद सुरु गरेपछि २ हजार ५ सय ५० देखि २ हजार ६ सयसम्म धान खरिद गर्ने गरेका छन् ।


खरिद गर्ने परिमाण लक्ष्य पूरा भए थप कोटा माग्न सकिने कठायतले बताए । उनले भने, ‘खाद्यले खरिद सुरु गरेपछि किसानलाई राम्रो भएको छ । व्यापारीहरू पनि खाद्यकै मुल्यमा धान खरिद गर्न बाध्य भइरहेका छन् । यो वर्ष खाद्य संस्थानले समयमै धानको मुल्य निर्धारण गरेरे खरिद सुरु गरेपछि किसान खुसी छन् । टीकापुरका किसान जितबहादुर चौधरीले भने, ‘खाद्य संस्थानले खरिद सुरु नगर्दा व्यापारीले सस्तोमै खरिद गरिरहेका थिए । अहिले राम्रो मुल्य पाइएको छ ।’


प्रकाशित : मंसिर ३०, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?