कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले किसान खुसी

भवानी भट्ट

(कञ्चनपुर) — हिउँदेयामको सुरुवातसंगै भएको वर्षाले किसानहरू हर्षित भएका छन् । वर्षासँगै चिसो बढे पनि हिउँदे बाली सप्रिने भएकाले किसानहरू हर्षित भएका हुन । 

पश्चिम तराइको कैलाली र कञ्चनपुरमा शुक्रबार बिहानैदेखि वर्षा सुरु भएको हो । वर्षा दिनभरि नै रहयो । कार्तिक अन्तिम तथा मंसिर पहिलो साता छरेको गहुं तथा अन्य दलहन बालीलाई सिंचाई गर्नुपर्ने बेला भएको थियो । ‘गहुँबाली सिंचाई गर्नुपर्ने भएको थियो, यहिबेला पानी परेर निकै फाइदा भयो’ भीमदत्त नगरपालिका १० तिलकेनीका कृषक रमेश नाथले भने, ‘गहुँ र तरकारी बालीलालाई ठिक समयमा सिंचाई पुगेको छ ।’ कैलाली र कञ्चनपुरमा अधिकांस ठाउँका कृषकहरू आकासे पानीका भरमा खेतीपाती गर्छन । विभिन्न ठुला तथा साना सिंचाई आयोजना निर्माण भएपनि यहांको ठुलो क्षेत्रमा सिंचाई सुविधा पुगेको छैन ।


‘यो वर्षाले गहुं र दलहन र तरकराी खेतीलाई निकै फाइदा पुर्‍याउछ’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख राम चन्द्र भट्टले भने, ‘गहुँ छरेको एक महिनाभित्रै सिंचाई गर्न सके उत्पादन राम्रो हुन्छ ।’ उनका अनुसार पाक्न लागेको तोरीलाई असर गर्ने भए पनि अन्य बालीलाई वर्षाले फाइदा नै गर्छ । कञ्चनपुरमा ३५ हजार हेक्टरमा गहुं खेती गरिन्छ भने कैलालीमा ४८ हजार हेक्टरमा गहुं खेती गरिन्छ । बिहिबारदेखि नै मौसममा बदली भई चिसो बढेको छ । शुक्रबार बिहानैदेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको हो । चिसोका कारण वालवालिका, वृद्धवृद्धा लगायतलाई समस्या भएको छ । खासगरि सुकुम्बासी र दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरूलाई निकै समस्या भएको हो ।


प्रकाशित : मंसिर २८, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?