विदेशबाट फर्किएर तरकारी खेती

डीआर पन्त

(डडेलधुरा) — परिवारको एकजना रोजगारीका लागि कतार नगएको घर भेटिँदैनथ्यो । गाउँका जोसुकैलाइ सोधे पनि छोरा कतार छ भन्थे । महिला, वृद्धवृद्धा र विद्यालय उमेरका केटाकेटीबाहेक गाउँमा मुस्किलले युवा भेटिन्थे । त्यो पनि सरकारी जागिरमा रहेका ।

सवै भन्दा वढी युवा ३० जना कतारमा भएकाले कुनै समय कतार गाउँका नाउँले चिनिने फिन्याकोटमा पछिल्लो समय भने चहलपहल बढेको छ । डडेलधुरा–डोटी जोडने केआइसिंह राजमार्गको छेउमै रडुवा खोलामाथि बाह्रैमहिना हरियाली देखिने भएकाले अहिले फिन्याकोटको पहिचान पनि फेरिएको छ ।


पछिल्लो समय भने रोजगारीका लागि विदेश जाने होइन गएकाहरू प्नि गाउँ फर्केका छन् । ब्याबसायिक खेतीवाट विदेशभन्दा तेब्बर वढी कमाइ गाउँमै गर्न थालेपछि यो गाउँ नयाँ किसिमले चर्चामा आएको हो । विदेश गएका सवै गाउँ फर्केर सामुहिक र वेग्ला–वेग्लै तरकारी र अन्य खेतीमा लागेर उदाहरणीय प्रयास गरिरहेका छन् । ३ सिजन ब्यावसायिक खेती गरिरहेका युवाहरूले आशा गरेभन्दा पनि राम्रो कमाइ हुन थालेको छ । छिमेकी गाउँका बाँझो जग्गासमेत भाडामा लिएर तरकारी र बीउ बिजन खेती बिस्तार गर्न थालेका छन् ।


कतारको ४८ डिग्री तापक्रममा ८ घण्टा कठोर परिश्रम गरी महिनाको मुस्किलले २५ हजार बचाउने मानबहादुर बोहरा घरमै बसेर ६० हजार बढी कमाउन थालेका छन् । २ वर्ष कतारको एउटा स्टील कम्पनी र दुइ वर्ष मलेसियामा मजदुरी गरेर फर्किएका उनले मलेसिया छँदा विदेशवाट फर्केका युवाहरूले सामुहिक खेतीवाट लाखौं कमाउन थालेको समाचार पढेपछि फर्किने मन बनाएका हुन् ।


‘एक्लै फर्किनुभन्दा गाउँका अरु युवालाई पनि व्यावसायिक कृषि खेती गर्ने उद्देश्यले घर फर्काउने प्रयास गरें,’ बोहराले भने, ‘धेरैले कुरा बुझे फर्के बाँकी रहेका साथीहरू हामीले तरकारी खेती सुरु गरेपछि फर्किए ।’ उनका अनुसार पछिल्लो समय रोजगारीका लागि भारत वा तेस्रो मुलुक जाने युवा फिन्याकोट गाउँमा भेटिदैनन । सिजनअनुसारको तरकारीसँगै २ सिजन आलु खेती र अन्य बीउ–बिजन खेतीमा गाउँका सवै युवा संलग्न छन् ।


‘केहीले सामुहिक र केहीले बेग्ला–बेग्लै खेती गरिरहेका छौं,’ अगुवा कृषक भोजबहादुर ऐरले भने, ‘आलु खेतीमा ५० प्रतिशत अनुदान भएका कारण अधिकांशले आलुखेती गरिरेहका छन् ।’ आलु खेतीसँगै तरकारीका बीउ बिजन पनि ठूलो मात्रामा उत्पादन भइरहेको उनले वताए । उनले भने, ‘विदेशवाट फर्किएका मात्र होइन अहिले त पुरै गाउँ तरकारी खेतीमा लागेको छ ।’ ऐर पनि २ वर्ष कतारमा रोजगारी गरी फर्किएका हुन् ।


विदेशको तुलनामा दैनिक ४ घण्टा काम गरे पनि दोब्बर बढी कमाउन सकिने रहेछ भन्ने आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘ज्यान जोखिममा राखेर विदेशमा विताएका दुइ वर्ष गाउँमै तरकारी खेती गरेको भए हुन्थ्यो भन्ने पछुतो लागिरहन्छ ।’ उनले ९ हेक्टरमा आलुखेती गरेको सुनाए । उनका अनुसार बाँकी गाउँभरिको जग्गामा तरकारी खेती भइरहेको छ । गाउँमा रहेको बाँकी जग्गा २० हेक्टरभन्दा वढी हुन सक्छ । गाउँदेखि १ किमि तल रहेको रडुवा खोलावाट लिफ्टद्वारा पानी तानेर सिँचाइको ब्यबस्था मिलाइएको छ । वैदेशिक रोजगारीवाट फर्केर व्यावसायिक खेतीमा लागेका अर्का युवा राजेन्द्र वोहराले भने, ‘सदरमुकामनजिक भएका कारण परम्परागत रुपमा तरकारी खेती भएपनि व्यावसायिक रुपमा सुरु गरेको थोरै समय भएको छ ।’ केहीवर्ष अघि लिफ्टवाट पानी तानेर सिँचाइको ब्यबस्था भएपछि सुरु भएको व्यावसायिक खेतीले पछिल्लो समय ठूलो रुप लिएको पनि उनले जानकारी दिए । ‘यसपाली देखि गहुँ खेती पुरै विस्थापित भएको छ, अधिकांशले आलुखेती गरेका छन भने बाँकीले तरकारी खेती सुरु गरेका छन्,’ उनले भने ।


विदेशवाट व्यावसायिक खेती गर्ने उद्देश्यले फर्किएका युवाहरूको प्रयास उदाहरणीय रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत खेम जोशी बताउँछन् । ‘कृषक, वडा कार्यालय र परियोजनाको त्रिपक्षीय लगानी र सहयोगमा फिन्याकोटमा व्यावसायिक खेती सुरु गरिएको हो,’ उनले भने । टुक्राटाक्रीमा छरिएर रहेको जमिनलाई चक्लाबन्दी गरी व्यावसायिक खेती सुरु भएपछि राम्रो प्रतिफल निस्किएको उनको भनाइ छ । ‘यो सिजनमा मात्र २ सय ५० टनभन्दा वढी आलु फिन्याकोटमा उत्पादन भइ डडेलधुरा र तराइका बजारसम्म पुगेको छ,’ उनले भने । यसबाहेक सिजनमा फल्ने तरकारी पनि त्यत्तिकै मात्रामा उत्पादन हुने उनले वताए ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?