३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घरेलु हिंसाले डिप्रेसनमा महिला

मेनुका ढुंगाना

(अछाम) — मंगलसेन नगरपालिकाकी रितु (नाम परिर्वतन) का २ छोरा २ छोरी छन् । श्रीमान् भारतमा हुँदासम्म उनले जेनतेन छोराछोरीको पालनपोषण गरेकै थिइन् । ७ वर्षसम्म घर नआएका उनका श्रीमान् घर फर्केपछि रितुका दु:खका दिन सुरु भए । घरफर्केपछि दिनहुँजसो मदिरा सेवन गरेर उनले छोराछोरी र श्रीमतीलाई कुटपिट गर्न थाले ।

शारीरिक यातना दिएको ४ वर्षसम्म रितुले गाउँघरको लाजकाजले श्रीमानको कुटाइ सहेकै थिइन् । विस्तारै शारिरीक रुपमा मात्रै होइन उनी मानसिक रुपमा पनि कमजोर हुँदै गइन् । दिउसो होस् या राती जुनसुकै बेला पनि बर्वराउन थालिन् । उनका नातागोता आफन्तले देउता लागेको भन्दै धामी झाँक्रीसम्म पुर्‍याए, तर सन्चो भएन ।


बुवाले पटकपटक दिएको शारिरिक र मानसिक यातनाकै कारण आमा मानसिक रोगी हुनु परेको उनकी छोरी हेमा (नाम परिवर्तन) बताउँछिन् । ‘सबैले देउता लागेर कापेको र बर्वराउने गरेको भने । अस्पतालमा जाँदा डिप्रेसन हो भन्दै डाक्टरले औषधि दिए । सम्झाइ बुझाइ गरेपछि पहिले भन्दा अहिले कम भएको छ’ हेमाले भनिन । तुर्माखाँदकी नमिता (नाम परिर्वतन) कक्षा ७ मा पढ्दै गर्दा एकै स्कुलमा पढ्ने गाउँको एकजना केटासँग प्रेममा परिन् । उनीहरू नजिक हुँदै गए । करिब ३ वर्ष सम्म उनीहरूको प्रेम सम्बन्ध चलिरह्यो । त्यो कुरा गाउँभरी थाहा पाउँदा लाज हुने डरले कक्षा १० पुरा नहुँदै उनी बिहे गर्न सहमत भइन् । ‘दुबैलाई एक अर्का प्रति पूर्ण विश्वास थियो, दुवै परिवारको सहमती बिना नै हामीले बिहे गरेका हौं’ उनले भनिन् ।


करिब ३ महिनापछि आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान् पैसा कमाउन काम खोज्दै भारततर्फ लागे । श्रमिान भारत पसेपछि विस्तारै सम्पर्क टुट्दै गएको उनको भनाइ छ । ‘पढाइ छोडेर घरमा एकोहोरो काममा लागी रहेँ । माइती घरमा जान दिएका थिएनन’ उनले भनिन्, ‘श्रीमानले भारत गएको ८ महिना देखि कुनै सम्पर्क गरेनन् । उनी घरमा पनि ४ वर्ष पछि मात्रै फर्किए ।’ भारतमा श्रीमानले अर्को बिहे गरेर घर आएको कुरा सुनेपछि थप कुरा श्रीमानलाई सोधपुछ गर्दा उनले घरमा बस्न नदिने भन्दै कुटपिट गर्न थालेको उनी सुनाउछिन् ।


सासू र नन्दले समेत घरबाट निस्कन दबाब दिन थालेको उनले बताइन् । ‘घरमा सबैको कुटाइ र गाली मैले सहन नसक्दा परिवारमा फाटो बढ्दै गयो । सासूससुराले पनि नराम्रो व्यवहार गर्न थाले, घर छोड्न दबाब दिन थाले । म मानसिक रुपमा क्षतविक्षत भइसकेकी थिएँ,’ उनले भनिन्, ‘सहारा खोजेँ । माइती पक्षसँग दु:ख पोखेँ, आफूखुसी बिहे गरेको रिसले माइतीले मेरो पक्षमा बोल्न मानेनन् ।’


अन्तत: उनकी आमाको सहारामा न्यायका लागि नमिता मंगलसेन पुगिन् । ‘कहाँ जाने र कसलाई पीडा सुनाउने बारे केही थाहा थिएन । ‘जिल्ला अस्पताल र सुरक्षित आवास गृहमा उनलाई डिप्रेसन भएको भन्दै मनोविमर्शकर्ताले सम्झाइ बुझाइ गर्न थाले । अस्पतालबाट उपचार सुरु भयो । अहिले उनी सिलाइकटाइ गरेर माइति नजिक बसेकि छन् ।


