कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोसेलीमा अम्रिसोको कुचो

भवानी भट्ट

(कञ्चनपुर) — माइत आएकी छोरी–बहिनी र आफन्तलाई फर्किने बेला कोसेली स्वरूप पलफूल तथा अन्य मिठोमसिनो खानेकुरा दिएर पठाइन्छ । यो चलन परापूर्वकालदेखिकै हो तर कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्लामा आउने पाहुना तथा छोरीबहिनीलाई फलफूल र मिठो मसिनोसँगै अम्रिसोको कुचो कोसेलीस्वरूप दिने गरिएको छ । स्थानीयले व्यावासयिक रुपमा अम्रिसोको खेती गर्न थालेपछि आफन्तलाई पनि त्यसकै कुचो दिन थालेका हुन् । 

कोसेलीमा अम्रिसोको कुचो

चुरे फेदीको ऐश्वर्या सामुदायिक वन क्षेत्रसँग जोडिएका स्थानीयले सानोतिनो मात्रामा अम्रिसो खेती गरेका छन् । उनीहरूले ४/५ वर्षदेखि यसको खेती गर्न थालेका हुन् । गत वर्षदेखि व्यवासयिक रुपमा यसको खेतीसँगै स्थानीयले कुचो बनाउने तालिम पनि लिएका छन् ।


‘बजारमा बस्ने आफन्त र छोरीबहिनी आउँदा एक/दुई कुचो दिने गरेका छौं’ ५ वर्षदेखि अम्रिसो खेतीमा लागेका दोमिल्लाका प्रताप महराले भने, ‘बजारमा एक कुचोको सय/डेढ सयसम्म पर्छ, हामीले सानोतिनो त घरमै उत्पादन गरेका छौं ।’ उनकी छोरी पार्वतीको घर बाँकेको कोहोलपुर हो । छोरी माइत आउँदा एक/दुई कुचो पठाइदिने गरेको उनले बताए ।


प्रतापले गत वर्षदेखि ५ कट्टामा अम्रिसो खेती विस्तार गरेका छन् । त्यसबाट ४/५ हजार कुचो बन्ने उनको अनुमान छ । गाउँमा एउटा कुचो ३५/४० रुपैयाँमा बिक्री हुन्छ । यसरी हेर्दा उनले वर्षमा ५ कट्ठाबाट मात्रै २ लाखजति आम्दानी गर्नेछन् । ‘राम्ररी गर्न सके त फाइदा धेरै छ,’ उनले भने, ‘चार/पाँच वर्षदेखि दुई/चार बोट मात्रै लगाएको थियो, राम्रो सम्भावना देखेर यसलाई विस्तार गरे ।’


प्रतापकै छिमेकी भक्तबहादुर बटालाले पनि दुई/चार बोटबाट बढाएर यस वर्ष करिब ३ कठ्ठामा अम्रिसो विस्तार गरेका छन् । राम्रो उत्पादन र बजारको सम्भावना बढी भएका कारण उनले पनि धान गहुँ लगाउने खेतमा अम्रिसो रोपेका हुन् । प्रतापझैं उनले पनि विगतमा घरमा प्रयोग गर्न र आफन्तलाई दिनका लागि मात्रै कुचो बनाउन अम्रिसो लगाएका थिए । ‘अहिले दोमिल्लामा छोरी बहिनी र आफन्तलाई धेरैले कोसेलीस्वरूप कुचो दिने गरेका छन्,’ ऐश्वर्या सामुदायिक वनका लेखा समिति संयोजक लोकबहादुर साउदले भने, ‘बजारमा यो कुचो महँगो हुन्छ, यहाँ सानोतिनो सबैको घरमा छ, त्यही भएर आफन्तले पनि लैजाने गर्छन् ।’ उनका अनुसार दोमिल्लामा ५२ परिवारले एकदेखि पाँच कासम्ममा अम्रिसोको खेती छन् । सामुदायिक वनका उपभोक्ताले सुरु गरेको उक्त खेतीबारे साउदले नै तथ्यांक संकलन गरेका हुन् ।


करिब डेढ दशक अघिदेखि सामुदायिक वनमा अम्रिसो खेती सुरु गरिएको थियो । पछिल्लो पाँच वर्षदेखि सामुदायिक वनमा पनि उक्त खेती विस्तार गरिएको छ । सामुदायिक वनबाटै सिकेर स्थानीयले पनि यसतर्फ चासो दिएका हुन् । ‘अहिले सामुदायिक वनको पहिचान नै अम्रिसो बनेको छ,’ ऐश्वर्या सामुदायिक वनमा अध्यक्ष रामसिंह धामीले भने, ‘वनको आम्दानीको मुख्य स्रोत पनि यही हो ।’ यस वर्ष २५ हजार हेक्टरमा अम्रिसो खेती गरिएको उनले बताए ।


विश्व वन्यजन्तु कोषको ताल कार्यक्रमअन्तर्गत स्थानीय उपभोक्तालाई कुचो बनाउने तालिमसमेत प्रदान गरिएको छ । विगतमा कच्चा पदार्थ बिक्री गर्दै आएको सामुदायिक वनले उपभोक्तालाई नै कुचो बनाउन सीप दिएपछि रोजगारीसमेत सिर्जना भएको छ । प्रतिकुचो बनाएबाफत ४/५ रुपैयाँ दिने गरेको अध्यक्ष धामीले बताए । हालसम्म खेती विस्तारमा लागेकाले धेरै आम्दानी हुन नसके पनि यस वर्ष ५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए । ‘अबको चार/पाँच वर्षसम्म वार्षिक १५ लाख आम्दानी गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘उपभोक्तालाई पनि यसतर्फ थप आकर्षित गरिनेछ ।’

प्रकाशित : मंसिर २९, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?