कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हिमपातसँगै बढ्यो चिसो : जनजीवन प्रभावित

‘बिरामी यात्रु र वृद्धलाई समस्या भएको छ, सक्नेहरू हिँडेर पनि सुरक्षित ठाउँतिर गएका छन्, नसक्नेहरू जाडो र भोकले हैरान छन्’ 

(धनगढी) — सुदूरपश्चिममा बिहीबार रातिदेखि सुरु भएको झरिपछि यहाँका हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । बझाङ, बाजुरा, डडेलधुरा, डोटी, बैतडी र दार्चुलाका लेकाली ठाउँमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको हो ।

हिमपातसँगै बढ्यो चिसो : जनजीवन प्रभावित


बझाङको दहबगर, भैरवनाथ, पिपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलास कांडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलविसौना, दाँतोलालगायत ठाउँमा बाक्लो हिउँ जमेको छ । साविकका काँडा, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला, मेलविसौना, रिलु, मष्टा, धमेना, सुनिकोट, देउलेक स्याडी, लेकगाउँ, भामचौर लगायतका गाविसहरूमा एक देखी तीन फिटसम्म हिउँ जमेको छ । यार्सा तथा जडिबुटी संकलन क्षेत्रको रुपमा रहेको साइपाल गाउँपालिकाको राइढुंगी, माझा, फरालखेत, स्याङवन र सुर्मा गाउँपालिका अर्न्तगतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा लगायतका क्षेत्रमा ५ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।


दार्चुलाका सबैजसो स्थानीय तहहरूको उच्च पहाडी भेगहरूमा हिमपात भएको छ । ब्यास, अपीहिमाल, दुहु, नौगाड, मार्मा गाउँपालिकाका अधिकांश बस्तीहरूमा बाक्लो हिमपात भएको छ । सबैभन्दा बढी ब्यास र अपीहिमालमा हिउ परेको छ । अपीनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले भने, ‘हाम्रो गाउँपालिकामा बिहिबार रातिदेखि हिमपात भइरहेको छ । बाक्लो हिमपातले जनजीवन साह्रै कष्टकर भएको छ ।’ यसैगरी अपीहिमाल गाउँपालिकाको घुसा, खण्डेश्वरी, सितोलाका विभिन्न बस्तीहरूमा हिमपात भएको सितोलाका स्थानीय चाधनी बुढाथोकीले बताइन् ।

हिमपातले चिसो बढेपछि घरमा साँझबिहानको काम गर्न साह्रै अप्ठ्यारो भएको उनको भनाई छ । अत्यधिक चिसो बढेपछि उच्च पहाडी बसोबास गर्ने बुढापाखा तथा बालबालिकालाई चिसोले बढी सताएको उनले बताइन् । यस्तै दुहु गाउँपालिकामा पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । यस्तै डोटी–डडेल्धुराका लेकाली भेगमा बाक्लो हिमपात भएको छ । बाजुरा सदरमुकाम क्षेत्र, पोरखे, दहकोट लगायका ठाउँमा हिमपात भएको छ । र्बतडीको खोडपे, अनारखोली क्षेत्रमा पनि हिमपात भएको छ ।


सडक यातायात अवरुद्ध

हिमपातका कारण धनगढी–डडेलधुरा जोडने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । यस सडक खण्डमा सयौं यात्रुहरू अलपत्र परेका छन् । बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाण्डौ जाने र त्यहाँबाट बझाङ आउने सयौं यात्रुहरू जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा हिउँमा फसेका छन् । २ दिनसम्म बाटो नखुल्दा सास्ती भोग्नु परिरहेको बाटोमै फसेका यात्रुहरूले बताएका छन् ।


दर्जर्नौ गाडीहरू बित्थड, श्रीभावर, ढोल्यामोड लगायत ठाँउमा ३ दिनदेखि फसिरहेका छन् । त्यस्तै तराईका जिल्ला र काठमाण्डौंबाट आएका गाडीहरू खोड्पे विजयपुर, मुस्यालेक, नाचन्थली, बजपानीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेको सुदुरपश्चिम यातायात व्यवसायी समितिका बझाङ काउन्टर इन्चार्ज दिपक कठायतले बताए ।


कठायतले हिउँमा फसेका यात्रुको र गाडीको संख्या एकिन नभए पनि दुबैतर्फ साना ठुला गरेर ६०/७० वटा गाडी हिउँमा फसेको बताए । उनले भने, ‘६/७ सयको हाराहारीमा यात्रु अलपत्र छन् । उनीहरू फसेको ठाउँमा खानेकुराको अभाव भइरहेको छ,’ राजमार्गका विभिन्न ठाउँमा एक फिट हिउँ जमेको र हिमपात नरोकिएका कारण यातायात अवरुद्ध भएको उनको भनाई छ ।