मदिरा सेवन घरेलु हिंसाको प्रमुख कारण श्रीमान्‌ जहिल्यै मदिरा सेवन गरेर कुटपिट गर्ने गरेका कारण हैरान भएको मंगलसेन नगरपालिका ११ कि कमला (नाम परिवर्तन) बताउँछिन् । पटकपटक पिट्ने फेरि मिल्ने गरेका उनका श्रीमान्ले कहिल्यै पनि शान्त वातावरणमा बस्न नदिएको गुनासो रम्भाले सुनाइन् । बिहे गरेको ४ वर्षमा नै मदिराका कारण परिवारमा निकै तनाव उत्पन्न हुँदा छुट्टिनुपर्ने अवस्थामा पुगेको उनले बताइन् । ‘चारपटकसम्म सदरमुकाममा आएर प्रहरीको अगाडि मिलेर गए तर घरमा पुगेपछि फेरि कुटपिट गर्न रोकिएन’ उनले भनिन् । अन्तिममा मैले घर छोड्नुपर्‍यो । एक महिना सेफ हाउसमा बसे । त्यसपछि मेरो झन् बिचल्ली भयो ।’ प्रहरी कहाँ मुद्दा दर्ता गरेपछि घरमा सबैले असहयोग गर्ने र बस्ने वातावरण नभएको उनले दुखेसो पोखिन् । घरपरिवार र समाजबाट एक्लो भएपछि उनलाई समेत मानसिक रोगले सताएको अस्पतालको रिपोर्टमा उल्लेख छ ।


अछाममा सुरक्षित आवासगृह ३ वर्ष देखि सञ्चालनमा छ । मंगलसेन महिला बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेफ हाउस मानसिक तनावमा छटपटिएका र न्यायका खोज्न्दै आउने महिलाहरूको पहिलो सम्पर्क स्थान हुने गरेको संस्थाका अध्यक्ष मन्कला न्यौपानेले बताइन् ।


पुरुषभन्दा महिला मानसिक रोगी बढी


न्याय हेल्थ बयलपाटा अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी सेवा सुचारु गरेको ३ वर्ष भयो । यो अवधिमा ५ हजार भन्दा बढीले उपचार सेवा लिएका छन् । सेवा लिनेमा सबैभन्दा बढी महिला रहेका छन् । अस्पतालको तंथ्याकअनुसार महिलाको संख्या ४ हजार ७१ रहेको छ भने पुरुषको १ हजार ६८१ रहेका छन् । घरेलु हिासाका कारण महिला मानसिक रोगीहरूको संख्या बढेको अस्पतालको तंथ्याकले देखाएको छ ।


अस्पतालका अनुसार बिरामीहरू समस्या लिएर आउछन् । बिरामीमा समस्या छ तर रोग देखिदैन । उपचारको क्रममा केहि नदेखिएपछि उपचारमा संलग्न स्वाथ्यकर्मीहरूले मानसिक स्वास्थ चेकजाँचका लागि पठाउँछन् । परामर्शका क्रममा मानसिक स्वाथ्य सम्बन्धी समस्या देखा पर्ने गरेको मनोबिमर्शकर्ता भरत कडायतले बताए । परामर्शका क्रममा अधिकांश महिलामा मदिराका कारण पारिवारिक कलहले गर्दा मानसिक समस्या देखा पर्ने गरेको कडायतले बताए । ‘मदिरा सेवन गरी दिनहुँ जसो घरमा झैझगडा कुटपिट गर्ने गरेका कारण महिलाहरूले मानसिक तनावे झेल्नुपरेको छ,’ उनले भने, ‘अहिले नियमित औषधि सेवन र परामर्शका लागि अस्पताल आइरहन्छन्, अधिकांशको मानसिक स्वास्थ्यमा क्रमश: सुधार हुँदै गइरहेको छ ।’


मानसिक स्वास्थ बिग्रिनुमा यहाँका मानिस देउतालाई दोष दिने गरेको र धामीझाँक्रीको उपचारपछि मात्र अस्पताल आउने गरेको कडायतले बताए । अस्पतालमा हप्तामा सयभन्दा बढी मानसिक रोगी उपचारका लागि आउने गरेका छन् । त्यसमा पनि दैनिक ५/६ जना नयाँ बिरामी थपिने गरेका छन् । उनका अनुसार १९ देखि ४९ वर्ष उमेरसम्मका महिला मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने गरेका छन् । परामर्शपछि ७५ प्रतिशतलाई निको समेत भएको छ । कतिपय महिलाहरूलाई सेफ हाउसमा पठाउने गरिएको छ । अस्पतालका डाक्टर विकास गौचनका अनुसार पछिल्लो समय धेरै जसो मानसिक रोगीहरू उपचारको लागि आउने गरेका छन् । उनका अनुसार उपचारपछि निको भएकाहरूले नै त्यस्ता बिरामी अस्पताल जान सल्लाह दिएपछि मानसिक स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेका छन् ।


मनोविमर्शकर्ता रञ्जना खनालका अनुसार २५–३० वर्ष उमेर समूहका महिला मानसिक रोगबाट बढी प्रभावित छन् । हिंसा, बेरोजगारी, गरिबी, चेतनाको कमीका कारण मानसिक रोगी बढेको उनको भनाइ छ । भौगोलिक विकटताका कारण समयमै मानसिक रोगी स्वास्थ्य सेवा लिनबाटसमेत वञ्चित रहँदै आएका छन् ।


प्रकाशित : मंसिर २९, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?