कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

संगीता तिमिल्सेना 

बाजुरा — स्वामीकार्तिक गाँउपालिका-१ साप्पाटाकी २४ वर्षीया निर्मला विक र उनको नजवात शिशुलाई हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको छ । विक र नवजात शिशुको कोहलपुर मेडिकलमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

सुत्केरी व्यथा लागेकी निर्मलालाई आफन्तले बुधबार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । उल्टो रहेको बच्चालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा निकालिएको थियो । बुधबार बच्चा निकालिए पनि आमा र बच्चाको अवस्था थप जटिल बन्दै गएपछि बिहीबार हेलिकेप्टरबाट उद्धार गरिएको हो ।


बुधबारबाट नै नेपालगञ्ज लैजान पहल गरिएको भएपनि बिहीबार मात्रै महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा उद्धार गरिएको प्रजिअ न्यौपानेले बताए ।


'कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउनु भन्दा पहिला नै आमाको अवस्था जटिल थियो । उनलाई सुत्केरी गराउन पनि जोखिम थियो,' केन्द्रकी स्टाफ नर्स गंगा खत्रीले भनिन्, 'हेलिकप्टरबाट उद्धार गर्न ढिला भएको भए आमा र दुवैको ज्यान जान सक्थ्यो ।'


कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन भएको छैन । गएको वर्ष आकस्मिक प्रसुति सेवा सञ्चालनको रकम फिर्ता पठाइएको बुढीन्नदा नगरपालिकाले यो वर्ष पनि स्थापना गर्नका लागि कुनै पहल गरेको छैन ।


आकस्मिक प्रसुति सेवा स्थापना गर्न परिवार स्वास्थ्य महाशाखाले यो वर्ष ३० लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष ०७५/०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरी सेवा सुचारु भइसक्नु पर्ने भएपनि काम हुन नसकेर २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महाशाखाले बताएको छ ।

'अहिले पनि ३० लाख रकम कर्मचारी राख्नका लागि नगरपालिकामा आएको छ, साउन महिनाबाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन्,' बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भनिन् ।


गएको आथिर्क वर्षमा नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो । केन्द्रमा एकजना प्रसुती रोग विशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुती चिकित्सक, एकजना स्टाफ नर्स, एकजना एनेथिसिया र एकजना कार्यलय सहयोगीको व्यवस्थापन गर्नु पर्ने छ ।

प्रकाशित : मंसिर २७, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?