‘विरामी यात्रु र बुढाबुढीहरूको विजोग छ,’ यात्रु प्रमिला रोकायाले भनिन्, ‘सक्नेहरू हिँडेर पनि सुरक्षित ठाउँतिर गएका छन् । नसक्नेहरू जाडो र भोकले हैरान छन् ।’ उनले हिउँले सबैतिर ढाकेका कारण आगो बाल्नका लागि दाउरासमेत नपाइको बताइन् । यात्रुहरू आफैले हिउँ पन्छाएर गाडी गुडाउने प्रयास गरिरहेको भए पनि सफल हुन नसकेको उनको भनाई छ ।


बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘बाटो नखुल्दासम्म जिल्ला बाहिर गाडी नपठाउन निर्देशन दिएको छु ।’ उनले शैक्षिक भ्रमणमा आएका विद्यार्थीका गाडीहरू पनि हिउँमा फसिरहेकोले उद्दारको प्रयास भइरहेको बताए । २ वटा डोजरले स्याडी क्षेत्रमा उद्दारको प्रयास गरिरहेको उनको भनाई छ । दिपायलबबाट महेन्द्रनगर जाँदै गरेका देवराज बडुका अनुसार डडेल्धुराको हगुल्टे लेकमा दिउँसो ११ बजेबाट आफुहरू हिउँमा फसेको बताए । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले हिउँ पन्छाउने प्रयास भइरहेको बताए ।


जनजीवन कष्टकर

हिमपात भएको क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर भएको छ । उनीहरू घर बाहिर निस्कन सकेका छैनन् । जाडो निकै बढेका कारण कामकाज गर्न असहज भएको भएको स्थानीयले बताएका छन् । बझाङमा जिल्ला भरका सबै विद्यालय र प्राय: सरकारी कार्यालयहरू बन्द गरिएका छन् । ‘पशुवस्तुलाई आहारा जुटाउन पनि निकै गाह्रो भइरहेको छ,’ मष्टाका बिर्ख बोहराले भने, ‘चरन क्षेत्रहरू बाक्लो हिउँले ढाकिएका छन् । जंगलबाट घाँसदाउरा गर्न सकिने अवस्था छैन ।’


दार्चुलामा विगतमा पुसको दोस्रो साताबाट यहाँका विद्यालयहरूमा हिउँदे विदा हुने गरेको थियो । अहिले मंसिरमै हिमपात भएपछि समस्या भएको सुत्खोला आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बडालले बताए । बिहानदेखि हिउ पर्न नरोकिएपछि टाढाका विद्यार्थीहरू विद्यालय पुग्न नसकेका उनले बताए । बिजुली र टेलिफोनसेवा अवरुद्ध बझाङमा र डोटीमा विद्युत सेवा अवरुद्ध भएको छ । बैतडीको भालुमारा भन्ने ठाउँमा हिउँको भार थाम्न नसकेर मुख्य लाइनको तार खसेका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।


विहिबार विहानबाट अवरुद्ध भएको विद्युत मर्मतको लागि कर्मचारी परिचालन गरेको भए पनि बाक्लो हिमपातका कारण विग्रिएको ठाउँ सम्म पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।

यस्त नेपाल टेलिकमको मोवाईल, ल्याण्डलाईन र इन्टरनेट सेवा पनि सुचारु हुन सकिरहेको छैन । विभिन्न ठाउँमा रहेका टेलिकमका सोलार स्टेसनमा पाता छोपिने गरि हिउँ जमेका कारण व्याट्री चार्ज हुन नसक्दा संचार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । यस्तै जिल्लामा संचालित ६ वटा रेडियोको प्रसारण सेवा बन्द भएको छ । रेडियोलाई उर्जा आपुर्ती गर्ने सोलार स्टेसनलाई हिउंले ढाके पछि उर्जा आपुर्ती नहुदा प्रसारण बन्द गर्नु परेको रेडियो सेतीका स्टेसन प्रबन्धक समी खत्रीले जानकारी दिएका छन । सौर्य प्रणालीबाट संचालन भैरहेका यस जिल्लाका साइपाल एफएम, सेती एफएम, रेडियो बझाङ, खप्तड आवाज, सेरोफेरो र रेडियो जनमुखीको प्रसारण एक साता देखी रोकिएको छ ।


किसान खुशी

समयमै हिमपात भएपछि किसानहरू भने खुशी भएका छन् । पर्याप्त हिमपात हुन छाडेपछि यहाँका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाखो जग्गामा खेती बिग्रदै गएको थियो । ‘यो बर्ष राम्रै हिउँ परेको छ । सबै किसानहरू खुसी छन्,’ बझाङको बित्थडचिरका किसान मन्नो बोहराले भने, ‘यसैगरि प्रत्येक बर्ष हिउँ परिदिए त खेतीपाती राम्रै हुन्थ्यो ।’ उनले जमिनमा धेरै समयसम्म बाक्लो हिउँ जमेका कारण हिउँदेबालीलाई पनि फाइदा हुने र बर्षेबालीमा पनि रोग किराको संक्रमण कम हुने बताए ।


वसन्तपप्रताप सिंह (बझाङ), मोहन शाही (डोटी) र मनोज बडू (दार्चुला)


प्रकाशित : मंसिर २८, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?